बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), पुस ७ गते । कञ्चनपुर कारागारमा भएको विवाद र भ्रष्टाचारजन्य कार्यको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहोरा सदस्य रहने गरेर तीनसदस्यीय छानबिन समिति गठन गरिएको छ ।
गत शुक्रबार दिउँसो कारागारमा रहेका कैदीबन्दीले कारागार प्रशासक र चौकीदार तथा नाइकेविरुद्ध प्रदर्शन गर्नुका साथै हातपात गरेका थिए । कैदीबन्दीले कारागारभित्रबाट ताला लगाउँदै आठ जना नाइके र सहनाइकेलाई भित्र थुनेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते हुनेमा किरण सिंह, मदन गिरी, सन्दीप भण्डारी, जनक खड्का, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर रहेका छन् । शुक्रबार कारागारमा कैदीबन्दी आन्दोलित बनेपछि आइतबार अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
कैदीबन्दीले पाउँदै आएका सेवासुविधा कारागार प्रशासनका केही कर्मचारी र तिनैले बर्सौंदेखि तोकेका मूल चौकीदार, नाइके तथा सहनाइकेको मिलेमतोमा भ्रष्टाचार हुँदै आएको कैदीबन्दीको गुनासो छ । यसै गरी कैदीबन्दीले दैनिक रूपमा पाउने दैनिक ८० रुपियाँ र ७५० ग्राम खाद्यान्नमा समेत भ्रष्टाचार हुँदै आएको गुनासो छ ।
यसै गरी सरकारबाट पाइँदै आएको छुट सुविधामा समेत कारागार प्रशासनका कर्मचारी र मूल नाइकेको मिलेमतोमा भ्रष्टाचार हुँदै आएको आरोप कैदीबन्दीको छ । कारागारका कर्मचारी र मूल नाइकेले छुट सुविधा लागु गर्नका लागि प्रतिकैदीबाट ५० हजार रुपियाँ असुल्दै आएको आरोप उनीहरूको छ । साथै फोन सुविधा प्रयोग गरेबापत मूल चौकीदार र नाइकले मासिक तीन लाखभन्दा बढी असुल्दै आएको आरोप कैदीबन्दीको छ ।
यसै गरी कारागार प्रशासनकै मिलेमतोमा कारागारभित्र मदिरा बेचबिखन हुने गरेको कैदीबन्दीले बताएका छन् । साथै नाइके, भाइ नाइके बनाएबापत मूल चौकीदार र कारागारका सुब्बा रामदत्त जोशीले ३० हजार रुपियाँ असुल्दै आएको गुनासो कैदीबन्दीको छ । कैदीबन्दीले हाल तोकिएका मूल चौकीदार, नाइके, सहनाइके तथा कारागारका निमित्त जेलर रामदत्त जोशी र लेखापाल रमेश भट्टमाथि कारबाही गरिनुपर्ने मागसहित नयाँ नेतृत्व परिचालन गरिनुपर्ने माग राखेका छन् ।
छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जोशीले कारागारभित्र हुँदै आएको अवैध कारोबार, भ्रष्टाचार तथा चौकीदार, नाइके र सहनाइके नियुक्त गरिएको विषयमा अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।