• १२ मंसिर २०८१, बुधबार

कर्णाली प्रदेशलाई सुरक्षित नमुना प्रदेश बनाइने

blog

विष्णुप्रसाद देवकोटा

डोल्पा, जेठ २६ गते । नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाई नमुना सुरक्षित प्रदेश बनाउने उद्देश्यले सुरक्षित कर्णाली विशेष अभियानलाई अगाडी बढाइएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा सुरक्षाको अवस्था प्रहरी इकाईको व्यवस्थापन लगायत सडकको अवस्थाको स्थलगत अनुगमनको क्रममा डोल्पा पुग्नु भएका कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ढकालले सो विषयका बारेमा जानकारी दिनुभएको हो । 

जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै प्रमुख ढकालले कस्तो खालको सुरक्षा आवश्यकता छ भन्ने कुराको नागरिकसँग सुझाव सङ्कलन गरेर सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत प्रत्येक जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईमा नागरिक सहजता केन्द्र स्थापना सवारी साधनमा यात्रुमैत्री सवारी अभियान प्रदेशका जिल्लामा अपराध हुनै नदिने भइहालेमा वस्तुनिष्ठ अनुसन्धान सुदृढीकरणमा जोड दिइएको जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षा अवस्था अनुगमन निरीक्षणको क्रममा डोल्पा पुग्नुभएका प्रहरी नायव महानिरीक्षक ढकालले अपराध रोकथाम गर्न सहज होस भनेर प्रत्येक सीमा प्रहरी इकाईमा सिसिटीभी क्यामरा जडान गरिनुकासाथै अपराधी क्रियाकलाप नियन्त्रण गर्न कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका तीन लाख ५० हजार घरधुरीमा प्रहरीको टेलिफोन सहितको स्टिकर टाँस गरिने गरी काम भइरहेको जानकारी दिनुभयो ।

अनुगमनको क्रममा डोल्पा पुग्नुभएका गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले डोल्पा भूगोलको हिसाबले ठुलो र चुनौतीपूर्ण रहेकाले यहाँका नागरिकको जीवनस्तर के कसरी सहज बनाउन सकिन्छ भन्नेतर्फ सबैले आआफ्नो तहबाट सहयोग पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।

कर्णाली जिल्लाका नागरीकको सरल जीवनस्तर बन्न सके मात्र सिङ्गो कर्णालीको संवृद्धि र विकासमा सहयोग पुग्ने प्रधान सम्पादक भट्टराई भनाइ छ ।

कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले उपल्लो डोल्पामा प्रतिकुल मौसम र भूगोलका कारण नेपाल प्रहरी सिजनलरुपमा मात्र बस्ने गरेको र स्थायी सुरक्षाको व्यवस्थापन नभएकाले सुरक्षा संवेदनशील रहेकोले हिमाली बन्दोबस्तीका सामाग्रीको व्यवस्थापन गरी सुरक्षा अनुभूति दिलाउन स्थायी सुरक्षाको व्यवस्थापनमा जोड दिनुभयो ।

अस्थायी सुरक्षाका कारण उपल्लो डोल्पाका डोल्पोबुद्ध छार्काताङसोङ्ख र शे फोक्सुन्डो गाउँपालिकामा रहेका महत्त्वपूर्ण गुम्बाहरूमा बर्सेनि चोरी हुनुका साथै सीमा नाकामा अपराधी क्रियाकलाप समेत हुने गरेकोमा नागरिक समाज अध्यक्ष बुढाले ध्यानाकर्षण गराउनुभयो ।

जिल्लाको सुरक्षा अवस्था अनुगमन निरीक्षण गर्न नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख ढकालको नेतृत्वमा सशस्त्र प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक प्रदीप पाल गोरखापत्र दैनिक प्रधान सम्पादक शिबकुमार भट्टराई सहितको टोली पर्यटकीय क्षेत्र शे फोक्सुन्डो पुगेर फिर्ता हुने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।