कोकिला ढकाल
इलाम, माघ २३ गते । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी बनाइएको इलाका प्रशासन कार्यालय मङ्गलबारेको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
सदरमुकामबाट पश्चिममा रहेको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा निर्माण गरिएको उक्त एक तले भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।
भवन निर्माण भएपछि इलामको देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने छन् । नागरिकता बनाउन, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउनेलगायतका काम इलाका प्रशासनबाटै हुने गरेको छ ।
घर भाडामा लिएर सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई यो सुविधा सम्पन्न भएपछि सेवालाई सहज बनाउन थप सहयोग मिल्ने सघन सहरीका सब–इन्जिनियर सिपी शर्मा गड्तौलाले बताउनुुभयो ।