• १० मंसिर २०८१, सोमबार

नेपाल अभ्यास खेलमा ओमानसँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ३२ गते । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीमा रहेको नेपालले बिहीबार (आज) ओमानसँग अभ्यास खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल जिम्बावेको हरारे मैदानमा १२:४५ बजे सुरु हुनेछ । नेपालले जिम्बावेमै यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेलेको अभ्यास खेलमा पनि हार खेपेको थियो । त्यसअघि विश्वकप छनोटका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली टोलीले त्यहाँ स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेलेको दुई अभ्यास खेलमा पनि पराजय भोगेको थियो । 

अभ्यास खेलमा कमजोर ब्याटिङ गरिरहेको नेपालले आज ओमानविरुद्धको खेलमा ब्याटिङ सुधार्ने अपेक्षा गरिएको छ । विश्वकप छनोट खेलअघि नेपालको यो अन्तिम अभ्यास खेल पनि हो । विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । छनोटमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।  १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । 

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । 

नेपाली टोली 

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो ।