• १४ मंसिर २०८१, शुक्रबार

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

blog

फाइल तस्बिर ।

सिन्धुपाल्चोक, जेठ  २४ गते । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने  भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।”

उहाँले वर्षायाममा यहाँको नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो । महासेनानी  ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिनुभयो । 

मेलम्ची पारिको वडा नं. ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयास पछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । नेपाली सेनाको इन्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी  बुढाथोकीको नेतृत्वमा आएको टोलीले  अध्ययन सर्वेक्षण गरेको हो । ०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरूले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।  रासस