• १४ मंसिर २०८१, शुक्रबार

गुल्मीमा ७०१ परिवार शौचालयविहीन

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख खत्री । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार ३ गते । खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएका छन् । २०७१ सालमा तामझामका साथ तत्कालीन उपराष्ट्रपति परमानन्द झाले खुल्ला दिशामुक्त घोषणा गरेको जिल्लामा अझै सो सङ्ख्याको घरपरिवार शौचालयविहीन भएको देखिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा सो सङ्ख्या देखिएको छ । जिल्लामा कूल जनसङ्ख्याको १ दशमलव ०६ प्रतिशत घरपरिवार शौचालयविहीन भएको उल्लेख छ । 

यस्तै, गुल्मीमा २०६८ को भन्दा २०७८ मा जनसङ्ख्या घटेको पाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभा हलमा राष्ट्रिय तथ्याङ्क कार्यालय पाल्पाले २०७८ को जनगणना सार्वजनिक गरेको विवरणमा ३३ हजार ६६६ जना घटेको उल्लेख छ ।

२०६८ मा गुल्मीको जनसङ्ख्या दुई लाख ८० हजार १६० रहेकोमा २०७८ सालमा दुई लाख ४६ हजार ४९४ रहेको पाइएको छ । जसअनुसार एक लाख १२ हजार २५ पुरुष र १ लाख ३४ हजार ४६९ रहेको  छ । २०६८ मा एक लाख २० हजार ९९४ रहेका थिए भने महिला एक लाख ५९ हजार १६५ जना थिए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सार्वजनिक विवरणले जिल्लाका स्थानीय तह र सरकारी निकायले भावी रणनीतिक योजनाहरू तयार गर्न सहज हुने बताउनुभयो ।