सन्तोष दहित
दाङ, पुस ५ गते । नेपालको पश्चिम तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको महान पर्व माघी (माघ) नजिकिँदै गर्दा थारू बस्तीहरूमा चहलपहल बढ्न थालेको छ । नयाँ वर्षको रूपमा समेत मनाइने माघी पर्व थारू समुदायले उल्लासमय वातावरणमा विविध सांस्कृतिक कार्यक्रममार्फत भव्य रूपमा मनाउने परम्परा रहेको छ ।
यसैबिच मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले यही पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित सहिद नेत्रलाल पार्कमा मघौटा साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । गुलरिया टोल विकास संस्थाको आयोजनामा मघौटा साँस्कृतिक कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार थारू समुदायको मौलिक कला, संस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले वृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा मघौटा, हुर्डुग्या, छोक्रा लगायत तीन दर्जनभन्दा बढी नाचहरू प्रस्तुत गरिने तयारी गरिएको छ ।
त्यस्तै, कार्यक्रममा थारू समुदायको परम्परागत भेषभूषा, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री वितरणका लागि स्टलहरू राखिनेछ । साथै थारू परिकारहरू जस्तै घोंघी, अनडीको भात, सुंगुरको पक्वा, मासु, गंगटा, ढिक्री लगायतका खानाका परिकार पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।
उता, माघी पर्वलाई भव्य र सभ्य रूपमा मनाउन गाउँगाउँमा तयारी तीव्र पारिएको घोराही उपमहानगरपालिका–७ सिसहनियाका बेझलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार थारू समुदायले पुस मसान्तदेखि माघ महिनाको एक सातासम्म माघी पर्व उल्लासमय ढङ्गले मनाउने गर्दछ । माघीका अवसरमा डेवानी मार्फत गत वर्षको समीक्षा गर्ने र आगामी वर्षको कार्ययोजना बनाउने, साथै मटाँवा, बडघर, भलमन्सा चयन गर्ने जस्ता महत्त्वपूर्ण सामाजिक कार्यहरू गरिँदै आएको उहाँले बताउनुभयो ।
“माघी पर्व सामाजिक, साँस्कृतिक र आर्थिक महत्त्व बोकेको पर्व हो,” उहाँले भन्नुभयो, “यो हाम्रो नयाँ वर्ष मात्र होइन, गाउँको नेतृत्व चयन गर्ने, वर्षभरिका कामको समीक्षा गर्ने र आगामी योजनासहित कानुनी व्यवस्थाहरू तय गर्ने महत्त्वपूर्ण पर्व पनि हो ।”