• २६ पुस २०८२, शनिबार

डरलाग्दो बन्दै ‘लम्पी स्किन’

blog

काठमाडौँ, जेठ ३० गते । देशका ७१ जिल्लाका पाँच लाख पशुमा ‘लम्पी स्किन रोग’को सङ्क्रमण देखिएको छ । एक महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । सङ्क्रमणले १० हजार पशु मरेको पशु सेवा विभागले जनाएको छ ।

विभागका प्रवक्ता चन्द्र ढकालले अघिल्लो दिनसम्म सामान्य रहेका गाई, भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन सल्लाह दिनुभयो । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले भन्नुभयो, “गाई, भैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो यो । त्यसैले निकै सावधानी अपनाउनुपर्छ ।” उहाँले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा लम्पी स्किन सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले सङ्क्रमित गाई, भैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्रको प्रयोग गर्न नहुने बताउनुभयो । “पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाई, भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्न भएकाले पशु प्राविधिकले विशेष सावधानी अपनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो । सङ्क्रमित पशुको दुध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र खास गरी ज्वरो नियन्त्रण गर्न नसकेमा सङ्क्रमित गाईबस्तु मर्न सक्ने पशु चिकित्सक बताउँछन् । 

नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक लम्पी स्किन रोग देखिएको थियो । तीन वर्षभित्र ७१ जिल्लामा फैलिएसँगै चुनौतीको विषय बनेको छ । हालसम्म ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, धादिङ, मनाङ र मुस्ताङमा लम्पी स्किनको सङ्क्रमण नदेखिएको विभागले जानकारी दिएको छ । लम्पी स्किन रोगका कारण मर्नेमा प्रायः अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाई, भैँसी छन् । नियमित रूपमा दैनिक १० लिटर दुध दिने पशुले मुस्किलले दुई लिटर दुध दिन्छन् ।

पशुविज्ञ मणिप्रसाद सापकोटाले लम्पी स्किन रोगले पछिल्लो समय पारिरहेको प्रभावलाई नियन्त्रणमा लिन सरकारले विशेष योजना अगाडि बढाउनु जरुरी रहेको उल्लेख गर्दै रोग प्रतिरोधी क्षमता कम भएका पशु यसबाट मर्ने भए पनि उत्पादनमा ह्रास सबैमा हुने गरेकाले कृषकले ठुलो क्षति बेहोरिरहेको बताउनुभयो । उहाँले कृषि तथा पशुपछी विकास मन्त्रालयले यसलाई गम्भीर रूपमै लिएर प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा सङ्क्रमणको फैलावट रोक्न प्रयास थाल्न ढिलो गर्न नहुने बताउनुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले लम्पी स्किन रोगले पारेको आर्थिक क्षतिबारे अध्ययन गरेर तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । 

उहाँले पशुचौपायाको मृत्युदरले ठूलो आर्थिक क्षति पु-याउने र सङ्क्रमणबाट उत्पादनमा आउने ह्रास हुनु गम्भीर विषय भएको र सरकार तथा निजी क्षेत्रले त्यस बारेमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । 

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने एउटा मरेको पशुचौपायाको न्यूनतम मूल्य ५० हजार रुपियाँ भए मात्र पनि किसानले करोडौँ रुपियाँको क्षति बेहोरिसकेका छन् । 

आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ वटा पालिकामा यो सङ्क्रमण देखिएको थियो । त्यो सङ्ख्या आव २०७८/७९ मा नौ जिल्लाका १९ पालिकामा देखियो । आव २०७९/८० मा यो रोग सात वटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागले जनाएको छ ।  

काभ्रेका कृषक नारायण बडालले यो रोग लागेपछि पशुले कमजोर महसुस गर्ने र उत्पादनमा निकै ह्रास आउने भएकाले सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । विभागका प्रवक्ता ढकालले पशुबाट पशुमा सरे पनि मानिसमा सर्नेे सम्भावना नभएको जानकारी दिँदै एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाई,भैँसीलाई फेरि नलाग्ने बताउनुभयो ।

  

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।