• १० मंसिर २०८१, सोमबार

तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

blog

‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ को शिलान्यास समारोह । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २९ गते । नेपालमै पहिलो पटक एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ ।

गुल्मी जन्मथलो रहेका विनोद कुँवरले यसमा सबै लगानी (४० करोड रुपियाँ) एक्लैले गर्नुहुनेछ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अनुरूप सोमबार तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’को शिलान्यास गरिएको हो ।


सो मैदानको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन लगायतले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  

पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुवरले बताउनुभयो ।

‘‘मलाइ क्रिकेटको अति नै मोह भएका कारण यहाँ यो प्रोजेक्ट बनाउने योजना बनाएँ दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया थालेर आठ दिनदेखि मैदान सम्माउने काम भएको हो, यसलाई साकार रूप दिन सबैको साथ आवश्यक छ ।’’ उहाँले भन्नुभयो –‘‘मैले तीनवटा प्रोजेक्ट गर्ने हो,पहिलो खेल मैदान,दोस्रो हस्पिटल र तेस्रो आइटी कलेज ।’’

उहाँले अष्ट्रेलियामा १ हजार १ सय नेपालीलाई आफै रोजगारी प्रदान गरेको समेत जानकारी दिनुभयो । स्थानीय स्रोत साँदनलाई प्रयोग गर्ने  र रोजगारी र अवसर स्थानीयलाई दिइने र सरकारलाई सहयोग गर्ने हो, चुनौती दिनका लागि नभएको उहाँको भनाइ छ ।


मैदान निर्माण गर्नका लागि अहिले ४० करोड रुपियाँ बजेट अनुमान गरिएको उहाँको भनाइ छ । मैदानलाई हरेक वर्ष विकास गरिँदै लगिने र पाँच वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाउने उहाँले बताउनुभयो । क्रिकेट मैदानमा होस्टलसहितको पाँचतले एकेडेमी र ट्रेनिङ सेन्टर समेत बनाइने अर्का डाइरेक्टर सुदिक्षा कुवरको भनाइ छ ।

पूर्व  खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहेकाले मैदानको काम निरीक्षण गर्ने, आवश्यक प्रबन्ध गर्ने, एकेडेमी र ट्रेनिङ सेन्टर हेर्ने र माधव पाठकलाई (क्युरेटर ) मैदान सम्म्याउने गरी व्यवस्थापन गर्ने जिम्मा दिइएको छ ।  पाठक अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा क्युरेटरको भूमिकामा हुनुहुन्थ्यो ।

सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाइ छनौट गरेर रङ्गशाला बनाउने काम थालेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहिरहने उल्लेख गर्नुभयो । ‘‘यो हामी सबैको साझा सम्पत्ति र गहना हो ,यसको संरक्षण तथा सञ्चालनका लागि सबैले साथ दिनैपर्छ ,’’ खाणले भन्नुभयो । 


कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिका जागेश्वरी चौधरी, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, अन्तराष्ट्रिय एम्पायर सत्यराज सरकार, न्यु होराईजन बोर्डिङ स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले सबैको साथ र सहयोगमा निर्माण पूरा हुने आशा व्यक्त गर्नुभयो ।

सो क्षेत्रमा क्रिकेट मैदान बन्ने भएपछि स्थानीय निकै हौसिएका छन् । शिलान्यास समारोहमा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।