शान्ता अधिकारी
चितवन, जेठ २३ गते । केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै यो साता चितवन जिल्लाका विद्यालयहरू पनि बन्द छन् । आम जनमानस गर्मीले छटपटाइरहेको यो बेला इच्छाकामना –६ जलविरेमा रहेको लामो झरनामा स्थानीयको भिडभाड लागेको छ ।
केटाकेटी, युवादेखि वृद्धाहरू समेत लामो झरना पुग्नेगरेका छन् । यतिवेला गर्मी छल्न लामो झरना पुग्नेहरूको भीड देख्न सकिन्छ । अभिभावकसँगै लामो झरनामा भेटिनु भएकी आयुषा खत्री गर्मी छल्न र झरना हेर्न लामो झरना आएको बताउनुभयो ।
चितवनको भरतपुर -९ एसओएस वालग्रामको कक्षा ८ मा पढ्दै गर्नुभएकी खत्रीसँगै उहाँका सहपाठी १५ जना अभिभावकसहित लामो झरना पुग्नुभएको छ । मुग्लिन–नारायणगढ सडक खण्डबाट नजिकै रहेको सो झरनामा यो सडक क्षेत्रमा आफ्नै गाडीमा यात्रारत अधिकांश यात्रु यतिवेला लामो झरनाका पर्यटक बन्ने गर्नुभएको छ ।
त्यस्तै, यात्राको क्रममा मुग्लिनतर्फबाट नारायणगढ आउँदै गर्नुभएकी भरतपुर –४ त्रिचोककी सङ्गीता अधिकारीलाई लामो झरनाले अत्यधिक शीतल प्रदान गरेको छ । उहाँले साथीहरूको साथ लामो झरना पुगेर पौडी खेलेर आनन्द लिएको बताउनुभयो ।
पटक पटक लामो झरना आइसक्नुभएकी अधिकारीलाई मौका मिल्नासाथ लामो झरना छोड्नै मन नलागेको बताउनुभयो । त्यसो त अपराह्न आफ्नै गाडीमा झरनाको प्रवेशद्वारमा भेटिनु भएका राजु त्रिपाठी फुर्सद मिल्नासाथ स्वीमिङको लागि लामो झरना आउनेगरेको बताउनुभयो । स्वीमिङ पुलहरूभन्दा प्राकृतिक स्थानको स्वीमिङको आनन्द नै फरक हुने उहाँको बुझाइ छ ।
गाउँपालिकाकी पूर्व प्रमुख गीता गुरुङ आफ्नो पालोमा उक्त पर्यटकीय क्षेत्रमा पुग्न पक्की सडक निर्माण गरिएको बताउनुभयो । उहाँकै पालोमा गाउँपालिकाले सो क्षेत्रलाई आफ्नो पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेर प्रतिव्यक्ति प्रवेश शुल्कबापत ५० रुपियाँ लिँदैआएको छ ।
गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगमा उक्त झरना क्षेत्रमा शौचालयको व्यवस्था र कपडा फेर्नका लागि चेञ्जिङ रुम समेत निर्माण गरिएका छन् । तर पछिल्ला दिनमा पर्यटक आगमन वृद्धिले कपडा फेर्नका लागि तयार पारिएको स्थान अपर्याप्त रहेको त्यहाँ पुग्नेको गुनासो छ ।
मुग्लिन – नारायणगढ सडक खण्डको मुग्लिन बजारदेखि १० किलोमिटर नारायणगढतर्फ रहेको उक्त लामो झरना जलवीरे पुल नजिकै सडक क्षेत्रबाट आठ सय ४० मिटर दूरीमा रहेको छ । ६० मिटरभन्दा अग्लो स्थानबाट खसेको यो झरना चितवन जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा सूचिकृत छ ।
हिउँदमा समेत वरपर क्षेत्रसम्म पानीको अदृश्य चिस्यान महसुस हुन्छ भने गर्मीको बखत उक्त झरना क्षेत्र पुगेपछि पौडी नै खेलिरहनु पर्ने अवस्था रहन्न । झरनाक्षेत्र पुरै शीतल छहारीजस्तै छ ।
नारायणगढ–मुग्लिन सडकबाट १५ मिनेट पैदल उकालो चढेर पुग्न सकिने उक्त झरना क्षेत्रसम्म पुग्न साँघुरो ढलान गरिएको सडक निर्माण गरिएको छ । ठुला बसहरू बाहेकका सवारी साधनमै चढेर झरना पुग्न सकिने भए पनि पछिल्ला दिनमा पर्यटकको चाप थेग्न झरना क्षेत्रमा पार्किङ अव्यवस्थित देखिएको आगन्तुकको बुझाइ छ ।
साँघुरो सडकमा यातायातका साधन पार्किङले अस्तव्यस्तता निम्त्याएको छ । तर पछिल्लो समय जलवीरे देवी मन्दिर नजिकैबाट पुल बनेपछि गाडी गुड्न छाडेको झण्डै तीनसय मिटर घुम्ती सडकक्षेत्र झरनामा जाने गाडीहरूको पार्किङ क्षेत्रको रूपमा विकास भएको छ ।