बर्दिबास समाचारदाता
बर्दिबास, जेठ २८ गते । बिहान साढे ६ बजेको तापक्रम २९ डिग्री सेल्सियस। दिन छिप्पिँदै जाँदा ३१ र अधिकतम ४२ डिग्री सेल्सियससम्म। त्यसमाथि हप्हपी गर्मी र तातो हावाले थपेको उकुसमुकुस।
जेठ दोस्रो सातादेखि बढन थालेको मध्य तराईको गर्मीले जनजीवन अस्तव्यस्त छ। अस्पतालका शय्याहरू गर्मीका बिरामीले भरिएका छन्। सडकमा आवागमन पातलिएको छ। चर्को घामबाट बच्न सर्वसाधारण छाता ओढेर अनुहार छोपेर हिँडेका देखिन्छन्। जिल्लाभरका विद्यालय साता दिनदेखि बन्द छन्। मकै, हरिया तरकारी जस्ता बाली र बिरुवा मर्न थालेका छन्। गर्मीको प्रकोपले यहाँको समग्र जनजीवन अस्तव्यस्त बनेको छ।
बढदो गर्मीसँगै मधेश प्रदेशका सबै जिल्लामा लू लाग्ने, झाडापखाला तथा पेट दुख्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजिव झाका अनुसार अहिले प्रदेशभरिका अस्पताल र स्वास्थ्य केन्द्रमा यस्ता बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षमा दैनिक ४० जना जति भर्ना हुने गरेकोमा १५ देखि २० जनासम्म गर्मीका बिरामी हुने गरेका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनिषा भारद्वाजका अनुसार अत्यधिक गर्मीले रिँगटा लाग्ने, बेहोस हुने, उकुसमुकस हुने बिरामीको सङ्ख्याले अस्पतालको आकस्मिक कक्ष दिनहुँ भरिने गरेका छन्।
“पछिल्लो समय गर्मीका कारण आउने ज्वरोबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्, डा. भारद्वाजले भन्नुभयो, “झाडापखालाका बिरामीको सङ्ख्या पनि बढदो क्रममा छ, रिँगटा लाग्ने, बेहोस हुने, छट्पटी लाग्ने बिरामी पनि दिनहुँ आउने गरेका छन्।”
बर्दिबास अस्पतालको आकस्मिक कक्षका डा. विवेक दास तथा शुभस्वास्ति अस्पतालका डा. श्यामसुन्दर शशीले गर्मीका कारण बर्दिबास क्षेत्रमा लु, डाइरिया, रिँगटा, हीट स्ट्रोक जस्ता बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो। “आकस्मिक कक्षका शय्या अहिले गर्मीजन्य रोगका बिरामीले भरिभराउ छन्” उहाँहरूले भन्नुभयो।
बिरामी बढे पनि प्रदेशभरकै स्वास्थ्य संस्थामा औषधी, उपचार र स्वास्थ्य सेवाको समुचित व्यवस्था मिलाइएको स्वास्थ्य निर्देशक डा. झाको दाबी छ। “मौसमी प्रकोपलाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा स्लाइन पानी, सिटामोल, आवश्यक एन्टिबायोटिकको पर्याप्त व्यवस्था मिलाइएकाले बिरामी बढे पनि उपचार र औषधीको अभाव हुन दिइएको छैन,” उहाँले भन्नुभयो। बिरामी भएर उपचार गराउनुभन्दा पनि स्वास्थ्य सुरक्षाको पालना गर्न, अतिआवश्यक कामबाहेक घर बाहिर न निस्कन, घर बाहिर जाँदा पनि टाउको, हातखुट्टा छोपिने कपडा लगाउन र पानीलगायतका झोल पदार्थको सेवन गर्न उहाँले आग्रह गर्नुभयो।