‘रूप’ र ‘सार’ ! यी दार्शनिक शब्दावलीमाथि घागडान बहस गर्नेमा सायद कविहरू नै छन्– ‘फ्रन्ट लाइन’मा । त्यसमा पनि झन् ‘प्रगतिशील कवि’हरू । एक दशकअघिको स्मृतिमा पसिहेर्दा, मैले एक कार्यक्रममा कवितामाथि टिप्पणी उठाएको थिएँ, ‘१० जना प्रगतिशील कविका कविता नाम छोपेर पढे कसको हो छुट्याउन हम्मे हुन्छ ।’ बोलेको त्यत्ति मात्रै हो । तर ‘फ्रन्ट लाइन’का एक हुल ‘प्रगतिशील कवि’हरूले पाखुरा सुर्किए । ती भुनभुनाइरहे मेरो वरिपरि, झिँगाझैँ ।
‘प्रगतिशील कवि’ या ‘कवि’ या ‘उपासना कवि’ या ‘मौन कवि’, यी पदावलीमा बहस नगरौँ; ‘कवि’ मात्रै भनौँ न तर सुदूरबाट हेरे पनि कवि–ग्याङमा नितान्त फरक देखिने, ठ्याक्कै छुट्टिने कवि हुन्– नेत्र एटम । यी ‘प्रगतिशील कवि’ हुन्, यी ‘उपासना कवि’ हुन्, यी ‘मौन कवि’ हुन् । अतीततिर चियाउँदै, वर्तमानलाई विश्लेषण गर्दै लेखिरहेका आफ्ना समवयी कविमा प्रस्ट कवि हुन् कि उनी ? कारण समय–चेतनाले ल्याउने प्रवाहमा उनी आफ्नो काव्यमार्फत् दह्रो हस्तक्षेप गर्छन् ।
विचार र कलाको प्रवाहसँगै बहन्छ उनका कवितामा नदीझैँ । मानिसका दुःख, सङ्घर्ष र सपना क्यानभास हुन् उनका कविताका । समाजको ऐना लेखिरहने यी कवि कवितामा आफ्नो ‘दिव्यचक्षु’ले सुदूरका समाचार सुनाइरहेका हुन्छन् ।
सूर्यविक्रम ज्ञवालीले लेखेका छन्– ‘कवि भनेका मानिस नै हुन् । अरू साधारण मानिसझैँ उनका पनि हृदय, मन, इन्द्रियादि सबै हुन्छन् । यद्यपि उनका दिव्यचक्षुले साधारण मानिसका चर्मचक्षुले नदेखेको कुरो देख्छ औ अन्धकारभित्र प्रवेश गरी उसको पारिको समाचार पनि लिएर आउँछ ।’ (रूपरेखा, पूर्णाङ्क ६)
कवि नेत्र एटमले पनि ‘पारिको समाचार’ लिएर आएका छन्– नङ्गेलीको । ‘तिमीले मलाई बिस्र्यौ भने’ अनि ‘तिमी छ्यौ र त’ भन्दै उनी नङ्गेलीको समाचार वाचन गर्छन् । त्यो अन्धकार इतिहासमा प्रवेश गर्छन्, जहाँ नङ्गेलीले भयानक विद्रोहको राँको बालेकी थिइन्, रगतको आँसु झारेकी थिइन् ।
नङ्गेली को हुन् ? मिथकको कुनै आकर्षक विम्ब कि इतिहासकी एक विरङ्गना ? कवि नेत्र एटम पुरानो समाचार सुनाउँछन्, ‘मिथकको कुनै रोमाञ्चक वर्णन होइन ऊ, न थिएटरको कुनै अद्भुत पात्र नै... । रगतको लुगा लगाऊ नङ्गेली, रगतकै आँसु सुकाऊ च्यादरमा, रगतकै हावाले सास फेरेर, हिँड शानसित रगतकै बाटोमा लमकलमक !’ (नङ्गेली ब्लुज-प्रिय मौनता) ।
नङ्गेली बुझ्न डेढ शताब्दीअघिको अन्धकारमय समयमा पस्नुपर्छ । लगभग १५० वर्षअघि भारत केरलाको चेरथल गाउँमा बस्ने दलितमध्येकी पनि तल्लो मानिने एडवा जातिकी एक सचेत महिला हुन् उनी । दलित महिलाले स्तन ढाक्न नपाइने वा ढाके कर तिर्नुपर्ने त्यस बेलाको कानुनविरुद्ध उनले विद्रोह गरिन् । विद्रोहस्वरूप उनले हँसियाले आफ्नो स्तन काटिन् र मृत्यु रोजिन् । त्यसपछि त्यस गाउँको नामै रह्यो– मुलच्छीपुरम् अर्थात् ‘स्तनको गाउँ’ ।
अति सामान्य विम्बमार्फत कवि नेत्र एटम कवितामा सुदूर अतीतका कथा भन्छन्, जसरी हामीलाई इतिहासको गर्तमा पुरिएकी, आफ्नो ‘भव्य इतिहास’ नभएकी नङ्गेलीको कथा सुनाए । ती कथामार्फत इतिहासका बिर्सिइएका पात्र र पात्रका निजी जीवनमा प्रवेश गराउँछन् कवि ।
मौनता ! त्यो कस्तो मौनता ? उपासना ! त्यो कस्तो उपासना ? कविता र उपासना ? त्यो कस्तो कुरो हो ? मौनता र उपासना ! त्यो गहिरोसँग बुझ्न उनको कविता–किताब प्रिय मौनताका पानाहरूमा मौन भएर पस्नुपर्छ, ध्यान र उपासना गरेजस्तै । असाध्यै नवीन क्लाइमेक्समा उनी कविता वाचन गर्छन्– बिस्तारै, अति सानो आवाजमा तर भयानक कथाहरूमा पु-याउँछन् ।
अर्र्नेस्ट हेमिङ्वेको द ओल्ड म्यान एन्ड द सी हातमा छ । कति पढ्नु यो किताब ? तर यही किताब रिभिजिट गरिरहन मन लाग्छ । शान्त, नीलो समुद्रमा माछा मारिरहेको एउटा बूढो मानिसको कथा सुन्न मन लाग्छ । उपन्यासले मौनताको भाषा बोल्छ, समुद्र मौन हुन्छ (ठूला छाल र आँधीका बेलाबाहेक), एक्ला वृद्धहरू मौन हुन्छन् किनभने तिनीहरूसँग वार्ता गर्ने अर्को वृद्धसँगै हुँदैनन् । र त स्यान्टियागो समुद्रसँग कुरा गर्छन्, आफूले मारिरहेका माछाहरूसँग कुरा गर्छन् । प्रिय मौनताका ‘उपासना कविता’ वाचन गरिरहेका कवि एटम पनि हेमिङ्वेको स्यान्टियागो जस्तै मौन लाग्छन् मलाई ।
द ओल्ड म्यान एन्ड द सी पढ्नुभएको छ ? नपढ्नुभएको भए पढिहाल्नस् है । त्यहाँ स्यान्टियागो आफूले प्रेम गरेका माछालाई निकै आदर गर्छन्, पुर्खालाईझैँ । तर उनी माछाहरू मार्छन् । माछाप्रतिको त्यो मौन प्रेम, त्यो समुद्रको मौन भाषामाथि व्याख्या गर्न उनलाई अत्यन्तै गाह्रो हुन्छ । उनी भनिरहन्छन्, ‘असलमा यी कुरा म बुझ्दिनँ । तर हामीले जूनतारा झार्ने प्रयत्न गर्नुपरेको छैन । यो कुरा ठिकै त हो नि– हामीले सागरमा बसेर आफ्ना भाइबन्धु मार्नु नै काफी छ ।’ यो कस्तो प्रेम हो ? माछाको आदर गर्नु, तिनलाई माया गर्नु, तिनलाई प्रिय साथी मान्नु, तर मार्नु ! हो यस्तो कुरा व्यक्त गर्न गाह्रै त हुन्छ नि, होइन ? किनभने माछा नै स्यान्टियागोको जीवन हो, जीवन नै माछा हो ।
कविता लेख्दा कवि आफ्नै अनुभूतिको अन्यतम गहिराइमा रहेको संवेदना लेखिरहेको हुन्छ, जसरी हेमिङ्वेले एक बिहान डुङ्गामा बसेर समुद्रमा माछा मार्ने विषयमा सोचिरहँदा द ओल्ड म्यान एन्ड द सी जस्तो महान् उपन्यासको पहिलो ड्राफ्ट लेखेका थिए । सुत्केरी–बेथाले छटपटाइरहेकी युवतीले एउटा सुन्दर कविता सोचिरहेकी हुन्छिन्, जब उनी बच्चा जन्माउन जतिसुकै पहाडजस्तो भारी थाम्न पनि तयार हुन्छिन् । त्यो नवजात शिशु एउटा सुन्दर कविता हो । अनि एउटा सुन्दर कविता लेख्नु बुद्धजस्तै समाधिमा बस्नु हो, जसरी सन्तान जन्माउन एउटी आमा समाधिमा बसेकी हुन्छिन् ।
म कवितालाई मेरो काव्यात्मक भाषाको आविष्कारझैँ ठान्छु । जेले मेरो अन्तस्थलमा स्पर्श गर्छ, त्यो काव्यपङ्क्तिमा अनूदित हुन खोज्छ । कतिपय अवस्थामा त्यो पूर्ण रूपमा अनूदित हुनबाट रोकिन्छ र मेरा कविताको असामयिक मृत्यु हुन्छ ।
एउटा कलाकारले सुनको ढिक्कालाई कलात्मक स्वरूपमा ढाल्न सक्छ । कवि र कलाकार, शिक्षक र वैज्ञानिक, आमा र किसान उस्तै लाग्छन् मलाई । किनभने ती असल सिर्जनशील तìव हुन् । तिनमा असीम पीडाबाट जन्मिएका गहिरा भावनाहरूको योग हुँदोरहेछ ।
म ठान्छु, कवितामा आम–मानिसका भावना कविको भावनामा रूपान्तरित भएर आउँछन् र कवितामा प्राण भर्छन् । साँचो कवितामा जनताको सङ्घर्षको गाथा हुन्छ, तिनको खुसी हुन्छ, पीडा र अनुभव पनि हुन्छन् । तिनको कालिकता हुन्छ र त्यो सार्वकालिक बन्न जान्छ । सबैले हिँड्ने बाटो उही हुन सक्छ तर कविको आफ्नै निजी यात्रा हुन्छ, आफ्नै गोरेटो हुन्छ । कवि सामान्य मान्छेझैँ बाँच्छ तर मात्र कवि भएर बाँच्छ; जसरी बाँचिरहेछन् देवकोटा, रिमाल र भूपि । म तिनीहरूको कविताबाट जहिल्यै केही झिल्का उठेको पाउँछु ।
म सोच्छु, आफ्नै ‘विशेष’ अन्तर्दृष्टिले नै कवि विश्वलाई कविताका रूपमा देख्छ । मानिसको अहम् र अस्तित्वको बचाउ गर्न कविताको भाषा अति नै सहयोगी हुन्छ भन्ने मलाई लाग्छ । मेरा लागि सबैभन्दा ठूलो कविता मेरी आमा हुन्, माटो र दूबो हो । अनि धर्ती रसाउने पानीका कण हो । एउटा राम्रो कविता पढ्दा मलाई मेरै भावनाहरूको सान्निध्य प्राप्त भएजस्तो लाग्छ । त्यस बेला म आफ्ना संवेद्य तन्तुभित्र प्रवेश गर्छु । मभित्र विद्युत् तरङ्ग प्रवाहित हुन्छ । सायद यो पनि कविताको पुनः रचना गर्नु हो । कुनै नयाँ घटना वा वस्तुले छोइँदा म कविता लेखनतर्फ उद्वेलित हुन पुग्छु । यही उद्वेलनले मलाई कवि हुन प्रेरित गर्छ र म मेरा अग्रज, समकालीन र अनुजका भीडमा उपस्थित रहन्छु ।
हाम्रा पत्रपत्रिकामा लेखिबस्ने समीक्षाशास्त्रीको जस्तो कविता–व्याख्या गर्न म सक्दिनँ ।
त्यस्ता शब्दावली म जान्दिनँ पनि । तर यति भन्न सकिन्छ, एटमका कविताको शक्तिले मेरा समकालीन कविहरूका ‘कविता’लाई पछाडि पारेका छन् । कविता त लेख्छु म पनि । तर बेला बेला लाग्छ–
म कविता लेखेर कविताविरुद्ध कतै भयङ्कर ठट्टा पो गरिरहेको छु कि ?
बालचन्द्र शर्माले कतै लेखेका छन्, ‘वास्तवमा हामी योग्य कवि हौँ, जो अयोग्यतापूर्वक कविता लेखिरहेका छौँ, किनभने हामी आफ्नै समाज र राष्ट्रप्रति पूर्ण जागरुक छैनौँ ।’ सायद शर्माको यो कथन मेरो सवालमा पनि मेल खान्छ, किनभने म समाज र राष्ट्रप्रति जागरुक छुइनँ नै ! ‘जागरुक’ हुने ‘जागरुकता’ पनि छैन मसँग ।
कोही पाठक एटम किन पढोस् ? कवि एटम ती चुनिएका लेखकमा एक हुन्, जो कविता र भाषाको सीमा मात्रै बढाउँदैनन्, कविताको नयाँ स्वरूप निर्माण पनि गर्छन् । जस्तो यी कवितै हेर्नुस् न, यिनमा छन्– कविता र मौनता । छन्– कविता र उपासना । कति गजब कुरा हगि ! हामीलाई चाहिन्छन् यस्तै कवि, जो कविताका पुराना मक्किएका, थोत्रिएका लिकमा हिँड्दैनन्, आफ्नो लिक आफैँ बनाउँछन् । क्याबात एटम सर !
म सोचिबस्छु, कविता आज विघटनको एउटा मोडमा उभिएको छ, त्यहाँबाट यस्तो एउटा लिक सुरु हुन्छ, जुन अहिलेसम्मको राजमार्गबाट निश्चित रूपमा फरक छ । आजका कवि जीवनलाई गहिरो आन्तरिक स्तरमा झेल्छन् र अभिव्यक्त गर्छन् । यो अभिव्यक्ति उसको ‘सोख’ होइन, ‘दायित्व’ हो । किनभने आजका कवि जीवनका अनेक लडाइँमा सामेल एक योद्धा पनि हो । उसले लड्नुपरेको छ, डिजिटल समयसँग, राज्यसत्ता त छँदै छ सामु ।
स्कुल छँदै पढेको हुँ– नेत्र एटमलाई । एसएलसी परीक्षामा नेपाली विषयको एउटा सन्दर्भ किताब पढ्नुपथ्र्यो । उनले किताबमा लेखेका बीपी र देवकोटामाथिका समालोचना कण्ठै थिए उबेला, कारण परीक्षामा तिनै कण्ठस्थ उनका समालोचना जो लेख्नुथियो ।
वर्षौंपछि जसको समालोचनै कण्ठ थियो, उनैमाथि लेख्दै छु । तर के लेख्दै छु ? थाहा छैन । यो निबन्ध भयो कि टिप्पणी वा ‘प्रशंसा प्रवचनपत्र’ ? थाहा छैन ।
प्रिय मौनता पढेपछि एटम सरमाथि लेख्न खोजेको केही महिनै बितिसक्यो । थापाथलीको कफी स्टेसनमा तातात्तै उनैको पैसाले कफी खाएर ‘लेख्छु’ भनेको थिएँ । तर लेख्ने साइत कहिल्यै जुरेनछ । तैपनि केही शब्द लेख्दै÷डिलिट गर्दै महिनौँ बितेका छन् । म सायद एक बिब्ल्याँटो समयमा उभिएको थिएँ । जागिर, घर, छोरा–छोरीको संसार ! अफिस जान्थेँ, घर फर्किन्थेँ । न पढ्थेँ, न लेख्थेँ । खासमा म केही, केही पनि त गरिरहेको थिइनँ । के गरिरहेको थिएँ म ? विचार ? अहँ, त्यो पनि गरिरहेको थिइनँ । तर मस्तिष्कमा जब्बर रूपमा आउँथे÷जान्थे एटम सर र प्रिय मौनता ।
यो आलेख (यो आलेख नै हो त ?) लेख्नुअघि मैले डायरीमा नोट बनाएको रहेछु, त्यहाँ लेखिरहेको रहेछ– एटमका कवितामा गहिरो उदासी छ र तीव्र बेचैनी पनि । हैरान छन् कवि, प्रश्न गरिरहेछन् ‘समयको खोजी’लाई, ‘रिक्तताहरू’लाई, ‘कहरको क्यानभास’लाई । उनमा आवेग पनि छ, तर उनी आवेग होइन, प्रेमका कवि हुन् । ‘मौनता’ हो उनको ब्रान्ड ।
जब एक पूरै दिन म उनका कविता पढिरहन्छु र प्रत्येक शब्दमा डुब्छु, त्यस समय एउटा अस्तित्व भ्रम पैदा हुन्छ– म किन यस्तो विसङ्गत समयमा बाँचिरहेको छु ? म उनका यी शब्दहरूमा किन प्रवेश गर्न चाहन्छु ? मान्छेले भनेको सुनेको छु– एटम मुस्किल लेखक हुन्, एक अजिवोगरिब कवि ! तर एटमका कविता मान्छेहरूले भनेजस्तो मुस्किल लाग्दैनन् मलाई । उनका शब्दले इतिहासको कुनै कालखण्ड व्यक्त गर्छन् । उनका शब्द पहाडका ती पत्थर हुन्, जो अन्य कविलाई चुनौती दिएर पहाडमा थपक्कै बसेका छन् ।
मलाई एटम पढ्नुछ, यस समयको मोडमा उभिएर एटम पढ्नु आकर्षणको विषय पक्कै होइन, बरु अनिवार्य हो ।
प्रिय मौनताका यी उपासना कविताका आवाजले भन्छन्– दुनियाँ तत्कालै बनिरहेको छ, तत्कालै भत्किइरहेको छ । त्यो पुरानो दुनियाँ त भत्किरहेकै छ र अब हामीले बनाउनुछ– नयाँ दुनियाँ ।
‘आदर्श समालोचक न कोही थियो न कोही छ’ भन्ने समालोचक रामकृष्ण शर्मा ‘टाक्सिएको नेपाली कविता’मा लेख्छन्, ‘टाक्सिएको नेपाली कविता अब फस्टाउन थाल्यो तर नेपाली कविता, नेपाली साहित्य र नेपाली भाषामा नेपाली सभ्यता र संस्कृति, जातीयता र जीवनको प्रभाव अझै पर्नुपर्छ । हिन्दी कविता र अङ्ग्रेजी कविताको देखासिकी र भावापहरणले मात्र टाक्सिएको नेपाली कवितालाई अघि बढ्न गाह्रै पर्छ ।’ (शारदा, वर्ष १०–१२) ।
एटमका यी कविता र समकालका कविता पढेपछि भन्न मन लाग्छ– शर्मा सर, तपाईंले उहिल्यै भन्नुभएझैँ अब टाक्सिएका छैनन् हाम्रा कविता ।
तर यो प्रश्न कवि एटमलाई होइन, समालोचक एटमलाई– प्रिय एटम सर, के नेपाली कविता अझै टाक्सिएकै छ ?
(कवि, निबन्धकार सापकोटा कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क ‘कोसेली’का संयोजक हुन् । निबन्धसङ्ग्रह ‘लोकेसन’का लेखक उनी चर्चित साहित्यिक मासिक ‘पाण्डुलिपि’का सम्पादक थिए ।)