• ७ वैशाख २०८१, शुक्रबार

नेसपा केन्द्रीय समितिमा राजनीतिक प्रस्ताव प्रस्तुत:

बाबुरामको राजनीतिक प्रतिवेदन : ‘साम्यवाद’ राजनीतिक अभीष्ट, राप्रपा रुढीवादी

blog

नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक ।

काठमाडौं, जेठ २५ गते। नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। 

भक्तपुरमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आयाम, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास, अर्थतन्त्रका संरचनात्मक समस्या, राजनीतिक शक्तिहरूको अवस्थाबारे विचार प्रस्तुत छ। 

नेसपाले राजनीतिक शक्तिको अवस्थाबारे २०४६ सालको परिवर्तनदेखि २०६२/०६३ को आन्दोलन र जनक्रान्तिले अघि ल्याएका विचार र मुद्दा बाहक रहेको उल्लेख छ।  केही २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछिका नयाँ परिवेशको विचार र मुद्दाका वाहक दल भर्खर उदाउँदै गरेको ठहर गरिएको छ।

नेसपाले नेपाली कांग्रेस देशको पुरानो पार्टी प्रमुख शक्ति भए पनि समयानुकूल परिवर्तन हुन नसकेकाले खुम्चँदै गएको जनाएको छ। 

साम्यवादी धारको रूपमा नेपालमा २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिरामा रहेको उल्लेख गर्दै यी शक्तिको विचार र व्यवहारमा केही अन्तर रहेको उल्लेख गरिएको छ। 

राजनीतिक प्रस्तावमा भनिएको छ, ‘‘एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन्। विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले ‘मार्क्सवाद–लेनिनवाद’ र केहीले ‘माओवाद-विचार’लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त, ‘जनवादी केन्द्रीयता’लाई सङ्गठनात्मक सिद्धान्त र ‘जनवाद’बाट ‘वैज्ञानिक समाजवाद’ हुँदै ‘साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन्।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शक्ति पुनरुत्थानवादी संवर्द्धनवादी धारको रूपमा औँल्याइएको छ। ‘राजतन्त्र र हिन्दु राज्यको पुन:स्थापनालाई मुख्य मुद्दा बनाउने यो पुनरुत्थानवादी धारको मुख्य शक्ति राप्रपा हो। जुनसुकै समाजमा पनि हुने पश्चगामी र रुढीवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने यो शक्तिबारे खासै चर्चा गरिराख्नु जरुरी हुन्न’, नेसपाको राजनीतिक प्रस्तावमा उल्लेख छ।