• १० मंसिर २०८१, सोमबार

अन्तिम अभ्यास खेलमा नेपाल विजयी, कुशल भुर्तेलको शतक

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ३२ गते । आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको हो । 

पहिला ब्याटिङ गरेको ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिनुभयो। भुर्तेलले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा  १०१ रन बनाउनुभएको हो । 

यस्तै नेपालका लागि भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे, आसिफ शेखले २४ बलमा २३ रन बनाउनुभयो।  कुशल मल्ल १७ रनमा आउट हुनुभयो । 

ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले दुई विकेट लिनुभयो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेल्नुभयो भने सोयब खानले ६८ बलमा ३८ रन बनाउनुभएको थियो । 

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिनुभयो भने सन्दीप लामिछानेले ३ विकेट हात पार्नुभयो । करण केसी र प्रतिश जिसीले समान १÷१ विकेट लिनुभयो। 

एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ  । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।