इराकमाथि सैन्य कारबाही गर्न हुँदैन भनी अरब क्षेत्र मात्र होइन सारा विश्व समुदायले आवाज उठाएको थियो । अमेरिका र बेलायतमासमेत सैन्य कारबाहीको विरोधमा ठूला प्रदर्शन भएका थिए । संयुक्त राष्ट्रसङ्घले समेत सैन्य कारबाही गर्न अनुमति दिएको थिएन तर अमेरिकाका राष्ट्रपति बुसले सैन्य कारबाहीको घोषणा गरे र उनलाई साथ दिए बेलायतका प्रधानमन्त्री ब्लेयरले ।
सन् २००३ मार्च २० मा अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका सैनिकले इराकमा आक्रमण सुरु गरेका थिए । दुई महिना अमेरिकी नेतृत्वको सैन्य शक्ति र इराकी सेनाबीच युद्ध भयो तर इराकी सेनाले हार स्वीकार गरेसँगै राष्ट्रपति सद्दाम हुसेन सत्ताच्युत भए । इराकसँग आमविनाशकारी हतियार रहेको र इराक विश्व शान्तिका लागि खतरा रहेको अमेरिकाको दाबी थियो ।
यसअघि सन् १९९०–९१ को खाडी युद्धका बेला अमेरिकाले विभिन्न राष्ट्र सम्मिलित गठबन्धन सैन्य शक्तिको नेतृत्व गरी इराकी सैनिकलाई कुवेतबाट फिर्ता हुन बाध्य पारेको थियो ।
त्यसकै केही समयपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले ‘प्रस्ताव ६८७’ पारित गर्दै इराकलाई आफ्ना सबै आमविनाशकारी परमाणु, जैविक र रासायनिक हतियार तथा लामो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट गर्न निर्देशन दियो । सन् १९९८ मा इराकले अस्त्र निगरानी गर्ने राष्ट्रसङ्घको निकायसँग सहकार्य भङ्ग गरेको थियो । त्यसको प्रत्युत्तर दिन अमेरिका र बेलायतले हवाई आक्रमण गरे ।
सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको न्युयोर्क र वासिङ्टनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जर्ज बुस प्रशासनले इराकमाथि आक्रमण गर्ने योजना बनाउन सुरु गरेको थियो । बुसले अमविनाशका हतियार उत्पादन र भण्डारण गर्ने कार्य इराकले जारी राखेको दाबी गरेका थिए । उनले इरान र उत्तर कोरियासँगै इराकलाई पनि विश्वमा स्थिरताका लागि खतरनाक शक्ति ‘एक्सिस अफ इभिल’ को संज्ञा दिए । अनि सन् २००२ को अक्टोबरमा अमेरिकी संसद्ले इराकमाथि सैन्य कारबाही स्वीकृत ग-यो ।
सन् २००३ को फेब्रुअरीमा अमेरिकाका तत्कालीन विदेशमन्त्री कोलिन पावेलले इराकमाथि सैन्य कारबाही गर्नका लागि अनुमति दिन राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई आग्रह गरेका थिए तर उनले परिषद्लाई त्यस्तो अनुमतिका लागि सहमत बनाउन भने सकेनन् । अधिकांश सदस्य राष्ट्र सन् २००२ मा इराकको भ्रमण गरेका राष्ट्रसङ्घको परमाणु निगरानीसम्बन्धी निकाय अनि इन्टरनेसनल इनर्जी अथोरिटीका अधिकारीहरूले आमविनाशका हतियार रहे, नरहेको थप प्रमाण फेला पार्नका लागि अझै काम गर्नुपर्ने पक्षमा देखिए ।
अमेरिकी नेतृत्वमा रहेको गठबन्धनमा सम्मिलित ३० राष्ट्रमध्ये बेलायत, अस्ट्रेलिया र पोल्यान्ड आक्रमणमा सहभागी भए । बेलायतले ४५ हजार र अस्ट्रेलियाले दुई हजार सैनिक पठाए । पोल्यान्डले एक सय ९४ विशेष तालिमप्राप्त सैनिक पठाएको थियो । कुवेतले आफ्नो क्षेत्रबाट आक्रमण गर्न अनुमति दियो । स्पेन र इटलीसहित कैयौँ युरोपेली राष्ट्रले अमेरिका नेतृत्वको गठबन्धनलाई कूटनीतिक समर्थन गरेका थिए ।
अमेरिकी विदेशमन्त्री पावेलले इराकसँग जैविक हतियार उत्पादन गर्नका लागि ‘घुम्ती प्रयोगशालाहरू’ रहेको सन् २००३ मा राष्ट्रसङ्घमा बताएका थिए तर सन् २००४ मा उनले त्यसबारे प्रमाणहरू ‘त्यति बलिया रहे जस्तो नदेखिएको’ स्वीकार गरे ।
बेलायतका तत्कालीन प्रधानमन्त्री ब्लेयरले इराकले आमविनाशका हतियार उत्पादन जारी राखेको कुरामा ‘कुनै शङ्का नरहेको’ बताएका थिए । दुवै देश इराकबाट भागेका रसायन इन्जिनियर राफिद अहमद अल्वान अल–जानबी र गुप्तचर निकायका एक अधिकारी माज मोहम्मद हारिथको सूचनामा धेरै निर्भर थिए ।
अमेरिकाका दुई छिमेकी क्यानडा र मेक्सिकोले सैन्य कारबाही समर्थन गर्न अस्वीकार गरे । युरोपमा अमेरिकाका दुई प्रमुख सहयोगी जर्मनी र फ्रान्सले पनि सहयोग गर्न अस्वीकार गरेका थिए । नेटोको सदस्य पनि रहेको टर्कीले छिमेकी राष्ट्र इराकमा आक्रमण गर्न अमेरिकालाई आफ्ना हवाई आधार शिविर प्रयोग गर्न दिएन । सन् १९९०–९१ को खाडी युद्धमा इराकविरुद्ध अमेरिकालाई सहयोग गरेको साउदी अरबले सन् २००३ को आक्रमणमा भने समर्थन गरेन ।
सन् २००३ मार्च २० मा बिहानको समयमा ‘अपरेसन इराकी फ्रिडम’ सुरु भयो । कुवेतको इराकसँगको सीमाबाट अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका झन्डै दुई लाख ९५ हजार सैनिकले कारबाही सुरु गरे । इराकको उत्तरी भेगमा कुर्दिस पेशमेर्गाका मिलिसियाका ७० हजार सदस्य र इराकी सुरक्षाकर्मीबीच भिडन्त भयो । मे महिनासम्म इराकी सेना पराजित भयो र सद्दाम हुसेनको पतन भयो ।
पछि सद्दाम हुसेन पक्राउ परे । उनीविरुद्ध मुद्दा चलाइयो र सन् २००६ मा उनलाई मृत्युदण्ड दिइयो तर इराकमा कुनै पनि किसिमका आमविनाशकारी हतियार फेला परेनन् ।
सन् २००४ मा इराकमा साम्प्रदायिक विद्रोह फैलियो । त्यसको केही वर्षपछि सुन्नी र सिया समुदायबीच गृहयुद्ध सुरु भयो । सन् २०११ मा मात्रै ठूलो सङ्ख्यामा अमेरिकी सेना त्यहाँबाट फर्किएको थियो । सन् २००३ देखि २०११ बीच युद्धसँग जोडिएका घटनाका कारण चार लाख ६१ हजार मानिसको मृत्यु भएको र करिब ३० खर्ब अमेरिकी डलर खर्च भयो ।
इराक युद्धपछि सन् २००८ मा अमेरिकी राष्ट्रपति बुसले इराकको भ्रमण गरे । बग्दादमा आयोजित पत्रकार सम्मेलनमा इराकी पत्रकार मुन्ताजेर अल जाइदीले आक्रोश व्यक्त गर्दै राष्ट्रपति बुसमाथि जुत्ता प्रहार गरेका थिए । उनलाई पक्राउ गरी छ महिना जेलमा हालियो ।