• १६ चैत २०८०, शुक्रबार

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, जेठ २२ गते । प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले नियमापत्ति गरेका थिए ।

खनालले भन्नुभएको थियो, “प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैँले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आएँ ।” त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गर्नुभएको थियो । केही बेरको अवरोधपछि सभामुख घिमिरेले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो ।  त्यसपछि सदन फेरि सञ्चालन भएको छ । रासस