• ६ पुस २०८२, आइतबार

ठेउला फैलिएपछि विद्यालय बन्द

blog

राधाकृष्ण डुम्रे 

वालिङ, जेठ २५ गते । ठेउला (चिकन पक्स) को सङ्क्रमण फैलिएको वालिङ नगरपालिका १२ कोखेको विद्यालय बन्द गरिएको छ । सङ्क्रमण समुदायमा फैलन नदिनका लागि एक हप्ताका लागि विद्यालय बन्द गरिएको र भेटघाटमा समेत कडाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ । 

स्थानीय सिर्सेकोट देउराली आधारभूत विद्यालय बन्द गरिएको वडा अध्यक्ष विश्वजंग गुरुङले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रतिनिधिहरू सङ्क्रमण फैलिएको ठाउँमा पुगेका छन् ।चिकित्सक सहितको टोलीले सङ्क्रमणको नमुना परीक्षणका लागी स्वाब तथा रगत सङ्कलन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । 

लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै सङ्ख्यामा देखिएकाले नमुना परीक्षणका लागी काठमाडौं लगिने पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो विवरण अनुसार थप १० जनामा सङ्क्रमण भएको छ यो सँगै सङ्क्रमितको सङ्ख्या ३३ पुगेको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितहरूमध्ये समुदायका ३ जना छन् भने अरू सबै बालबालिका हुन् ।” रोगको महामारी अर्थात् आउटब्रेक भएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीले गाउँलाई नै रेखदेखमा राखेको पाण्डेले बताउनुभयो ।

विद्यार्थीहरूमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो । विगत केही दिनदेखि धेरै विद्यार्थीमा सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय, वालिङ गह्रौँ अस्पतालका स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरी औषधि प्रदान गरेका थिए ।

रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको र गाउँमा नै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।