• १० मंसिर २०८१, सोमबार

पत्नी वियोगको पीडामा...

blog

जीवन सहयात्रा हो । जीवन रथका दुई पाङ्ग्राका रूपमा पतिपत्नीको सम्बन्ध रहेको हुन्छ । वृद्धावस्थामा त झन् आफ्नी सहयात्री उर्फ जीवनसङ्गिनी गुमाउँदाको पीडा सामान्य हुँदैन । यही पीडालाई भुलाउन पत्नीको स्मृतिमा साहित्य सिर्जनादेखि विभिन्न कार्य गरिएका हुन्छन् । यस्ता कर्मको चर्चा नगन्य मात्रामा पाइन्छ । विह्वल बनेका प्रेमीका कथा भने धेरै पढ्न पाउँछौँ ।

सत्ययुगमा सतीदेवीको मृत्युले असामान्य अवस्थामा पुगेका शिवले मृत देह बोकेर विश्व भ्रमण गरे । पुराणको यो कथामा त्यही बेलाको परिवेश पाइन्छ । सतीदेवीलाई बोकेर शिवले विश्व भ्रमण गर्दा सतीदेवीको अङ्ग खसेको र त्यहाँ विभिन्न पीठको उत्पत्ति भएको प्रसङ्ग पनि जोडिएको छ । अहिलेको समयमा भने कसैले आफ्नी पत्नीको शोक मत्थर पार्न साहित्य सिर्जना लेखी विभिन्न कार्य गरेर गएका छन् ।  भारतका मध्यकालीन मुगल सम्राट् शाहजहाँले आफ्नी पत्नी मुमताजको वियोगमा सरयु नदीको किनारमा ताजमहल बनाए । यसलाई पत्नीप्रेमको निशानी मानिन्छ । आफ्नी दिवङ्गत पत्नी मुमताजको शवसमेत त्यहीँ राखेको बताइन्छ । यो कथा पत्नी प्रेमको जीवन्त कथाका रूपमा रहेको छ । यही प्रसङ्गलाई लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाहजहाँको इच्छा रचना गर्नुभएको छ र कवितामा पत्नी वियोगको पीडा यसरी अभिव्यक्त भएको छ ः

यमुना जलमा बज्दछ मुरली

जलमा बुलबुल रुन्छन् पिलपिल 

रुन्छन् कलकल 

यो तटको वन छायाछवियुक्त

यौवन, यौवन 

दिवानिशाको छापा अङ्कित,

वियोग मिलनको क्रीडाभूमि ,

वृन्दावन ।

यसरी पत्नी वियोगको पीडा भुलाउन बनाइएको ताजमहललाई वियोगको व्रmीडाभूमिका रूपमा उल्लेख गरिएको छ । पत्नी वियोगमा गरिएको जीवन्त कर्मका रूपमा यसलाई लिइन्छ । 

त्यस्तै मल्लकालीन राजा प्रताप मल्लले पुत्र वियोगमा हर्दम तड्पिरहेकी रानीलाई मन बहलाउन र खुसी पार्न बनाइएको रानीपोखरीको ऐतिहासिकता पनि पत्नी प्रेमसँग जोडिएको पाइन्छ । मृत व्यक्तिको नाममा निकालिने जात्रा गाईजात्राको प्रचलन त्यहीँबाट सुरु भएको हो । राजा–महाराजाहरूको विभिन्न प्रसङ्गका साथै तिनका विभिन्न कर्मको चर्चा इतिहासले गरेकै छ । 

त्यस्तै राणाकालीन समयमा आफ्नी पत्नी उर्फ प्रेमिकाको स्मृतिमा खड्ग शमशेरले कालीगण्डकी नदीको किनारमा निर्माण गरेको महल र रानीकै नामबाट सम्बोधित रानीमहल प्रेमको ऐतिहासिक निशानीका रूपमा रहेको छ । यसरी पत्नी वियोग तथा प्रेमिकाको अमूल्य प्रेमको स्मरण गर्न विभिन्न कालखण्डमा गरिएका विभिन्न कर्मले उनीहरूको प्रेमलाई जीवन्त राखेको छ । 

सरल जीवनयापन गर्ने स्वावलम्बी मानिसका मृत्युले परिवार, आफन्त, इष्टमित्र र साथीभाइ भावविह्वल हुनु स्वाभाविक हो । मृतकका स्मरणमा कविता/काव्य लेखिन्छन्, स्मृति पुस्तक छापिन्छन्, चित्र कोरिन्छन्, पाटी पौवा निर्माण गरिन्छन् र चौतारा चिनिन्छन् । कुनै पुस्तकालय वा गुठी तथा प्रतिष्ठान खोलिन्छ । मृत्युपछि पत्नीको नाममा खोलिएको अनगन्ती संस्था छन् ।

आफ्नी पत्नी गौरीको असामयिक निधनमा भावविह्वल भएर राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको शोक काव्य गौरी पनि पत्नी वियोगकै कारण जन्मिएको हो । यस काव्यले यस्तै प्रकृतिका मृत्युको सामना गरेका आफन्तलाई मलमको कार्य गरेको छ भने शोक अभिव्यक्तिको प्रयत्न गर्नेका लागि प्रेरणा स्रोत बनेको छ । यसै काव्यका प्रेरणाले पत्नी वियोगका पीडामा अन्य धेरै रचना सिर्जना भएका छन् ।

मृत्युले सिर्जना गराएको शोक अभिव्यक्ति पद्यमा मात्र नभएर संसारका विभिन्न भाषामा गद्यमा पनि निकै लेखिएका छन् । यस्तै मर्मस्पर्शी शोक अभिव्यक्ति पत्रकार देवेन्द्र भट्टराईले आफ्नी आमाको मृत्युमा रचना गर्नुभएको ‘आमा जानु भो’ शीर्षक लेखमा पाइन्छ । यस्ता सिर्जनामा मृतकको स्मरण, लेखकको पीडा मात्र नभएर तत्कालीन समाजमा मौलाउँदै गरेको विकृति र तिनले सिर्जना गरेको वितृष्णाको स्वरूपसमेत पाइन्छ । फलस्वरूप यस प्रकारका रचनाले एउटा कालखण्डको मृत्यु संस्कृतिको प्रतिनिधित्व गर्दछ भन्न सकिन्छ ।  पछिल्लो समयमा पनि पत्नी वियोगमा विभिन्न सामाजिक संस्था खोली त्यसबाट सामाजिक कार्य गर्नेहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ भने स्कुल तथा उच्च शिक्षालय पनि खोलिएका छन् । राजा महेन्द्रले रानी इन्द्रराज्यलक्ष्मीको निधन भएपछि उनको स्मृतिमा इन्द्रराज्यलक्ष्मी प्रसूति गृह तथा इन्द्रराज्यलक्ष्मी पुरस्कार स्थापना गरेका छन् । 

तोरणकुमारी कला संस्कृति पुरस्कार तोरणकुमारी राणाको स्मृतिमा झपटबहादुर राणाले स्थापना गर्नुभएको हो । कौशिलादेवी स्मारक एलर्जी अनुसन्धान पुरस्कार आफ्नी पत्नी कौशिलादेवीको मृत्युपश्चात् उहाँका पति डा. दुर्गादत्त जोशीले २०४९ मा स्थापना गर्नुभएको हो । देवकुमारी थापाको स्मृतिमा बबरसिंह देवकुमारी थापा सेवा गुठी स्थापना भएको छ । शङ्कर गिरीले वानिरा गिरि फाउन्डेसन स्थापना गर्नुभएको छ । 

यी संस्थाले सामाजिक क्षेत्रमा काम गरिरहेका छन् । भारती खरेल स्मृति प्रतिष्ठान पनि उहाँको पति चन्द्रिकानन्द खरेलले खोल्नुभएको हो । पासाङल्हामु पर्वतीय प्रतिष्ठान पति शोनाम शेर्पाले खोल्नुभएको हो । बाबा ओमवीरसिंह बस्नेतले उहाँकी पत्नीको मृत्युपछि श्रीमतीका नाममा पुरस्कार स्थापना गर्नुभएको छ । धुस्वाँ सायमीले गंकी वसुन्धरा पुरस्कार पनि पत्नीकै नाममा राखिएको पुरस्कार हो । यसरी आफ्नी पत्नीको शोक र स्मृतिमा सामाजिक संस्था खोली समाजसेवाका क्षेत्रमा कार्य गर्ने धेरै पाउन सक्छौँ ।   

Author

बद्रीप्रसाद ढकाल