लीलाधर वली
घोराही, चैत १८ गते। दाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका छन्। जिल्लाका १० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।
चैत १९ गते बिहीबारदेखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार नियमित साधारणतर्फ ११ हजार ४३८ जना, प्राविधिक धारतर्फ ३३३ जना, ग्रेडवृद्धि साधारणतर्फ २ हजार १२६ जना र ग्रेडवृद्धि प्राविधिकतर्फ १०१ जना विद्यार्थी सहभागी हुँदैछन्।
कुल सहभागीमध्ये ६ हजार ६१८ जना छात्र र ७ हजार ३८० जना छात्रा रहेका छन्।
यसैगरी, सामुदायिक विद्यालयबाट ८ हजार ४४६ जना, संस्थागत विद्यालयबाट ५ हजार ४८८ जना तथा खुलातर्फ ६४ जना विद्यार्थी सहभागी हुनेछन्। पाँच जना दृष्टिविहीन विद्यार्थी गुरुजजुर नमुना मावि, रक्षाचौरबाट तथा ११ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थी अश्वारा मावि, तुलसीपुरबाट परीक्षामा सहभागी हुँदैछन्।
परीक्षाका लागि घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा १३, लमही नगरपालिका र राप्ती गाउँपालिकामा ३-३, दंगीशरण र बबई गाउँपालिकामा २-२ तथा बङ्गलाचुली, शान्तिनगर र राजपुर गाउँपालिकामा १-१ वटा परीक्षा केन्द्र तोकिएको छ।
विद्यालय बढे, विद्यार्थी घटे
जिल्लामा एसइईमा सहभागी हुने विद्यालयको सङ्ख्या बढे पनि विद्यार्थी सङ्ख्या र परीक्षा केन्द्र भने घटेका छन्। गत वर्षको तुलनामा २५६ जना विद्यार्थी घटेका छन् भने ३ वटा परीक्षा केन्द्र कटौती गरिएको छ। यद्यपि, परीक्षामा सहभागी हुने विद्यालयको सङ्ख्या भने ५ वटा बढेको छ।
गत वर्ष ११५ सामुदायिक र १३९ संस्थागत गरी २५४ विद्यालयका १४ हजार २५६ विद्यार्थीका लागि ४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। यस वर्ष १३ हजार ९९८ विद्यार्थीका लागि ४४ केन्द्र कायम गरिएको छ।
विद्यार्थी सङ्ख्या घटेसँगै माध्यमिक विद्यालय उचानिम्बु (लमही), मावि भ्युडहर सुनपुर (तुलसीपुर) र वीरेन्द्र मावि खिलतपुर (शान्तिनगर) का परीक्षा केन्द्र हटाइएको सूचना अधिकारी बञ्जाडेले जानकारी दिनुभयो।
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको केन्द्र माध्यमिक विद्यालय रझेना, घोराही मा ३१६ जना रहेका छन् भने सबैभन्दा कम विद्यार्थी भएको केन्द्र वीपी कोइराला मावि, बयाले सिमसुन्दरपुर मा २१९ जना विद्यार्थीले परीक्षा दिनेछन्।
सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यार्थी पद्मोदय पब्लिक नमुना मावि, घोराही बाट ३१६ जना छन् भने संस्थागततर्फ गोर्खा इन्टरनेसनल स्कुल, घोराही बाट २१४ जना विद्यार्थी सहभागी हुँदैछन्।
सबैभन्दा कम विद्यार्थी सामुदायिकतर्फ मदरसा दारुल अलसलफिया, घोराही र माता पवित्रादेवी सांवेद, शुक्रबार बाट ४-४ जना छन्। संस्थागततर्फ स्ट्रिम एजुकेसन, लमही र भ्याली स्टार बोर्डिङ, तुलसीपुर बाट पनि ४-४ जना विद्यार्थी सहभागी हुने शिक्षा समन्वय इकाइ दाङले जनाएको छ।
परीक्षाको तयारी पूरा
एसइई परीक्षाका लागि दाङमा सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी व्यवस्थापनसँगै आवश्यक तालिमसमेत सम्पन्न गरिएको सूचना अधिकारी बञ्जाडेले जानकारी दिनुभयो।
उहाँका अनुसार ४४ जना केन्द्राध्यक्ष, ८ जना सहायक केन्द्राध्यक्ष, ७०२ जना निरीक्षक, ८ जना सहायक कर्मचारी तथा सहयोगीसहित १ हजार १० जना कर्मचारी परिचालन गरिनेछ।
सुरक्षाका लागि प्रत्येक परीक्षा केन्द्रमा आवश्यकता अनुसार १० देखि १५ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने भएको छ।