• १२ मंसिर २०८१, बुधबार

एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग नगर्न सुझाव

blog

कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २४ गते । एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् । 

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको सञ्चारकर्मीमाझ एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारे जनचेतनामूलक कार्यक्रममा बोल्दै मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवम् बालरोग विशेषज्ञ डा. प्रमोद यादवले नेपाल सरकारको स्पष्ट गाइडलाइन हुँदाहुँदै पनि नेपालमा एन्टिबायोटिक औषधिको प्रयोग जथाभावीरुपमा भइरहेको बताउनुभयो ।

आउने दिनमा भयावह अवस्थाको सिर्जना गर्न सक्ने भएकाले यसको प्रयोग गर्दा बिरामीहरूले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले साक्षरता दर पनि निकै कम रहेको मधेश प्रदेशमा जनचेतनाको अभावले पनि यसको प्रयोग बढी भइरहेको भन्दै आमनगरिकलाई यसको बारेमा जानकारी गराउनु पर्ने बताउनुभयो ।

सङ्क्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालले ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्नेगरेको बताउनुभयो । उदाहरणका रूपमा कोभिड —१९ रहेको उहाँको भनाइ छ । विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै यसले आउने दिनमा ठुलै समस्या निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा डा.विवेक श्रेष्ठले एन्टिबायोटिकको प्रयोग गर्दा पनि पूर्णमात्रामा निको हुने किसिमले प्रयोग नगर्ने, बीचमै अर्को एन्टिबायोटिकको प्रयोग गर्ने हाम्रो परिपाटी भएको भन्दै त्यसले थप समस्या निम्त्याइरहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राजकुमार पाण्डे, युएसएडका प्रतिनिधि पत्रकार अर्जुन अधिकारीसहितले धारणा राख्नुभएको थियो ।