काठमाडौं, जेठ ३१ गते । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
छनोट हुनेमा पुरुष/महिलामा समान चार चार गरी आठ खेलाडी छन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जङ्गबहादुर सारू र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट हुनुभएको नेपाल जुडो सङ्घले जनाएको छ ।
यस्तै महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता सुनिश्चित गर्नुभयो । इन्द्र र देवकी सहोदर दाजु-बहिनी हुनुहुन्छ । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का खेलाडी हुनुहुन्छ ।