• २० फागुन २०८२, बुधबार

चन्द्रमामा मानवबस्ती बसाउने सपना

blog

चन्द्रमामा मानवबस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि सोच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण हो त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतको अभाव हुनु । 

चन्द्रमामा न तरल पानी छ न त मानिसले सास फेर्न सक्ने प्राणवायु नै । यस्तो अवस्थामा चन्द्रमामा मानवबस्ती स्थापना गर्न सबैभन्दा पहिलो र अनिवार्य आवश्यकता सास फेर्न योग्य हावा हो ।

चन्द्रमामा बाँच्नका लागि चाहिने यस्तो प्राणवायु पृथ्वीबाटै त्यहाँ लैजानु पर्छ भन्ने मान्यता वैज्ञानिकको रहँदै आएको थियो । यो प्रक्रिया अत्यन्तै खर्चिलो र प्राविधिक रूपमा कठिन काम हो तर हालै प्रकाशित एक नयाँ अनुसन्धानले चन्द्रमामा पृथ्वीबाटै सास लिने हावा लैजानुपर्ने पुरानो मान्यतालाई गलत साबित गर्न सक्ने सङ्केत दिएको छ । यस अध्ययनले चन्द्रमामा जीवन सम्भव बनाउने दिशामा नयाँ सम्भावनाको ढोका खोलेको वैज्ञानिकको भनाइ छ ।

कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट नामक जर्नलमा प्रकाशित एक अध्ययनले वैज्ञानिक जगत्लाई नै चकित पारेको छ । अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले चन्द्रमामा अक्सिजनको सम्भावना प्रकृतिले आफैँ सिर्जना गरिरहेको हुन सक्ने सङ्केत दिएको छ ।

अनुसन्धानकर्ताका अनुसार अन्तरिक्षमा करिब १० लाख माइल प्रतिघण्टाको तीव्र गतिमा बग्ने सौर्य आँधीले पृथ्वीको वायुमण्डलबाट नाइट्रोजन, कार्बन डाइअक्साइड र हाइड्रोजन जस्ता ग्यासका कण बोक्दै चन्द्रमाको सतहसम्म पु¥याइरहेको छ । यसले भविष्यमा चन्द्रमामा जीवनको सम्भावनाबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

करिब २० वर्षअघि गरिएको एक अध्ययनले पृथ्वी र चन्द्रमाबीच विभिन्न कणको आदानप्रदान चार अर्ब वर्षअघि नै समाप्त भइसकेको निष्कर्ष निकालेको थियो तर रोचेस्टर विश्वविद्यालयका वैज्ञानिकले तयार पारेको नयाँ कम्प्युटर सिमुलेसनले यो धारणा गलत रहेको देखाएको छ ।

नयाँ अनुसन्धान अनुसार पृथ्वीको चुम्बकीय क्षेत्र नै ती कणलाई चन्द्रमासम्म पु¥याउने मुख्य माध्यम बनेको छ । चुम्बकीय क्षेत्रका रेखा चन्द्रमासम्म फैलिएका छन् । जसले आयातीत कणलाई मार्गदर्शन गर्दै त्यहाँसम्म पु¥याउँछन् । वैज्ञानिकका अनुसार पृथ्वीमा जीवनको विकास सुरु भएपछि यस्ता कणको स्थानान्तरण प्रक्रिया झनै तीव्र भएको छ र यो प्रक्रिया आजसम्म चलिरहेकै छ ।

चन्द्रमाको सतहमा रहेको माटो, जसलाई लुनार रेगोलिथ भनिन्छ, वैज्ञानिकका लागि ब्रह्माण्डको सुरक्षित राखेको टाइम क्याप्सुल सरह मानिन्छ । अपोलो मिसनबाट ल्याइएका नमुनाको अध्ययन गर्दा त्यसमा नाइट्रोजन, कार्बनडाइअक्साइड र पानीका सूक्ष्म अंशसमेत फेला परेका थिए ।

यस खोजका महत्वपूर्ण वैज्ञानिक फाइदा छन् । यसले पृथ्वीको वायुमण्डल कसरी बनेको हो र जीवनको विकासका लागि कुन कुन अवस्था आवश्यक पर्छन् भन्ने कुरा बुझ्न सहयोग पु¥याउने छ । प्राणवायु निर्माणका लागि आवश्यक तत्व चन्द्रमामै उपलब्ध रहेकाले अबको चुनौती भनेको तिनलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रविधिको विकास गर्नु हो ।यद्यपि चन्द्रमामा मानवबस्ती बसाउनु अझै पनि गम्भीर चुनौतीको विषय छ । किनभने त्यहाँको वातावरण रेडियोधर्मी विकिरणयुक्त र कठोर छ ।  

  –युवामञ्च