• १२ मंसिर २०८१, बुधबार

बालश्रममुक्त समाजको परिकल्पना

blog

बालश्रम भनेको त्यस्तो श्रम हो, जसले बालबालिकाको शिक्षा पाउने अधिकार कुण्ठित गर्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रूपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, तथा गरिब परिवारका हुन्छन् । बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँछ । उनीहरूको खेल्ने, कुद्ने, रमाउने, फक्रिने र फुल्ने सपनाबाट वञ्चित गराउँछ । आमा बुवाको न्यानो काख अनि प्रेम र स्नेहशील छहारीबाट टाढा बनाउँछ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार गरिबी बालश्रमको सबैभन्दा प्रमुख कारण हो । गरिबीले गर्दा आफ्ना बालबालिकालाई अभिभावकले विद्यालय पठाउन सकिरहेका छैनन् । थोरै भए पनि आर्थिक आम्दानी हुन्छ भन्ने आशयले अभिभावक आफ्ना बालबालिकालाई विद्यार्थी होइन श्रमिक बनाउन बाध्य छन् । जसले गर्दा बालबालिकाको भविष्य बर्बाद भइरहेको छ । उनीहरूको निजी जीवन कुण्ठित र भविष्य अन्धकारमय भइरहेको छ । जीवनभर शिक्षाको अभावमा बाल श्रमिकबाट केवल एउटा वयस्क श्रमिक मात्र बन्न बाध्य छन् । विश्वभर नै बालबालिका विभिन्न किसिमका जोखिममा बाँचेका छन् भने लाखौँ बालबालिका अहिले पनि विभिन्न किसिमका हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव तथा बालश्रमको सिकार भइरहेका छन् । 

अभिभावकको नाजुक आर्थिक अवस्था, विभिन्न दैवी प्रकोपबाट एक्लिएका तथा रोजगारीलगायत शिक्षादीक्षाको आकर्षणमा परेर सहर भित्रिएका बालबालिका फोहोर सङ्कलनका लागि बोरा बोकेर कहिले सडकको पेटीमा भोको पेट भर्न हात फिँजाएर माग्दा कहिले यताबाट खेदिन्छन्, कहिले उताबाट हपारिन्छन् त कहिले अर्कैबाट पछारिन्छन् । यसरी कलिला मुना हाम्रो सभ्य समाजको तुच्छताको सामना गर्छन् । बालबालिकालाई घरेलु कामदारका रूपमा जोखिमयुक्त कार्यमा लगाउने, पढ्न नपठाउने र पठाइएमा पनि पर्याप्त पढ्न समय नदिने, यातना दिने, गाली गलौज तथा अनावश्यक लाञ्छना, आक्षेप लगाइन्छ । अझै पनि बालबालिकाको अधिकारका मुद्दा दिनहुँ खतरामा परिरहेका छन् । 

बालबालिका बालविकासको अधिकारबाट वञ्चित छन् । खेल मनोरञ्जन र आराम गर्न पाएका छैनन् । उचित स्वास्थ्य उपचार तथा पोषण नपाएर कुपोषणको सिकार भएका छन् । अकालमा मृत्युको सिकार हुन बाध्य छन् । बाल संरक्षणको अधिकारबाट वञ्चित छन् । कमलका फूलजस्तै कैयौँ बालबालिका अझै पनि कमलरी जस्तो कु–प्रथामा बन्धक छन् । घर बाहिर मात्र होइन परिवार भित्रै पनि बालश्रम, दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, गाली गलौज, कुटपिट र यातना खेप्नु परेको छ । परिवारभित्र बालबालिका सुरक्षित हुनुपर्ने ठाउँमा झन् आफ्नै परिवार नातेदारबाट सोच्नै नसकिने यौन शोषणबाट गुज्रिनु परेको छ । हानिकारक काम तथा युद्धमा होमिनु परेको छ । बेचिनु परेको छ । लागु पदार्थ र नशालु पदार्थमा फसिनु परेको छ । साना कलिला हातले कपि कलम समाउनुपर्ने अवस्थामा धारिला हातहतियार समात्नु परेको छ । फल्नुपर्ने फुल्नुपर्ने उमेरमा कोपिलामै चुँडिनु परेको छ । भित्रभित्रै कलिला मुना कति चुटिएका, कति कुटिएका र कति लुटिएका छन् तर यी सब कुरा हेरेर पनि पीडक झैँ समाज अझै मौन छ, र कतिपय यस्ता पीडा त सार्वजनिक नै हुँदैनन् । के चेतनाकै कमीले हो त ? 

प्रत्येक होटलमा ग्राहकलाई खाना पस्किँदै जुठो कटकटिएको भाँडा माझ्दै छन् । त्यही कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाया खोज्दैछन् । के उनीहरूसम्म कानुन र समानता पुगेको छ त ? बाल श्रमको कारणले बालबालिकामा बालापनमा उनीहरूलाई आफन्तबाट पाइने प्रेम स्नेहबाट वञ्चित छन् । बालबालिकाले पाउनुपर्ने अधिकारबाट वञ्चित छन् र आफ्नो बालापनमा पनि उनीहरू आफ्नो जीवन एउटा सामान्य वयस्क व्यक्तिको जस्तै बिताउन बाध्य छन् । दुई छाक खान नसक्ने परिवारका बाल सदस्य श्रममा जानुपर्ने बाध्यता आखिर कहिलेसम्म हुन्छ त नेपालमा ? विभिन्न बहानामा दास बनाइएका त्यस्ता अबोध बालबालिकालाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योति फैलाउन सक्ने सामथ्र्य हामीमा छ त ? बाहिरको के कुरा गर्नु परिवारभित्रै पनि बालबालिकाको उचित संरक्षण हुन सकिरहेको छैन । यी सबै कुरा बालश्रम तथा बालशोषण हुन भनेर परिवारका सदस्यले पनि बुझ्नु पर्छ । 

बालश्रमले बालबालिकाको सुनौलो भनिष्यका लागि आवश्यक शिक्षादीक्षा तथा उसको शारीरिक वा मानसिक तथा प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँछ । कुनै पनि देशको बालश्रमको अवस्था कायम हुनु भनेको उक्त देश अल्पविकसित हुनुको प्रतिविम्ब हो । जसरी सबै देशको विकासमा सबै नागरिकको भूमिका महìवपूर्ण हुन्छ त्यसरी नै बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । भनिन्छ, ‘बालबालिका देशका कर्णधार हुन् र स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ’ बालबालिका भनेका परिवार, समाज अनि देशका धरोहर हुन् । देश विकासको अति आवश्यक तत्व हुन् । एक कुशल नेता, पाइलट, इन्जिनियर, डक्टर, शिक्षक समाजसेवी बन्नका लागि निर्विकल्प ऊर्जा हुन् । वर्तमानका प्रतीक हुन्, सबथोक हुन् । 

बालश्रम हाम्रो समाजको अभिशाप हो । आधुनिक समाजका लागि लज्जाको विषय हो । आज पनि नेपालमा लाखौँ बालबालिका श्रमरूपी नरकमा बाँच्न बाध्य छन् । एक्काइसौँ शताब्दीको वैज्ञानिक युग र नयाँ नेपालको परिकल्पनाको साथ समाज अगाडि बढिरहेको अवस्थामा बालबालिका श्रमिकका रूपमा प्रयोग भइरहनु आधारभूत मानव अधिकारको हनन हो । बालश्रमको प्रयोग गर्नु र हुन दिनु भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हामीले प्रतिबद्धता गरेका मानव अधिकारसम्बन्धी सन्धि र सम्झौताविरुद्धको कार्य हो । बालबालिकाको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नु पर्छ । यसलाई रोक्न धेरै उपाय छन् । सडकका गल्ली गल्लीमा फोहोर सङ्कलनका लागि कुदिरहेका बालबालिका हुन् या कलकारखाना तथा इँटाभट्टामा कलिला हातले खस्रा इँटा समातिरहेका बालबालिका हुन् या सार्वजनिक यातायातको ढोकामा झुन्डिएका बालबालिका या त सडकका गल्लीभित्रका होटलमा जुठा कटकटिएका भाँडा माझिरहेका बालबालिका उनीहरू पनि हाम्रा छोराछोरी, भाइबहिना हुन् भनी कहिल्यै बिर्सनु हुँदैन । हरेक बालकले स्वतन्त्रतापूर्वक खेल्न, पढ्न र बाँच्न पाउनु पर्छ । गरिबीकै कारण कुनै पनि बालबालिकालाई बन्धक बस्न विवश पार्नु हुँदैन । आफ्ना आमाबाबुको स्नेहशील छहारीमै रही हरेक बालकले हुर्कने अवसर पाउनु पर्छ । अभिभावकको न्यानो काखमा बस्न पाउने अधिकार कुनै बालबालिकाबाट खोसिनु हुँदैन । आजको नेपाल शिक्षित नेपालीको सभ्य देश कहलिन्छ । बालसुलभ कार्य र बाल संरक्षण अभियान हरेक क्षेत्रमा प्रभावकारी रूपमा लागू होस् । नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरिब राष्ट्रको सूचीमा सूचीकृत देश त हो नै तर हामी नेपाली अवश्य पनि माया र सद्भावमा गरिब छैनौँ । 

बालबालिकाप्रति जिम्मेवार संस्था होस् या हामी केवल समाज, स्टिकर, पोस्टर, पम्पलेट, प्रस्तावना पत्रमा मात्र होइन हामी सबैले आ–आफ्नो ठाउँबाट बालश्रममुक्त समाज निर्माणको प्रयास गर्नु पर्छ । ऐन कानुन मात्र बनाउने होइन कार्यान्वयन पनि गर्नु पर्छ । बालश्रमलाई बहिष्कार गर्ने सामथ्र्य हुनु पर्छ । आजको कलिला बालबालिका नै भोलिका लागि देशका कर्णधार हुन् भन्ने कोही कसैले पनि बिर्सनु हुँदैन । 

लेखक सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

   

Author

निशा चौधरी