• १६ चैत २०८०, शुक्रबार

गणतन्त्र दिवस विशेष कुराकानी

समृद्धिका लागि समानता अपरिहार्य छ : डा. बिन्दा पाण्डे

blog

काठमाडौं, जेठ १५ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले समृद्धिका लागि समानता अपरिहार्य रहेको बताउनुभएको छ । १६ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले समाज समृद्ध बनाउन हरेक ठाउँमा सन्तुलित सहभागिता चाहिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जसरी राजनीतिक दलमा एक तिहाइ महिला नभईकन दल दर्ता नै हुँदैन, त्यसरी नै अन्य संरचनामा पनि व्यवस्था गर्नुपर्छ । संसदमा एकतिहाइ महिला नभई नहुने ठाउँमा बाध्यताले गर्दा सहभागिता गर्ने खालको स्थिति छ । समाजलाई समृद्ध बनाउने हो भने सन्तुलित सहभागिता हरेक ठाउँमा चाहिन्छ ।” 

संसदमा एकतिहाइ महिला नभई नहुने ठाउँमा बाध्यताले गर्दा सहभागिता गर्ने खालको स्थिति छ ।

नेतृत्वतहदेखि समावेशी सहभागिता आवश्यक रहेको तर पितृसत्तात्मक सोचाई यसको बाधक बनेको उहाँको भनाइ छ । गणतन्त्रको १५ वर्षे उपलब्धिको सन्दर्भमा उहाँले २०४६ सालपछि प्रजा जनता भएको, २०६२–६३ र गणतन्त्र स्थापनापछि लोकतान्त्रिक गणतन्त्रको समान नागरिक भएको उहाँको भनाइ छ । 

“नागरिकको मात्रै कुरा हुँदैन । अधिकार र कर्तव्य हाम्रो बराबर हुन्छ । घरपरिवारदेखि समाज र राष्ट्रप्रति कर्तव्य छ भन्ने कुरा बुझ्नु पर्छ र बुझाउनुपर्नेछ” उहाँले भन्नुभयो । एउटा लैङ्गिक समुदायले विभिन्न ठाउँमा नेतृत्व गर्ने प्रचलन रहेकोमा अहिले विविधताको स्वीकार्यतासहितको एकता महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिजो सिंहदरबारमा नै के योजना बन्छ भनेर सोच्नुपर्ने खालको स्थिति थियो, अब त्यो कुर्नुपर्ने होइन, हामीले हाम्रै पालिकामा हाम्रा समस्यालाई हाम्रै जनप्रतिनिधिले सुन्नुपर्छ भन्ने नागरिकको त्यो खालको चेतना, गतिशीलता र सक्रियता बढेको छ, यसलाई गणतन्त्रको सबैभन्दा ठुलो उपलब्धिको रूपमा लिनुपर्छ ।”

सांस्कृतिक रूपान्तरण आवश्यक 

उहाँले राजनीतिक परिवर्तनसँगै अहिले सांस्कृतिक, व्यवहारिक रूपान्तरण हुने प्रक्रिया चलिरहेको बताउनुभयो । “राजनीतिक प्रणालीअनुसारको व्यवहार गर्नुपर्छ भनेर सबैभन्दा पहिला गणतन्त्रअनुसार सोचमा परिवर्तन गर्नुपर्छ । जे कुरा त्यो सोचमा छ, त्यही कुरा बोलीमा, व्यवहारमा मर्यादित हुनुपर्छ । हामी शालीन हुनुपर्छ । हामी सभ्य हिसाबले अभिव्यक्ति राख्नुपर्छ” उहाँले भन्नुभयो । 

राजनीतिक प्रणालीअनुसारको व्यवहार गर्नुपर्छ भनेर सबैभन्दा पहिला गणतन्त्रअनुसार सोचमा परिवर्तन गर्नुपर्छ । 

जति माथिल्लो तहको नेतृत्व हुन्छ, त्यति नै शालीन, मर्यादित व्यक्तित्व र उसको बोली र व्यवहारमा सामन्जस्यता छ कि छैन भनेर आजको नागरिकले माग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नागरिकको क्षमता फरक लिङ्ग वा समुदायबाट नभई उसको व्यक्तित्व, बौद्धिकता, मानसिकताबाट दृष्टिगत गर्नुपर्ने बताउनुभयो । यसो गर्न सके अहिलेको राजनीतिक प्रणालीले अपेक्षा गरेको दिशामा धेरै काम गर्न सकिने उहाँको भनाइ छ ।

    

तस्बिर तथा भिडियो : मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।