• ७ वैशाख २०८१, शुक्रबार

थारू समुदायका महिलाले गरे ‘गोरु बेराई’

blog

बुटवल समाचारदाता

बुटवल, असार ४ गते ।   लामो समयदेखि पानी नपरेपछि रुपन्देहीका थारू समुदायका महिलाले भगवान् इन्द्रदेवसंँग पानीको बिन्ती गर्दै ‘गोरु बेराई’ गरेका छन्। 

महिलाले रातिको समयमा गोरु बनेर उल्टो हलो जोत्ने, भगवान् इन्द्रदेवलाई खुसी पार्न पानी माग्दा गाउने बिरहिनी गीत गाएर पानीको माग गरेका छन्। थारू भाषाका कवि बमबहादुर चौधरीले रुपन्देहीका विभिन्न पालिकामा थारू समुदायका महिलाले रातिमा बिरहिनी गीत गाउँदै उल्टो हलो जोतेर भगवान् इन्द्रदेवसँग पानीको माग गरेको बताउनुभयो। 

थारू समुदायमा बिरहिनी गीत गाउने र महिलाले गोरु बनेर उल्टो हलो जोतेमा पानी पर्छ भन्ने वर्षौंदेखिको पुरानो मान्यता रहेको छ। यसै गरी थारू समुदायमा एउटा गाउँका महिला पुरुषको भेषमा अर्को गाउँमा पुगेर त्यहाँका मुखिया वा अगुवालाई समातेर आफ्नो गाउँमा ल्याउने चलन रहेको छ। त्यसलाई गोरु बेराई भन्ने गरिएको छ। 

त्यसरी ल्याएका मुखिया वा अगुवालाई नुहाइदिने, मिठोमिठो खान दिएमा भगवान् इन्द्र खुसी भएर पानी आउँछ भन्ने थारू समुदायमा विश्वास रहेको छ। 

थारू भाषाका कवि चौधरीले यो प्रथालाई थारू समुदायमा गोरु बेराई भन्ने गरिएको बताउनुभयो। उहाँले वर्षौंदेखि चलनमा रहेको परम्परा अहिले लोप हुँदै गएको बताउनुभयो। 

उहाँले यो वर्ष लामो खडेरीका कारण पानी नपरेपछि थारू समुदायका महिलाले पुरुष भेष धारण गरी गोरु बेराई गरेको बताउनुभयो। 

रुपन्देहीको कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाका थारू समुदायका महिलाले भगवान् इन्द्रसँग पानीको पुकार गर्दै गोरु बेराई गरेका छन्। 

कञ्चनको वडा नं. ३ मसिना र सैनामैनाको वडा नं. ९ कुमारगड्डीका महिलाले अर्को गाउँ बिचौवापुर र झिमझिमिया पुगेर त्यहाँका स्थानीय थारू समुदायका अगुवालाई शनिबार ल्याएर नुहाइधुवाई गरी सम्मानपूर्वक मिठो खाना दिएका छन्। यसरी अर्को गाउँबाट ल्याएका अगुवा पुरुषलाई छुटाउन फेरि पुरुष गाउँका महिलाहरू अर्को दिन छुटाउन आउने परम्परा रहेको चौधरीले बताउनुभयो। 

थारू कल्याणकारी सभा रुपन्देहीका पूर्वसभापति रामवली चौधरीले लामो समयदेखि पानी नपरेका कारण यो वर्ष गोरु बेराई गरेको बताउनुभयो। उहाँले यो परम्परा अहिले लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। 

चौधरीले यो परम्परा पहिले खुबै लोकप्रिय रहेको र गोरु बेराई गरेपछि पानी पर्छ भन्ने विश्वास रहे पनि पछिल्लो समय परम्परा लोप हुँदै गएको बताउनुभयो।

स्थानीय कञ्चनकी थारू अगुवा लक्ष्मी चौधरीले थारू समुदायमा खडेरी पर्दा गोरु बेराई गरेमा पानी पर्छ भन्ने मान्यता रहेकाले आफूहरूले शनिबार गोरु बेराई गरेको बताउनुभयो।