सप्तरी समाचारदाता
सप्तरी, जेठ ३२ गते । सप्तरीको विभिन्न सडकमा डिपो झैँ बालुवा, गिट्टी थुपारेपछि दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बासिन्दा बताउँछन् । राजविराज नगरपालिकाको विभिन्न ठाउँका सडकमा बालुवा, गिट्टी डिपो झैँ थुपारिएपछि दुर्घटनाको जोखिम रहेको स्थानीय हरेराम यादवले बताउनुभयो । राजविराज नपा–१० स्थित बिरौल चोक, खाँडो पुल चोकको बिच सडकमै बालुवा, गिट्टीको डिपो सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको छ ।
स्थानीय व्यापारीले ट्रक, टिप्परबाट बालुवा, गिट्टी हुलाकी राजमार्गको कालोपत्रे सडकको बिच भागमा थुपारेर डिपो नै सञ्चालन गर्दा जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य रहेको तिरहुत गाउँपालिका–५ का दिनानाथ यादवले बताउनुभयो ।
सो ठाउँमा डिपो सञ्चालन गरेयता दर्जनौँ पटक दुर्घटना भइसकेको पकरी प्रहरी चौकीले जनाएको छ । व्यापारीलाई सो ठाउँबाट बालुवा, गिट्टीको डिपो अन्यत्र सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि हालसम्म पनि नसारेको स्थानीयवासी राधेश्याम यादवले बताउनुभयो ।
राजविराज नपा–१० का वडाध्यक्ष गङ्गाराम खङ्गका अनुसार बालुवा, गिट्टीको डिपो सञ्चालकलाई सो ठाउँबाट हटाउन आग्रह गर्दा आजभोलि भन्दै पन्छिने गरेकाले अब बल प्रयोग गरेर भए पनि हटाउने बताउनुभयो ।
यसैबिच राजविराज–कुनौली सडक खण्डको ११ किलोमिटर सडकलाई सङ्घीय सरकारको ४१ करोडभन्दा बढी रुपियाँ लगानीमा फराकिलो गरेर कालोपत्रे गरिएको छ । सो सडकमै बालुवा गिट्टी थुपारेर राखिएको छ । तिलाठीको मेन गेट, वीरपुर चोकको मोड र राजविराजको शिव बोर्डिङ स्कुलनजिक सडकमै बालुवा, गिट्टी थुपारेर राखिएको छ ।
सडकमै थुपारिएको सामानले बाटोलाई साँघुरो बनाउँदा दुर्घटनासमेत हुने गरेको स्थानीय बासिन्दाले गुनासो गर्नुभयो । यस सडक खण्डमा बालुवा, गिट्टी थुपारिएकाले सरोकारवाला निकायको यसतर्फ ध्यान पुग्न नसकेको स्थानीय शुभनारायण यादवले गुनासो गर्नुभयो ।
उहाँका अनुसार ठुल्ठुला अधिकारी पनि यस बाटोबाट आवतजावत गर्छन् तर कसैको यसतर्फ ध्यान पुग्न सकेको देखिँदैन । जिल्लाको प्रमुख भन्सार कार्यालय तिलाठीकोइलाडी गाउँपालिका–१, बेल्हीस्थित राजविराज भन्सार कार्यालय जाने प्रमुख बाटो पनि यही हो ।