• ६ चैत २०८०, मङ्गलबार

प्लास्टिक प्रदूषण नियन्त्रण गर्न 'विद्यार्थी पुरस्कार योजना'

blog

तस्बिर : फेदीखोला गाउँपालिकाको कार्यालय । राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २६ गते । स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न विद्यार्थी पुरस्कार योजना ल्याएको छ । प्लास्टिकजन्य फोहरले वातावरण नराम्रोसँग प्रदूषण गरेको निष्कर्ष निकाल्दै पालिकाले यस्तो योजना ल्याएको जनाएको हो । 

विद्यार्थीहरूलाई आफ्नो घर तथा घर वरपरको प्लास्टिकजन्य फोहर सङ्कलन गरेर विद्यालयमा बुझाउन भनिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो।

वर्षभरि सङ्कलित फोहोरको तौलको आधारमा प्रत्येक वर्ष जुन ५ अर्थात् विश्व वातावरण दिवसको अवसर पारेर पुरस्कृत गरिने अध्यक्ष सुवेदीले बताउनुभयो । 

विद्यार्थीमार्फत गाउँघर सफा राख्न र अभिभावकमा पनि सचेतना जगाउने उद्देश्यले विद्यार्थी पुरस्कार योजना लागु गरिएको उहाँको भनाइ छ । पालिकाको वडा नं ५ मा विगतमा यस्तै प्रकृतिको अभियान सञ्चालन गर्दा सफलता मिलेकाले पालिकाभरी प्लास्टिकजन्य फोहर सङ्कलन र व्यवस्थापन गर्न लागिएको पालिकाले जनाएको छ । 

विद्यार्थीले यो अभियानमा सहभागी हुन सबैखाले प्लास्टिकजन्य फोहर सङ्कलन गर्न सक्ने पालिकाले जनाएको छ । 

सङ्कलित फोहोरलाई तौल गरी सहभागी सबैले प्रति के.जी. निश्चित मूल्य पाउने छन् । फोहर सङ्कलन कार्यको सहजीकरण विद्यालयले गरेपनि फोहर व्यवस्थापन कार्य भने पालिकाले नै गर्ने र यसका लागि ल्यान्डफिल साइटको तयारी समेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । क्रमशः पालिकालाई प्लास्टिकजन्य फोहरमुक्त बनाउने लक्ष्यका साथ यस्तो योजना ल्याइएको उहाँको भनाइ छ । 

प्लाष्टिकजन्य प्रदूषणले सबै क्षेत्रमा समस्या ल्याइरहेको भन्दै पालिकाले विश्व वातावरण दिवस २०२३ को अवसर पारेर विद्यार्थी पुरस्कार योजना ल्याएको हो । 

यो वर्षको विश्व वातावरण दिवसको यो वर्षको नारा “प्लास्टिक प्रदूषण विरुद्ध लडौँ” भन्ने रहेको छ । यही नारालाई व्यवहारिक कार्यान्वयन गर्न पालिकाले योजना ल्याएको अध्यक्ष सुवेदीले बताउनुभयो ।