• १० मंसिर २०८१, सोमबार

अभ्यास खेलमा नेपाल यूएईसँग पराजित

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ३१ गते । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।

जिम्बावेको हरारेमा मंगलबार अबेर सम्पन्न खेलमा नेपाल यूएईसँग तीन विकेटले पराजित भयो । जितका लागि नेपालले दिएको दुई सय ७७ रनको लक्ष्य पछ्याएको यूएईले ४९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

यूएईको जितमा रोहन मुस्ताफाले अविजित ७७ रन बनाउनुभयो । अर्यन्स शर्माले ५०, रमिज सहजादले ४३ र आशिफ खानले ३६ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसी र ललित राजवंशीले दुई/दुई विकेट लिनुभयो । सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ७६ रन बनाउनुभयो । कुशल मल्लले ४५, कुशल भुर्तेलले ३९, आरिफ शेखले ३५, सोमपाल कामीले १६ र गुल्शन झाले ११ रन बनाउनुभयो ।

विश्वकप छनोटको तयारीका लागि यसअघि दक्षिण अफ्रिका भ्रमण गरेको नेपालले दक्षिण अफ्रिकामा खेलेको दुई अभ्यास खेलमा पनि हार खेपेको थियो ।

नेपाल दक्षिण अफ्रिकामा नेदरल्यान्ड्ससँग पाँच विकेट र स्कटल्यान्डसँग सात विकेटले पराजित भएको थियो । छनोट खेलअघि नेपालले जिम्बावेमा बिहीबार ओमानसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।