काठमाडौँ, माघ २३ गते । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पक्राउ परेका छन् । उनले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट आठ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप रहेको छ ।
दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।