• ११ मंसिर २०८१, मङ्गलबार

‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

blog

मुस्लिम आयोगले आयोजना गरेको पत्रकार सम्मेलन ।

काठमाडौं, जेठ ३१ गते। साउदी अरबको मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने भएको छ।  बुधबार (आज) मुस्लिम आयोगले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो। 

नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ। 

आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो। त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरूमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरेर सो प्रतियोगितामा सहभागी गराउन लागिएको आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रो परराष्ट्र मन्त्रालयबाट आएको पत्र अनुसार साउदी अरबको पवित्र सहर मक्कामा २५ अगष्टदेखि ६ सेप्टेम्बरसम्म अन्तर्राष्ट्रिय कुरान प्रतिस्पर्धामा नेपालको तर्फबाट पनि एक जना सहभागी गराउनुपर्ने भनेर साउदी दूतावासबाट परराष्ट्र मन्त्रालयमा आयो। सो जानकारी हामीलाई गराइएको छ। त्यही बमोजिम हामीले एक हप्ता अघि नै सूचना निकालेर यसमा सहभागी हुने इच्छुक विद्यार्थीलाई आ–आफ्नो मदरसाबाट छनौट गरेर हौँ। १२ जना विद्यार्थी यसमा सहभागी हुनुभएको छ। जसमध्ये एक जना साउदीमा हुने अन्तर्राष्ट्रिय कुरान प्रतिस्पर्धामा जानेछन्। विश्वभरबाट सहभागीबीच हुने प्रतिस्पर्धाको विजयीले दुई लाख रियाल पुरस्कार प्राप्त गर्नेछन्।’’

अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् भदौ ८ गतेदेखि २० गतेसम्म हुनेछ। प्रतियोगितामा विश्वका विभिन्न देशबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन्।