• २३ माघ २०८२, शुक्रबार

मुख्य दलका उम्मेदवार भोट माग्न गाउँगाउँमा

blog

प्रतिनिधिसभा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली घरदैलो अभियान गर्नुहुँदै । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, माघ २३ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा मुख्य दल र स्वतन्त्रसहितका ३६ जना उम्मेदवारहरू गाउँगाउँमा मत माग्न पुग्न थालेका छन् ।

प्रतिनिधि सभा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुली, नेपाली कांग्रेसका उम्मेदवार जङ्गबहादुर लामाले सातादिन अघिबाट गाउँगाउँमा मत माग्न पुगिरहेका छन् । रास्वपा उम्मेदवार पराजुलीले सिन्धुपाल्चोकको विकासको आधार, उद्योग, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधार नाराका साथ मनोनयन दर्ता गराएकै भोलिपल्ट त्रिपुरासुन्दरी माईको दर्शन र पूजाआजा गरेर गाउँगाउँका मतदातासँग भेटघाटलाई तीव्रता दिनुभएको छ ।

सिन्धुपाल्चोकको विकास र समृद्धिका लागि मतदाताले आफुलाई विजयी गराउने र संसदमा ऐन कानुन निर्माण, भ्रष्टचारविरुद्ध, सुशासनयुक्त समाज र मुलुका निर्माणका लागि आफ्नो उम्मेदवार रहेको भरतले बताउनुभएको छ । बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका लगायतका मुख्य मुख्य गाउँ बजारमा उहाँले घरदैलो गरेर मतदातासँग भोट मागिरहनु भएको छ । आजबाट पराजुलीले लिसङ्खुपाखर गापामा घरदैलो गर्दे हुनुहुन्छ ।

प्रतिनिधि सभा–१ का नेपाली कांग्रेसका उम्मेदवार जङ्गबहादुर लामाले आफ्नो गृह गाउँ जुगल गाउँपालिका–७, याङलाकोटको स्थानीय जलदेवी मन्दिर र नजिकैको गुम्बामा हिन्दु र बौद्ध धर्मनुसार पूजापाठ चुनावी अभियान सुरु गर्नु भएको थियो । धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको संदेश दिँदै लामाले बलेफी गाउँपालिका, जुगल गाउँपालिका, भोटेकोशी गाउँपालिकामा घरदैलो गरिरहनु भएको छ । समग्र विकास निर्माण, जनजीविका उकास्ने, समुन्नत सिन्धुपाल्चाके र सम्मानित सिन्धुवासी नाराका साथ लामा जनताका घरदैलोमा पुगेर मत मागिरहेका छन् । कांग्रेस नेता कार्यकर्तासहित जङ्गबहादुर गाउँबस्तीमा पुग्दा चुनावी रौनकता बढेको देखिन्छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सरेश नेपालले सहिदभूमि पिस्करमा ४२ औं पिस्कर सहिद इले र वीरे थामीको सालिकमा ‘पिस्कर ऐतिहासिक जन विद्रोह पुस्तक’ लोकार्पण गर्दे चुनावी अभियान सुरु गर्नुभएको छ । ‘भुइँ मान्छेका नेता’को छवि बनाएका नेपालले गाउँबस्तीमा पुगेर मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, रोजगारी, सडक लगायतका एजेन्डा लिएर मतदातासँग पुगिरहनुभएको छ । यस्तै नेकपाका उम्मेदवार माधव सापकोटा ‘सुवोध’ विकास निर्माणलाई मुख्य एजेन्डा लिएर जनतासमक्ष पुग्न थाल्नुभएको छ । उहाँले आफु निकटका सबै क्षेत्रका अगुवाहरूसँग चुनावी रणनीति तयार पार्दे जनताका जीवनस्तर उकास्ने एजेन्डा निर्माणमा व्यस्त रहेको जानकारी दिनुभएको छ । मतदातासँग संवाद र छलफल गरेर स्थानीय आवश्यकता समाधान हुने एजेन्डा समावेश गरेर सापकोटा घरदैलोमा पुग्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा–१ मा रास्वपाका भरत, कांग्रेसका जङ्गबहादुर पहिलो पटक सङ्घीय टिकट पाएर निर्वाचनमा होमिनुभएको छ । माधव निर्वतमान सङ्घीय सांसद हुनुहुन्छ भने सरेश २०७४ को बागमती प्रदेश सभा सदस्य र पूर्व उद्योग, वन, पर्यटनमन्त्री समेत हुनुभएको थियो । कांग्रेस, एमाले, रास्वपा, नेकपासहित निर्वाचन क्षे नं.१ मा ३ जना स्वतन्त्र उम्मेदवार सहित १८ जना उम्मेदवार आम निर्वाचनमा भिड्ने भएका छन् । निर्वाचन क्षेत्र नंं मा पनि ३ जना स्वतन्त्र उम्मेदवार र १५ जना ठुला साना दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।