• ८ वैशाख २०८१, शनिबार

मानवबेचबिखन रोक्न नाकामा थप कडाइ

blog

क्रस बोर्डर अन्तरक्रियामा सहभागि दुवै देशका सरोकारवालाहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, जेठ १९ गते ।
 यहाँस्थित नेपाल भारत जमुनाहा नाकाबाट मानव बेचबिखन बढ्दै गएको पाइएकाले सो नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिइएको छ ।

नेपालगञ्जमा आयोजना गरिएको नेपाल–भारतका सुरक्षा अधिकारी र अन्य विभिन्न सरोकारवाला संघसंस्थाबीचको क्रस बोर्डर अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले जघन्य अपराध मानिएको मानवबेचबिखन रोक्न सम्बन्धित सबैबीच एकता, सहकार्य र समन्वयमा जोड दिनुभयो ।

उहाँले मानवअधिकार बहाल गर्नका लागि मानवबेचबिखन नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवबेचबिखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत विभिन्न सङ्घसंस्थाले अझै गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामूलक कार्यक्रममा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

भारत श्रावस्ती जिल्लाका बालकल्याण परिषद्का अध्यक्ष विश्राम पासवानले मानवबेचबिखन रोक्न नाकामा थप कडाइका साथै चेतनामूलक कार्यक्रममा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अन्तरक्रियामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्मा, खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धनिराम ओली, जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दामु पुन, भारत श्रावस्तीका बाल कल्याण परिषद्का प्रबन्धक ओमकार नाथ चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक महेश्वरी विष्ट, इलाका प्रहरी कार्यालय खजुराका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासे, प्लान इन्टरनेसनल भारतका कार्यक्रम प्रबन्धक उमेश गुप्ता, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक सन्तोष पुलामी, सिविन नेपालका प्रबन्धक सिद्धराज पनेरु, माइती नेपालका नेपालगञ्ज प्रमुख केशव कोइराला, कोहलपुर नगरपालिकाका सामाजिक शाखा संयोजक ईश्वरीप्रसाद विकले मानवबेचविखन नियन्त्रणका लागि गर्नु पर्ने काम र हालको अवस्थाबारे आआफ्नो धारणा राख्नु भएको थियो ।

सोही अवसरमा देहात संस्था भारतका हसन फिरोज, मोहम्मद युसुफ, मोहम्मद मुजम्मिल, खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महावीर क्षेत्री, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्धिकी, परियोजना संयोजक विनीता आरसी लगायतले पनि मानवबेचविखन रोक्न दुवै देशका सरकारी निकाय र गैर सरकारी निकायले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

क्रस बोर्डर अन्तरक्रिया प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले आयोजना गरेको थियो ।