• ३० वैशाख २०८१, आइतबार

अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । फाइल तस्बिर

काठमाडौं, जेठ २४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालको २० औँ स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवर्द्धन गरिनुपर्नेमा सरकार दृढ रहेको बताउनुभएको हो ।

मन्त्री रिजालले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरू प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री रिजालले एक घर एक व्यवसायको सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासङ्घको कार्यप्रति सराहना पनि गर्नुभयो ।

‘‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वयात्मक कार्य हुनु जरुरी हुन्छ । निजी क्षेत्रमा क्रियाशील विभिन्न सघ संस्थाहरू जस्तै साना तथा मझौला व्यवसायी महासङ्घको पनि उद्योग व्यवसाय तथा आर्थिक  विकासको क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको छ ।,’’ मन्त्री रिजालले भन्नुभयो, ‘‘महासङ्घले एक घर एक व्यवसायको सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेको छ । यो अत्यन्तै सराहनीय कार्य हो । नेपालमा साना तथा मझौला व्यवसायीको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार दक्षता अभिवृद्धि, स्वदेशी वस्तुहरूको प्रवर्द्धन व्यवसायीक वातावरण निर्माण, बजारीकरण तथा अन्तर्राष्ट्रिय बजार सम्मको पहुँच स्थापना गर्ने लगायत विषयमा मन्त्रालयले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नेमा आश्वस्त दिलाउँछु ।’’

कार्यक्रममा व्यवसायीहरूले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए । महासंघका सहअध्यक्ष इनु पौडेलले आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनका लागि सरकारले एक घर एक व्यवसायको अभियानलाई जिम्मेवार भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न व्यवसायीक अग्रगामी नेतृत्व र दीर्घकालीन सोचको आवश्यकता रहेको उल्लेख गर्नुभयो । व्यवसायको समुन्नत प्रवर्द्धनका लागि एसएमई स्कुल, एसएमई उत्पादन सङ्कलन केन्द्र, एसएमई ग्राम र विभिन्न हब सेन्टर लगायतको स्थापना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले आर्थिक मन्दीको मारमा साना तथा मझौला व्यवसाय पनि परेकाले मन्दीको प्रभाव न्यूनीकरणका लागि सरकार व्यवसाय र व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । साना तथा मझौला व्यवसायमार्फत हरेक घर धुरीमा एक–एक जना व्यवसायी निर्माण गर्ने प्रतिबद्धता महासङ्घले लिएको भए पनि नीतिगत कठिनाइ, कच्चा पदार्थको आपूर्ति, व्यवसायीक प्रशिक्षणको कमी तथा बजारीकरणको अभावका कारण अपेक्षित सफलता प्राप्त हुन नसकेको बताउनुभयो ।

महासङ्घका सहअध्यक्ष पौडेलले भन्नुभयो, ‘‘आर्थिक मन्दीको मारमा साना तथा मझौला व्यवसाय पनि परेका छन् यसतर्फ सरकारले सोच्नुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न अग्रगामी नेतृत्व र दीर्घकालीन सोचको आवश्यकता छ । प्रत्येक उपभोक्ताको घरको अवस्था पहिचान गरी घर–घरमा रहेको सीप, क्षमता, अनुभव र आवश्यकता अनुसार वस्तु वा सेवा उत्पादन गर्ने एसएमई स्कुल, एसएमई उत्पादन सङ्कलन केन्द्र, एसएमई ग्राम र विभिन्न हब सेन्टर लगायतको स्थापना गरिनुपर्छ । नेपाल आउँदो पाँच वर्ष भित्रमा आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनका लागि एक घर एक व्यवसायको अभियानलाई जिम्मेवार भई कार्यान्वयन गर्नुपर्छ ।’’

नेपाल हस्तकला महासङ्घका पूर्वअध्यक्ष एवम् ललितकला प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले साना तथा मझौला व्यवसायीका उत्पादन बिक्रीका लागि छुट्टै औद्योगिक ग्राम बनाउन सरकारसँग माग गर्नुभयो । व्यवसायीले कच्चा पदार्थ ल्याउनेदेखि आवश्यक जनशक्ति पनि आफैँ खडा गर्ने गरेको उल्लेख गर्दै व्यवसायको विकास र प्रवर्द्धनका लागि सरकारले प्रशिक्षण, सीप, बजारीकरणसँगै सहज कच्चा पदार्थ आयातको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी आफूलाई चाहिएको कच्चा पदार्थ आफैँ ल्याउँछौ । जनशक्ति पनि आफैँ खडा खडा गर्छौँ । सरकारले केही पनि गरेको छैन । साँच्चै सरकार साना तथा मझौला व्यवसायीको विकास गर्न चाहन्छ भने उत्पादन बिक्रीका लागि छुट्टै औद्योगिक ग्राम बनाउनु पर्छ ।’’

कार्यक्रममा साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि आ–आफ्नो स्थानबाट उत्कृष्ट योगदान पुर्‍याएका समाजसेवी, व्यवसायी तथा पत्रकारहरूलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।