• १९ असार २०८१, बुधबार

पेसागत स्थायित्वको माग गर्दै धर्ना

blog

धर्नामा सहभागी विद्यालयका कर्मचारी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ २५ गते । गुल्मीमा सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् । 

सामुदायिक विद्यालयका कर्मचारीले कुनै स्थान, पद मर्यादाक्रम नरहेको भन्दै विभिन्न मागहरू समेत राखी शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । एक वर्षदेखि आन्दोलनरत विद्यालय कर्मचारीलाई नेपाल सरकारले विद्यालय तल्लोस्तरको निकृष्ठ व्यवहार गर्दैआएको नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले आरोप लगाएको छ । 

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीका अध्यक्ष श्यामलाल कुँवरले नेपाल सरकारले ल्याएको आ.व.२०८०–८१ को बजेट वक्तव्य, नीति तथा कार्यक्रमको बुँदा १२७ मा विद्यालयको कर्मचारीको सेवा सुविधा बारेमा उल्लेख भए तापनि बजेट वक्तव्यमा नसमेटिनु विद्यालयको कर्मचारीका लागि दुःखद भएको बताउनुभयो । सरकार आफूहरूका मागप्रति सुनुवाइ नगरेको आरोप धर्नाकर्मीको छ । 

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय उपमहासचिव प्रेमबहादुर खत्री, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सालिकराम पन्थी, जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष श्यामलाल कुँवर र सचिव बालकृष्ण कँडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आन्दोलनलाई बेवास्ता गरी सरकार कार्यान्वयनतर्फ अघि नबढेको बताउनुभयो । 

जिल्लामा विद्यालय कर्मचारीको सङ्ख्या ६४१ रहेको छ । जसमा ५२२ जना कार्यालय सहयोगी, ११९ जना लेखापाल रहेको धर्नामा सहभागीहरूको भनाइ छ ।