गएको साल पुस २३ गते कवि भूपाल राईको एक दैनिकमा ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकमा एउटा लामो आलेख प्रकाशित भएका थियो । शीर्षकले हामी पहाडमा पुख्र्यौली थातथलो भएकाबिच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आमवाक्य हो । जसरी उपत्यकाका रैथाने समय अनुसार तपाईंले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन् । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो ।
पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै कविता गाउँमै छ’ को प्रसङ्गबाट सुरु गरेर लेखिएको यो आलेख आफैँमा ‘अर्थ–राजनीतिक–साहित्य’ बनेको छ । साहित्य कुनै वर्ग, समुदाय विशेषको पक्षपोषण गर्छ भन्ने मान्यता यो लेखले स्थापित गरेको छ र साहित्य लेखनमा बखान गरिने स्वतन्त्रता, स्वच्छन्दता, उत्तरआधुनिकता र अराजकताको खण्डन गर्दछ । मैले उनको यो कविता पढेको छैन तर राईले कविता यात्राको सन्दर्भमा यो कविता ‘माइलखुट्टी’ भएको ठहर गरेका छन् । साझा प्रकाशनले त्यही शीर्षकमा सङ्ग्रहकै रूपमा प्रकाशित गरेपछि यस्तो लाग्नु अस्वाभाविक पनि होइन ।
लेखनका दुई धारा छन्, एउटा अतीत अर्थात् भूत लेखन अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने नै चाहिँ होइन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छन् । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भइसकेको हुन्छ । भएकै घटना लेखिए पनि त्यसलाई पत्याउने आधार खुम्चिसकेको हुन्छ । सिर्जनात्मक लेखनचाहिँ वर्तमानको अवस्थालाई भविष्य देखाउने मार्ग हो । राईको त्यो अतीतको कविता पनि उनले बोकेको दर्शनसँग सम्बन्धित चेतनाको स्तरले भूत वा सिर्जनाको हैसियत निर्धारण गर्छ । उनकै भाकामा उनकै कवितामा परिभ्रमण गर्दा उनले गर्ने आजको उनको चेतनास्तरले स्वमूल्याङ्कन गर्ने हो ।
राईको कविता, ‘दाजै कविता गाउँमै छ’ यो शीर्षकले नै सबै कुरा बोलेकै छ । पूर्वी नेपालको कुनै गाउँको प्रकृति, मानव बस्ती र त्यहाँको सामाजिक सांस्कृतिक लयमा लेखिएको त्यो कविताले पूर्वी पहाडको राष्ट्रियतालाई त बोकेकै होला । अर्थात् समग्रमा यो क्षेत्रीय ‘नेचर–डेमोग्राफिक’ रूपरेखा होला । त्यहाँको भूगोल, प्रकृति, जीवन जगत, सुखान्त, दुखान्त गाउँको कथा समेटिएकाले कविता गाउँमा भएको उद्घोष कविले गरे होलान् ।
अक्सर कविता त गाउँमै हुन्छ । श्रम, दुःखजिलो, पीडा, शोषण, उत्पीडन, अभाव दुर्गम र विकट गाउँमा हुन्छ । कविता वा साहित्यका अन्य विधाले यसैमा बोल्ने हो । यसमानेमा कवि राईको कविता पहाडी गाउँको प्रकृति र समाजलाई उधिनेर बोल्यो तर कविता त्यो पहाडी गाउँमा मात्रै हुन्न । कविले उधिने झैँ श्रम, आफ्नो भन्ने सघन भाव मधेशका देहातमा पनि छ । यो पहाडको कुनै गाउँको विषय मात्रै होइन । मधेशका अनेकान गाउँमा पनि कविता भए, छन् । मधेशका पीडा, वेदनाले पनि कविता लेखाउँछ, लेखाएका पनि छन् ।
सहरमा त नाटक मात्र हुन्छ । गाउँको अभावग्रस्त कविताले केही नदिएपछि अझ दुःखमाथि दुःख थपेपछि गाउँ छोडेर भौँतारिएका हुन । कविताको पीडा पोख्न, पीडा मेट्न मानिस गाउँ छोडिरहेका छन् । जनजीविकाका लागि पनि थातथलो छोडेका हुन् । केहीले गाउँले सहरलाई घेर्ने रणनीति अनुसार स्थानान्तर हुँदा सहरमा अल्मलिएका वा हराएका हुन सक्छन् ।
मधेशको त्यो फाँटिलो देहातमा कविता, गीत सबै फलेफुलेका छन् । फले नफुलेका भए मैथली साहित्यमा महाकवि विद्यापति हुन्नथे । तर एउटा चरित्रले पहाड तनहुँ घाँसी कुवाका भानुभक्तलाई आदिकवि देख्यो । ‘महाकवि’, लक्ष्मीप्रसाद देवकोटा मात्रै भए । कवि शिरोमणि लेखनाथ भए । राष्ट्रकवि माधव घिमिरे यस्तै यस्तै आदि । यस्तो आदिकवि, महाकवि, शिरोमणि, राष्ट्रकवि जन्माउने पहाडमात्र बहुप्रचारित भएपछि अलिकति चेत भएको पहडियालाई अर्को पहडियाले भेट्दा सबैले सोध्ने नै भए ‘तपाईंको पहाड घर कहाँ हो?’
सामुदायिक पहिचानको थातथलो त हुन्छ नै यदि यही कुरा जान्नलाई कविलाई धरमपुर झापामा सोधेको रहस्यमय हैन । बरु ऊभित्र शुसुप्त अवस्थामा रहेको पहिचानजनित राष्ट्रियताको भाव हो । पञ्चायतको उदयसँगै राष्ट्रियता सामुदयिक भावको छैन । भौगोलिक भाव भइसकेको छ । विसं २०१८ मा निर्मित संविधानले १४ अञ्चल ७५ जिल्ला घोषणा गर्नासाथ सामुदायिक राष्ट्रियता खारेज भयो । यसर्थ कविले आफू स्थान्तरण भएको काठमाडौँलाई आफ्नो घर भने । सहभागीले अलिक कर गरेपछि पुख्र्योली थलो भोजपुर भने तर माझ किराँत भन्न सकेनन् वा भ्याएनन् ।
पञ्चायतले पछिल्लो पटक राष्ट्रियताको एउटा भाष्य निर्माण गरिदिएको छ । त्यो भौगोलिक राष्ट्रियता हो । पूर्वी पहाडको राष्ट्रियता अब वल्लो किरात, पल्लो किराँत र माझ किराँत वा लिम्बूवान रहेन । समग्र पहाडी मूलको भौगोलिक राष्ट्रियता बन्यो । सोलु, ओखलढुङ्गा, सङ्खुवासभा, ताप्लेजुङ आदि बन्यो । यसैले हिमालमा बस्नेहरू पनि पहाडी जिल्लाका नामले चिनिने भए । तराईमा त मिथिला, भोजपुरा, अवध
होइन सुनसरी, मोरङ सप्तरी धनुषा आदि नामका भए । पहाडी राष्ट्रियतालाई स्थापित गर्ने मनोविज्ञान अन्तर्गत हिमाल र मधेशलाई विस्थापित गर्ने योजना हुन सक्छ । यसैले तराई वा हिमालमा बस्नेलाई उसको वतन सोध्ने चलन छैन । कविले जान्न खोजेको नेपाली राष्ट्रियताको अन्तर्य यही हो । त्यसैले पहाडिया पूर्व–पश्चिम जहाँका हुन तिनले भेट्दा पहिलो थेगो हुन्छ, ‘तपाईको पहाड घर कहाँ हो ?’
नेपालको यो आधुनिक स्वरूप बन्नुभन्दा अघि पनि नेपाल थियो । किराँत, लिच्छवि, मल्लकालमा पनि वर्तमानको नेपालको करिब यही स्वरूपको समग्र नाम नेपाल हो । भलै त्यहाँ भित्र बाइसी, चौबिसी, उपत्यकामा तीन र उपत्यका पूर्व तीन गरी ५२ गणराज्य किन नहुन् । तिनै गणराज्यको ऐतिहासिक स्वरूप आधुनिक नेपालको इतिहास हो तर एकत्रित स्वरूपको राज्य विस्तार गर्ने काम पहाड गोर्खा राज्यले ग¥यो । यसैले कवि राईले सङ्केत गरेझैँ नेपाली राष्ट्रियताको निर्माण त्यही पहाडले ग-यो । पहाड र पहाडियाले निर्माण गरेको राज्य र राष्ट्रियतामा अन्यले अपनत्व ग्रहण गर्न नसकेको हो ।
नेपाली राष्ट्रवादको चुरो नेपालको ‘एकीकरण’ वा ‘गोर्खा राज्यको विस्तार’ दुई कुराको छिनोफानो नहुञ्जेल तर्कतरङ्ग चलिरहन्छ । पहाड त वर्तमान राष्ट्रवादको मुख्य धमनी हो, जहाँबाट रक्त सञ्चार भइरहन्छ । अमिवाको न्युक्लियस र त्यसलाई सघाउने प्लाज्माको नियति यस्तै हुन्छ भनेर गरेको उदाहरण पनि यहाँ सटिक छ । जसले कविकै भाकामा भन्दा हिमाललाई लबेवास्ता ग-यो । मधेशलाई परहेजमा राख्यो ।
कविले ठिकै भने राष्ट्रवादको पहाडी एकात्मक ढाँचा ‘असिल हिन्दुस्थाना’ बनाउने पृथ्वीनारायण वैचारिकीमा आधारित थियो । त्यसअघि त नेपालको स्वरूप उत्पीडनरहित सङ्घीय गणराज्यमा थियो, जसको चर्चा माथि पनि भइसकेको छ तर सेनहरूले स्वशासनलाई भत्काउने, उपनिवेश बनाउने क्रियाकलाप गरेर ‘पृथ्वी विचार’लाई भ्रुणमा ल्याउने मार्ग प्रशस्त गरेका थिए ।
त्यसपछि पृथ्वी विचार जङ्गबहादुर कुँवरको मुलुकी ऐन हुँदै संस्थागत हुने क्रम बढ्यो । महेन्द्र शाहले एक धर्म सापेक्ष, भूमिसुधारको नाममा किपट उन्मूलन, लोकतन्त्रको खारेजीलगायत अर्थ–राजनीतिक कार्यक्रमलाई निरन्तरता दिए । जसको उत्कर्ष जनमत सङ्ग्रह, पहिलो, दोस्रो जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलनमार्फत जवाफ तलब भएको थियो तर खारेजीमा परेको यो पहाडी राष्ट्रवाद फेरि पनि संस्थागत हुने सुरसारमा छ । यसैले धर्म सापेक्ष ‘असिल हिन्दुस्थाना’ को पुनस्र्थापना, सङ्घीयताको खारेजीसहितको खिचडीका सर्दाम भेला गरिँदै छ । यस पटकको मतादेशले त्यतैतिरको सङ्केत गरेको छ । यसैले संसद्मा एक भाषा, एक भेष, एक राष्ट्र एक देशको रिहर्सल सुरु भएको छ । जुन राष्ट्रवादले मधेशलाई राष्ट्रघात र घातिको पगरी गुथाएको थियो त्यही पहाडी राष्ट्रवादलाई उजिल्याउन खोजिँदै छ । जुन राष्ट्रवादले राजनीतिक स्वतन्त्रता खोज्नेलाई अराष्ट्रिय तत्व (अत) बनाएको थियो । त्यसैले राष्ट्रिय एकताको पुरानो मिति खोजेर पुस २७ गतेलाई दिवस बनाइँदै छ । यसैले अब झन् जोडले भेटघाटमा सोध्ने छन, ‘साँच्ची तपाईंको पुख्र्यौली पहाड घर कहाँ हो ?’
पुनर्वासको चर्चा
यसै प्रसङ्गमा कविले पुनर्वासको चर्चा पनि गरेका छन् । सुन्दा कर्णप्रिय लाग्ने पुनर्वास योजनाको छद्म दृष्टि तराईका फाँटमा पहाडको हस्तक्षेप बढाउनका लागि रहेको ठहरमा पुगेका रहेछन तर पुनर्वास मात्र होइन ‘रस्ती रसाई बस्ती बसाइ’ नारा अन्तर्गत पूर्वी तराइमा बसोबास गराइएको थियो । आजको सुनसरी, मोरङ र झापामा कैयौँ स्थानमा झोडा फाँड्ने काम भएको थियो । मोरङको कुल झोडा, रमाइलो झोडा, कानेपोखरी, झापाको केर्खा, झिलझिले, सुनसरीको पञ्चायन, महेश्वरलगायत अनेक झोडा (चारकोसे जङ्गल) फँडानी गरेर पहाडका बासिन्दालाई बसाइयो । पुनर्वास कम्पनीले मध्यमधेशमा पहाडी मूलकालाई बसायो । झापाको सीमावर्ती क्षेत्र पृथ्वीनगर, जलथलदेखि महकाली कञ्चनपुरको दोधारा चाँदनीसम्म पहाडी मूलकाको बस्ती बसाउने काम भयो । सूचना प्रविधिको उस्तो विकास नभएको त्यो बखतमा महेन्द्रले मानवलाई नै प्रयोग गरेर राष्ट्रवाद मधेशमा वोल्लो छेउदेखि पल्लो छेउसम्म विस्तार गरे ।
राप्तीघाँटी विकास परियोजना अन्तर्गत चितवन फँडानी गरेपछि पहाडे मूलकालाई बसाइयो । नेपाल औलो उन्मूलन सङ्घ गठन गरेर त्यसैको माध्यमबाट मच्छड मार्ने विषादी ‘डिडिटी’ पाउडर छरियो । मधेशमा मच्छडसँग जुध्न सक्ने क्षमता मधेशी र थारूहरूमा मात्र थियो । यसर्थ पहाडी मूलका मधेशको बाटो मात्र हिँडदथे, रात कटाउँदैन थे । यो विषादी छरेपछि केही हदसम्म औलो उन्मूलन हुन थाल्यो । चितवनलगायत मधेश बस्न अनुकूल भयो । मधेश बस्न अनुकूल हुँदै गएपछि राजनीतिक पीडितका नाममा, बर्माबाट फर्केका प्रवासी नेपालीका नाममा पनि पहाडी मूलकालाई चितवन लगायत मधेशमा बसाइयो ।
नेपाल भारत सीमा रक्षाका नाममा गोर्खा भूपू सैनिकलाई मधेशमा जग्गा वितरण गरियो । ठिकै भनेका हुन्, कविले यो आलेखमा ‘महेन्द्रीय पहाडे राष्ट्रवाद’ मधेशमा यसरी विस्तार भयो । वर्तमानको नेपाली राष्ट्रवादको बनीबनाउ स्रोत पहाड नै हो । त्यो स्रोत उपयोग गरेर महेन्द्रले मधेशमा राष्ट्रवादको नयाँ वैचारिकी स्थापित गरे । त्यसैले आजसम्म महेन्द्रीय वैचारिकीले आम पहाडे मूलकालाई भेट्दा बोल्ने थेगो नै बनाइदिएको छ, ‘तपाईंको पहाड घर कहाँ हो ?
राजमार्गको कुरा : विकासका लागि राजनीति
नेपालको आर्थिक जीवन पूर्व–पश्चिम होइन उत्तर–दक्षिण जोडिएको छ तर राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग आफ्नै नाममा आफ्नै गुरु योजना अन्तर्गत बनाए । मधेशको आर्थिक जीवन रेखा त हुलाकी मार्गसँग धेरै सम्बन्धित थियो । हुलाकी मार्ग बनाउँदा हुने मधेशको उन्नतिलाई बेवास्ता गरे । उनले नयाँ राजमार्ग बनाए जहाँ उनको वैचारिकी स्थापित गर्न सजिलो होस् । कविले महेन्द्र राजमार्ग बनाउनुको उद्देश्यमा मत बझाइ राख्नु पर्ने छैन । महेन्द्रको एक मात्र नारा थियो ‘विकासका लागि राजनीति’ । जहाँ विकास गर्ने हो त्यहाँ राजनीति पु¥याउने । राजनीति नजाने ठाउँमा विकास नलैजाने । यसैले उनले पहाडको विकासमा ध्यान दिएनन् । महेन्द्रलाई मधेशमा आफ्नो अनुकूल ‘राष्ट्रवादी राजनीति’ लैजानु थियो । महेन्द्र राजमार्गको विकासको नाममा राजनीति कुदाएका हुन् । कविले भनेझैँ सेवा, सुविधा, अवसर र विकासबाट वञ्चित पहाडी समुदाय राजमार्गमा बसाइ सरे । यो बाध्यकारी परिस्थिति बनाउने महेन्द्रीय ‘विकासका लागि राजनीति’ नारा थियो । यो नारालाई ठिक उल्टो पारेर बुझियो भने खुट खबर आउँछ जस्तो : राजनीतिका लागि विकास । कविले उठाएको मुख्य प्रश्नको उत्तर यही हो ।
पहाडको त्यो बनीबनाउ राजनीति लैजान महेन्द्र राजमार्ग अनुकूल थियो । यसैले उत्तर–दक्षिणको आर्थिक जीवनलाई पनि उनले हेरेनन् र पूर्व–पश्चिम हुलाकीलाई पनि मान्यता दिएनन् । बरु मानव बस्ती कम्ती भएको चुरेको फेदैफेद राजमार्ग बनाए जहाँ पहाडे मूलकाको बस्ती बसाउन सजिलो होस् । आखिर भयो पनि त्यस्तै काकडभिट्टादेखि कञ्चनपुरसम्म नै महेन्द्र राजमार्गमा पहाडे राष्ट्रियताको सघन उपस्थिति भयो । यसरी महेन्द्रीय राष्ट्रवादले सीमावर्ती काकडभिट्टादेखि दोधारा चाँदनीसम्म यसैगरी पूर्व–पश्चिम राजमार्गले मेचीदेखि महाकालीसम्म मधेशलाई घेराबन्दी गर्न सफल भयो । त्यहाँ बसोबास गर्ने जति पुस्ता बिते पनि अझै एकअर्का भेट हुँदा सोध्ने गर्छन्, ‘तपाईंको पहाड घर कता हो ?’
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।