स्याङ्जा समाचारदाता
स्याङ्जा, असार ४ गते । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै मन्त्री भुसालले किसानको मुख्य समस्याका रूपमा रहेका बाँदर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताउनुभयो ।
भुसालले आर्थिक आम्दानीका लागि माछा, बाख्रा र कुखुरापालन, सुन्तला, कागती र व्यावसायिक तरकारी खेती गरे आर्थिक रूपमा सक्षम हुन सक्ने बताउनुभयो । सरकार जनताका हरेक समस्या समाधानमा लागेको बताउँदै मन्त्री भुसालले आगामी चार वर्षमा धेरै काम गरेर सक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाँझो जमिनलाई व्यवस्थित गरी कृषि गरेमा विदेशमा जान नपर्ने बताउनुभयो ।
त्यसै गरी कार्यक्रममा कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा र भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतले कृषिको उत्पादन र विकासका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । परियोजना कार्यान्वयन एकाइ स्याङ्जाको पहलमा भएको सुन्तला रोपण अभियानमा चार हजार सुन्तलाको बिरुवा रोप्ने बताइएको छ ।