• ७ वैशाख २०८१, शुक्रबार

गर्मी बढेपछि विद्यालय बन्द

blog

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ २१ गते । अत्यधिक गर्मी बढेपछि आइतबारदेखि नेपालगञ्ज उपमहानगर र जानकी गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् । तातो हावा 'लू' र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगञ्जमा तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ भने जानकीमा ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । 

खजुरा गाउँपालिकाले भने जेठ १७ देखि १९ सम्म विद्यालय बन्द गरेको थियो । तर गर्मी उस्तै रहेकोले थप बन्द गर्ने बारे छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अत्यधिक गर्मीका कारण बालबालिकाहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि आइतबारदेखि तीन दिनको लागि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, "विद्यालयमै बालबालिकाहरू बिरामी पर्न थालेको जानकारी आएको छ । वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको शिक्षकहरू बताउँछन् ।" 

प्रमुख विष्टले मौसमको अवस्था हेरेर बिदा लम्बिन सक्ने पनि बताउनुभएको छ । यस्तै, जानकी गाउँपालिकाले पनि आइतबारदेखि तीन दिन सबै विद्यालयमा बिदा गरेको छ। 

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गर्मी बढ्ने क्रम नरोकिएकाले जेठ २६ गतेसम्म बिदा दिइएको जानकारी दिनुभयो । उहाँले पनि मौसमको अवस्था हेरेर बिदा लम्बिन सक्ने बताउनुभएको छ ।  

गर्मी बढ्दै गएकोले जिल्लाका अन्य पालिकाहरूले पनि बिदा दिने तयारी गरेका छन् । बालबालिकाहरूको स्वास्थ्यलाई ध्यान दिएर केहि दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकहरूले माग गरेका छन् । 

चिकित्सकहरूले गर्मीसँगै तातो हावा र लू चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।