• ८ असार २०८१, शनिबार

सुशासन र विकासका लागि काम गरिरहेका छौँ

blog

दार्चुलाको नौगाड गाउँपालिका भौगोलिक विकटता र विविधता भएको गाउँपालिका हो । छ वडा, १८०.२७ वर्गकिलोमिटर क्षेत्रफल र १५ हजार ५२८ जनसङ्ख्या रहेको यो गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना छ । गत वर्षको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दलजितसिंह धामी निर्वाचित हुनुभएको हो ।  प्रस्तुत छ, अध्यक्ष धामीसंँग गोरखापत्रका लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

 अध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । यो अवधिमा के कस्ता काम भए ?

पहिलो वर्ष सिकाइको वर्ष रह्यो । यही सिकाइबाट बजेट र कार्यक्रमलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सुशासनसहितको विकासमा जोड दिइरहेका छौँ । स्थानीय सरकारको चुनौती सुशासन नै हो । सुशासनका लागि नीति, विधि, ऐन, नियम, कानुनबमोजिम काम गर्न सके सबैलाई सन्तुष्ट गर्न सकिन्छ । ई–बिडिङबाट विवादरहित तरिकाबाट ठेक्का लगाएका छौँ । गाउँपालिकाको समग्र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा एकीकृत योजना तर्जुमा गर्न पाँच वर्षको आवधिक योजना निर्माण गरिरहेका छौँ । 

यो गाउँपालिका भौगोलिक रूपमा निकै विकट रहेकाले पूर्वाधार विकास प्राथमिकतामै रहेको होला । के कस्ता योजना ल्याउनुभएको छ ?

भौगोलिक रूपले निकै विकट वडा नं. १ बाहेक सबै वडामा सडक पुगिसकेको छ । प्रदेश गौरवको योजना देथला, खार खलङ्गा सडक स्तरोन्नतिको काम भइरहेको छ । धुलिगडामा पक्की पुल निर्माण भइसकेकाले यातायातमा केही सहज भएको छ । दल्लेखसम्म नियमित यातायातका साधन सञ्चालन गर्न अझै दुई वटा पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । प्रत्येक वडा र दुर्गम बस्तीमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र १० शय्याको अस्पताल निर्माण तीव्र गतिमा भइरहेको छ । एक जना एमबिबिएस चिकित्सक राखे पनि उपकरण र संरचना अभावमा सेवा दिन सकिएको छैन । विभिन्न विद्यालयमा भवन निर्माण भएका छन् । खानेपानीको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा ग्रामीण जलस्रोत परियोजनाले एक घर एक धारा बनाए पनि पहिरोले क्षति गरेकाले पानी वितरण हुन सकेको छैन । 

नौगाडमै साढे १६ मेगावाट विद्युत् उत्पादन भइरहँदा नौगाडवासीले बिजुली पाउन सकेका छैनन् । ति जनताले कहिले बिजुली पाउने ? 

अहिलेसम्म एक दुई बस्तीमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । छिटोभन्दा छिटो गाउँपालिकाभरि राष्ट्रिय प्रसारणको लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण र निर्माण व्यवसायीलाई अनुरोध गरेका छौँ । होपरीमा बनेको लघुजलविद्युत् आयोजनाबाट पनि गाउँपालिका केन्द्र नजिकका केही बस्तीमा बिजुली बलेको छ । अबको एक वर्षभित्र नौगाडको अधिकांश घरधुरीमा विद्युत् पु-याउने प्रयास भइरहेको छ ।

सञ्चारको समस्या रहेको जनगुनासो छ । यो समस्या समाधान गर्न कस्तो पहल भइरहेको छ ?

सञ्चारको समस्या छ तर पनि पछिल्लो समय सञ्चार सेवामा निकै सुधार भएको छ । नेपाल टेलिकमका सात वटा टावर नौगाड गाउँपालिकामै रहे पनि भगौलिक विकटता र टावरसम्म विद्युत् आपूर्तिमा समस्या हुँदा सञ्चार सेवा नियमित र गुणस्तरीय हुन सकेको छैन । विद्युतीकरणपछि सञ्चार समस्या समाधान हुने छ । 

कृषि र रोजगारीका क्षेत्रमा के के कस्ता काम भइरहेका छन् ?

नौगाडको समृद्धिका लागि सबभन्दा बढी सम्भावना बोकेको क्षेत्र कृषि नै हो । तरकारी खेतीमा पकेट क्षेत्र निर्धारण गरेर नमुना गाउँ स्थापना गर्दै छौँ । पशुपालन, माहुरीपालनतर्फ पनि किसानको आकर्षण देखिएको छ । १२० जनालाई माहुरीपालनको तालिम दिएका छौँ, चार सय घार माहुरी वितरण गरिएको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने नीति लिएका छौँ । आगामी वर्ष भैँसीपालन व्यवसाय प्रवद्र्धन गर्ने योजना छ । छ वटै वडामा अल्लो प्रशोधन केन्द्र निर्माण गरिएको छ । होजियारी, ग्याबिन जाली बनाउने, हाउस वाइरिङ, ड्राइभिङलगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

नौगाड गाउँपालिकालाई समृद्ध बनाउने तपाईंका योजना के के छन् ? 

भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेका छन् । पर्यटन प्रवर्धन, बहुमूल्य जडीबुटी उत्पादन र प्रशोधनलगायत अन्य स्थानीय उत्पादनमा आधारित उद्योगधन्दा सञ्चालन, पर्यटकीय स्थलको विकास र पूर्वाधार निर्माण भइरहेका छन् । कृषिमा उत्पादन र बजारीकरणलाई जोड्ने दीर्घकालीन योजना छ । सुशासनसहित पूर्वाधार र सामाजिक विकासको माध्यमबाट समृद्ध नौगाड निर्माणको अभियानमा लागिरहेका छौँ । 

स्थानीय तहमा अनियमितता बढेको भनेर आलोचना हुने गरेको छ । नौगाड गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

वार्षिक रूमा सामाजिक परीक्षण, सार्वजनिक सुनवाइ, योजनाको नियमित अनुगमन, सार्वजनिक लेखापरीक्षण जस्ता अभ्यास भइरहेको छ । सेवा प्रवाह, विकास निर्माणका योजना कार्यक्रम जनमैत्री र प्रविधिमैत्री बनाउँदै छौँ । चालु आर्थिक वर्षमा पनि चैत मसान्तभित्र सबै योजना पूरा गर्ने लक्ष्य राखेका थियौँ तर निर्वाचन र कार्यविधि बनाउन ढिलाइ भएकाले योजना पूरा गर्न ढिलाइ भएको छ । आगामी वर्ष क्यालेन्डर तयार गरेर अगाडि बढ्ने योजनामा छौँ ।

विपत् सङ्कटग्रस्त क्षेत्र भएर पनि नौगाडमा जोखिम न्यूनीकरणका काम भएको देखिँदैन नि ? 

नौगाड गाउँपालिकामा बर्सेनि बाढीपहिरोले ठूलो धनजनको क्षति गर्दै आएको छ । सरकारले नौगाड गाउँपालिकालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि कुनै राहतको कार्यक्रम सञ्चालन गरेन । नौगाड खोलामा पक्की तटबन्धको माग गरिएको छ । गाउँपालिकाको तर्फबाट बाढीपहिरोपीडितलाई सामान्य राहत वितरण गरिए पनि प्रदेश र केन्द्र सरकारले उपेक्षा गरेको छ ।