काठमाडौं, जेठ २४ गते । राष्ट्रिय सभा बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरूले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरूले भने आलोचना गर्नुभएको छ ।
सांसद जगप्रसाद शर्माले बजेट यथार्थ नजिक भएर आएको, पुँजीगत खर्च वृद्धि गर्नेलगायत छ वटा उद्देश्य रहेको र प्राथमिकता क्रम निर्धारण भएकाले सकारात्मक रहेको बताउनुभयो ।
समस्याको वस्तुनिष्ठ पहिचान गर्दै राजस्व चुहावट नियन्त्रण गर्ने, काठ उत्पादन र निर्यात, जग्गा प्रशासनमा सुधार, वस्तुको आयात र निर्यातमा वृद्धि गर्ने, ठुला दुई छिमेकी देशसँगको सम्बन्ध सुधारलगायत विषयलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले साधारण खर्चको नियन्त्रण गर्न लिइएका नीति महत्त्वपूर्ण रहेको बताउनुभयो ।
बजेट खर्च गर्ने समयसीमा नै निर्धारण गरिएको बताउँदै उहाँले वित्तीय प्रणालीमा सुधार, कानुन, नियम र नियमावलीमा सुधार, बोझिलो रहेका २० वटा सरकारी संस्था खारेजी, बजेट कार्यान्वयनको सुनिश्चितता गरेकाले बजेट महत्त्वपूर्ण रहेको सांसद शर्माको भनाइ छ ।
आर्थिक क्रान्ति र समृद्धिको पाँचवटा आधार तयार पार्न खोजेको जानकारी दिनुहुँदै सांसद शर्माले बजेट कार्यान्वयनलाई मुलुकको सफलतासँग जोडेको, उत्पादन साथमा अनुदान हातमा जस्ता नारासमेत अगाडि सारेको, धरातल टेकेका कारण बजेट मुलुकको यथार्थसङ्गत रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संसद् विकास कोषका सम्बन्धमा गरिएको व्यवस्था गलत रहेको र त्यसले सांसदलाई वडा अध्यक्षको हैसियतमा पुर्याएकामा गुनासो गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा बजेट विनियोजन नभएका सांसद शर्माले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद इन्दु कडरियाले आगामी आर्थिक वर्षको बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गर्नुभयो । उहाँले स्रोत बिनाको बजेटले उद्देश्य प्राप्त गर्न नसक्ने, अस्वाभाविक ठुलो बजेटले जनअपेक्षा पूरा गर्न नसक्ने धारणा राख्नुभयो ।
सांसद रमेशजङ्ग रायमाझीले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, राजस्व चुहावटमा लाग्न अनुरोध गर्दै बजेटलाई राम्रो निबन्ध भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्नुभयो । उहाँले अर्थमन्त्रीले मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएकामा स्वागत गर्नुपर्ने र सकारात्मक भनेर टिप्पणी गर्नुपर्नेमा केवल विरोधका लागि विरोध गर्ने प्रवृत्ति पूर्णत गलत भएको बताउनुभयो ।
सांसद डा. विमला राई पौडेलले चालु आवमा राजस्व सङ्कलनमा कमी आएको, पुँजीगत खर्चको अवस्था उस्तै रहेको, वैदेशिक अनुदानको अवस्था कमजोर रहेको, निर्यातसमेत घटेको बताउँदै मुलुक आर्थिक मन्दीको दिशामा केन्द्रित रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले समयलाई समात्न नसकेको भन्दै यसले केही गर्न नसक्ने आरोप लगाउनुभयो ।
सांसद रामचन्द्र राईले आगामी आवको बजेटले दिगो विकासको गन्तव्य पहिल्याउन नसकेको, आर्थिक सङ्कट समाधानको योजना नभएको, आकार र क्षेत्र ठुलो भएकाले यथार्थपरक नभएको आरोप लगाउनुभयो ।
सांसद प्रकाश पन्थले सार्वजनिक खर्चलाई न्यूनीकरण गर्ने, पुँजीगत खर्च बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासनको अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
बजेट कार्यान्वयन प्रक्रिया असारभित्रै सुरु गर्ने विषय बजेटमा प्रभावकारी व्यवस्था गरिएको उल्लेख गर्दै सांसदले सङ्घीयता कार्यान्वयन गर्नेतर्फ बजेट चुकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदयबहादुर बोहोराले बजेटले मुलुक समस्यामा रहेको स्पष्ट पारेकाले त्यसलाई समाधान गर्न लाग्नुपर्ने र दृष्टिकोणमा रहेको कमीकमजोरी सच्याउनुपर्ने बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
सांसद मोहम्मद खालिदले बजेटले समावेशी र समानुपातिक प्रणालीका विषयमा चुकेको बताउनुभयो । उहाँले दुग्ध विकास बोर्ड खारेज गर्न नहुने उल्लेख गर्नुभयो । सांसद शेखरकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटले समयानुकूल विषयलाई समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै केही मानवीय त्रुटि देखिएकाले त्यसलाई सच्याउन आग्रह गर्नुभयो । सांसद सिंहले बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । रासस