• ८ मंसिर २०८१, शनिबार

‘म विद्यार्थी’

blog

भाइबहिनीहरू,  हामी विद्यार्थी, सिक्ने, खेल्ने, रमाउने बेला । र हामी आजका विद्यार्थी कस्ता छौँ,  के बन्ने, कस्तो बन्ने र त्यसका लागि के के सिक्ने त ? यो हाम्रा लागि जान्नैपर्ने विषय हो । यससँगै परिवार, समाजभित्र रहेका र हामीले जान्नैपर्ने मध्ये कला–संस्कृति, अनुशासन र कर्तव्य  पनि हो । कक्षामा शिक्षकले सहजीकरण गरिरहँदा सिकाइमा ध्यान दिनुपर्दछ । शिक्षकको सहयोगमा सिर्जनशील बन्नुपर्दछ । प्रत्येक दिन उपलब्धिमूलक गृह तथा कक्षा कार्यहरू मात्र गर्नुपर्दछ । परीक्षाभन्दा पनि सिकाइमुखी हुनुपर्दछ ।  कक्षामा शिक्षकले प्रश्न सोध्दा सहजै उत्तर दिनुपर्दछ तथा यस्ता छलफलमा  भरपुर सहभागी हुनुपर्दछ । 

अचेलका सिकाइहरू सबै बालमैत्री छन् । विद्यार्थीको रुचि, उमेर अनुसार सिकाइ पद्धति अगाडि बढाइरहेको पाइन्छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइहरू भइरहेका छन् । परीक्षाको अङ्कलाई मात्र नभई उनीहरूलाई दक्ष र गुणस्तरीयामा  ध्यान दिएको पाइन्छ । जीवन पर्यत्न शिक्षा आजको आवश्यकता हो । त्यसैलाई मध्यनजर गर्दै शिक्षणमा पनि  जीवन जिउने कला र सीप सिकाउने ध्याउन्नमा अचेल विद्यालयहरू अगाडि बढिरहेका छन् । देशको मेरुदण्ड विद्यार्थी भएका कारणले उनीहरूलाई सक्षम, दक्ष बनाई बागडोर सम्हाल्न दिनु आजको चौतर्फी आवाज रहेको छ । 

विद्यार्थीहरूमा नम्रता, शिष्टता, इमानदारिताजस्ता गुण हुनु जरुरी देखिन्छ । सदाचार नैतिक अनुशासन, मीतभाषीपन तथा उचित चरित्रको अवलम्बन गर्नु आजका विद्यार्थीहरूले आफ्नो सम्मान ठान्नुपर्दछ । मोबाइल, इन्टरनेटजस्ता प्रविधिका साधनलाई सिकाइको माध्यम बनाउँदै रमाउनुपर्दछ । घरकै खानेकुरालाई प्राथमिकता दिनुपर्दछ । 

बजारिया खानेकुरा बढी हानिकारक हुने भएकाले त्यस्ताबाट टाढै रहनुपर्दछ । सजग हुनुपर्दछ । जिब्रोको स्वादभन्दा पनि स्वास्थ्यलाई ख्याल गर्दै त्यस्ता खानेकुरालाई अलग्याउनुपर्दछ । घरमा जस्तो छ त्यसैमा रमाउन सिक्नुपर्दछ । एकाग्र मनले अध्ययन गर्ने बानीको विकास गर्नुपर्दछ । 

विद्यार्थीहरूले शिष्टाचार, नैतिक मूल्य मान्यता र सदाचारका नियमहरूमा आफूलाई बाँधी आफ्नो जीवनयापन सहज बनाउनुपर्दछ । बाबुआमाको कुरालाई सकारात्मक र मार्गनिर्देशकका रूपमा ग्रहण गर्नुपर्दछ । सधैँ हँसिलो अनुहार बनाउनुपर्दछ । सानालाई आदर, वात्सल्य दिँदै ठूलालाई माया गर्नुपर्दछ ।  खोज अनुसन्धानमा केन्द्रित हुनु नै आफूलाई अपडेट राख्नु हो । जीवनको उद्देश्य भनेको ज्ञान प्राप्त गर्न मात्र नभई मातृभूमिको सम्मान र रक्षा गर्नु, धर्म र संस्कृतिलाई उन्नत गराउनु, अध्ययनशील हुनु हो । 

अचेल शिक्षक र विद्यार्थीको सम्बन्ध पहिलाको तुलनामा पारिवारिक देखिन्छ । विद्यार्थीप्रति शिक्षकले वात्सल्य बर्साउने गरेको पाइन्छ । शिक्षक–विद्यार्थी सम्बन्ध गहिराइमा पु-याउनु नै जीवनले सार्थकता पाउनु हो । विद्यार्थीले शिक्षक नै मेरा लागि सर्वोपरी हो भन्ने सोचको उजागर गर्नुपर्दछ । ज्ञान प्राप्तिको जग नै शिक्षक हो भन्ने सर्वमान्य कुरालाई विद्यार्थीले पनि स्वीकार्नु पर्दछ । 

हेटौँडा