• १२ मंसिर २०८१, बुधबार

सुत्केरीलाई र गर्भवतीलाई पौष्टिक आहार

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ३० गते । गर्भवती, सुत्केरी र दुई वर्षभित्रका बालबालिकालाई हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिकाले पौष्टिक आहार वितरण गर्ने गरेको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति सेवा लिने महिलाहरूलाई घिउ, अण्डा लगायतका पौष्टिक आहरा प्रदान गर्ने गरिएको हो । 

मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहारा उपहार दिने गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । “स्वास्थ्य संस्थामा सुत्केरी भएका, गर्भ रहेको चार, छ, आठ र नौ महिनामा जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै खोप लगाउने बालबालिकाका साथै १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई समेत पोषिला खानेकुरा दिने गरिएको छ । 

उपाध्यक्षले भन्नुभयो “गाउँपालिका भित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छौँ ।”

गाउँपालिकाले चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घिउ र सुत्केरीले सुप बनाएर खाने ज्वानो उपहार दिने गरेको छ । बच्चा जन्मेको १५ महिनाभित्र तोकिएको सबै खोपको मात्रा लगाउने एवम् तोकिएको समयमा तौल वृद्धि अनुगमन गर्ने बच्चालाई पनि गाउँपालिकाले एक क्यारेट अण्डा दिने गरेको छ ।

चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन भएको यस कार्यक्रमबाट हालसम्म एक सय २६ जना सुत्केरी र दुई सय जना गर्भवतीले सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताउनुभयो ।

भौगोलिक रूपमा विकट र दुर्गम धवलागिरि गाउँपालिकाका महिला सुत्केरी हुनैका लागि जिल्ला सदरमुकाम बेनीको अस्पतालमा जाने गर्छन् । धवलागिरि गाउँपालिकाको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।