बझाङ जिल्लामा अवस्थित तलकोट गाउँपालिका–४ अन्तर्गत पडल्ती गाउँको शिरानी भागमा रहेको तिल्याली लेकाली भेग हो । यो ठाउँ पुग्न कठिन छ तर अत्यन्तै सुन्दर छ । पर्यटकलाई पनि लोभ्याउने ठाउँ हो यो । वरिपरि जङ्गलले घेरिएको यो भूमिमा जौ, आलुलगायत अन्नबाली उब्जनी गराएको पितामाता र दाजुले मलाई सम्झनामा छ । बिचमा पाँच वटा पाखो जमिनका गरा छन् । त्यसैमा वर्षामा भैँसीपालन गर्ने चलन पछिसम्म कायम थियो । बिचमा खस्रुको रुख छ । साइँलो दाजु जयकृष्णले तिल्यालीमा बसी झन्डै २० वर्षसम्म गोठालो भएर काम गर्नुभयो । छ वटा भैँसीपालन गरी परिवारलाई भरपूर मात्रामा दूध, दही, छाई (मोही) खुवाउनुभएको बिर्सन सकिन्नँ । मेरा ठुला दाजु स्व. शुकदेव उपाध्यायले १४ वटा स्याउका बोट लगाएको पनि म सम्झिरहेछु । राम्ररी फलेका स्याउका स्वाद जुम्ली स्याउको भन्दा कम छैन । साउन र भदौको आधा महिनासम्म गाउँका दाजुभाइले पनि तिल्यालीमा भैँसीखर्कमा मिलेर गोठालोसम्बन्धी काम गरेको क्षण स्मरणीय छ ।
जसमा स्वर्गवासी दाजुहरू चन्द्रदेव, मनराज, धनभक्त, कैलाश (कैल्या), जयकृष्ण, गोपीलाल कृष्ण खतेडो आदि थिए । चौर र जमिनभरि भैँसी देखिन्थे । सबै जना दाजु रमाइलो गर्दै आपसमा दुध, दही, छाई बाँडेर खाने, वनदेवताको पूजा गर्ने, कलिलो घाँस काट्ने, कहिलेकाहीँ सिकार पनि खेल्ने, रामरमिता गर्ने प्रचलन थियो । स्याडी गाउँँका गहिन्ध्या, सालिमान्या आदि पनि त्यो ठाउँमा मिलेर गोठालोको काम गरेको मैले भुलेको छैन । काठमाडौँबाट कलेजको छुट्टीमा घर गएर दाइसँगै तिल्याली एक÷दुई पटक पुगेको छु तर बाल्यकालमा आमासँग, दाजुसँग जौ, गहुँ लगाउन त धेरै पटक पुगेको छु । बाटो अक्सर उकालो छ । वेदकालीबाट यो ठाउँ पुग्न तीन घण्टा जति लाग्छ । रविन्सन व्रmुसो बस्ने रमणीय भूमि जस्तो लाग्छ मलाई त तिल्याली ।
भौगालिक बनोट
यसो त नेपालका प्रत्येक वनजङ्गल, डाँडापाखा पखेरा, छाँगा छहरा, गाण र नदीहरू मनमोहक छन् । जता जाउँ त्यतै बसौँ बसौँ लाग्ने वनजङ्गलमै लुकौँ र हराउँ जस्तो लाग्ने प्रशस्त ठाउँ छन् मुलुकमा । सुदूरपश्चिम पनि प्रकृतिको अनौठो भूमि हो । काली कर्णालीका गरी १९ वटा जिल्लाका प्राकृतिक सम्पदाले हामीलाई लोभ्याउँछ । विदेशी पाहुनालाई अझ लोभ्याउँछ । बझाङमा यी र यस्तै किसिमका मनमोहक दृश्य जताततै देख्न पाइन्छ । तलकोट गाउँपालिका–४ अन्तर्गत तिल्याली पनि सुन्दरताले भरिएको भूमि हो । यो ठाउँको पूर्वतिर घनघोर कालो जङ्गल छ । वर्षभरि नै यो जङ्गलमा भालु, बँदेल, रतुवा, घोरल आदि जङ्गली जनावरको वासस्थान छ । प्राचीनकालमा बाघको वासस्थान रहेको यो ठाउँ वर्तमानमा बाघ भने मानिसले भेटाएका छैनन् । उत्तरतिर तरालो र मथारो गरी बसे जस्तो चट्टानीय भूभाग र घाँसे मेला (भिर) छन् । दक्षिणतिर पनि डरलाग्दा भिर र घाँसे मेला छन्; जहाँ भैँसी चर्ने गर्छन् । तिल्याली पुग्नुअघि ‘टाढला’ को खोलो छ । शुद्ध पानी बगिरहन्छ । त्यसको शिरानीमा बासुधारा बाह्रैकाल बगिरहन्छन् । गाईको तस्बिर जस्तो चट्टान छ । गाईको थुनबाट धारा बगेको देखिन्छ । खोलाबाट नाक छुने उकालो ४० मिनेट हिँडेपछि तिल्यालीको रमणीय भूमिमा पाइला टेकिन्छ । तिल्यालीबाट लगभग एक घण्टा हिँडेपछि कुवा पुगिन्छ । तिल्यालीपछिको अर्को सुन्दर उपवन हो कुवा । तिल्यालीबाट तलकोटको अन्तिम गाउँ लोकण्ड पुगिन्छ । जसलाई आलुको भण्डार पनि भनिन्छ ।
गोठाला र गाजो (सुकेको घाँस) काट्ने मानिसले हिँड्दै गर्दा निर्मित बाटो नै तिल्याली पुग्ने बाटो हो । भैँसी हिँड्ने बाटो अझ उकालो चढी, ओराली झरी हिँड्नु पर्छ । पारि इर्जदेखि सातुखान्या खोला, साँगीछणा र त्यहाँबाट टाढ्लाको खोलासम्मको बाटो कुनैबेला डरलाग्दो थियो । वर्तमानमा भने गाउँपालिकाको सहयोगले बाटो सहज भएको छ । तिल्याली पुगेपछि बाटाका ती कठिनाई सबै भुलिन्छन् ।
शक्तिपीठको वासस्थान
तिल्याली देवभूमि हो । देवीदेवताको व्रmीडास्थल रहेछ भन्ने कुरा त्यहाँस्थित दैवीय स्वरूपबाट अवगत हुन्छ । एक पटक जेठ महिनाको जुनेली रातमा खला (जौ, गहुँ चुट्ने ठाउँ) मा आमा र बाबा जौ चुटिरहनुभएको थियो । त्यहीबेला अलि परबाट मागल गाएको स्पष्ट सुनिएछ । निकैबेरसम्म आमाबाबाले सुनेपछि ब्यान्देली (बिहानीपख) आफैँ हराएर गयो रे आवाज । यसै गरी सपनामा एक जना सेतो लुगा लगाएको मानिस त्यहीँ आँगनीमा देखा परेछ, तिमी मेरो पूजा गर, दुध चढाऊ भनेछ रे जेठो दाजुलाई । उहाँले त्यही गर्नुभएछ । उहाँले सप्ताहको पूजा गर्ने सङ्कल्प लिनुभएछ । त्यही सङ्कल्पले ०३२ सालमा वेदकाली गाउँमा पहिलो पटक सप्ताह महायज्ञ लगाउनुभएको पङ्क्तिकारलाई याद छ । सो सङ्कल्प पनि सप्ताह महायज्ञ जन्मघर वेदकाली गाउँमा लगाएको ताजा सम्झना छ । जङ्गली जनवारले लगाएको बाली नष्ट गर्थे । तिल्यालीमा पनि श्री सत्यनारायणको पूजा गरेपछि बालीनाली राम्रो हुँदै आयो । वर्तमानमा पनि पर सरेको महिला, खराब आचरण गर्ने मानिसलाई वनदेवीले असर गरिहाल्छन् भन्ने भनाइ रहेको छ । उदाहरणका लागि बाह्रैकाल जमिनबाट निस्कने चिसो पानी कुनै मानिसको अकर्मण्यताका कारण सुकेर गयो भन्छन् स्थानीय धर्मपरायण मानिस ।
आलु र मकै खेतीका लागि प्रख्यात मानिएको तिल्याली सिकारीका लागि पनि सुविधाजनक ठाउँ थियो कुनैबेला । आँगनअगाडि मृगहरू देखा पर्छन् भन्नुहुन्थ्यो तलकोटी रजवार स्व. जङ्गबहादुर सिंह ।
साइँलो दाइसँग तिल्याली जाँदा
गाईभैँसीपालन र खेतीपाती कार्यका लागि वेदकाली गाउँ र वरपरसम्म नाम कमाएका व्यक्ति हुन् मेरा दाजु जयकृष्ण जोशी । यसो त २०३२÷३४ सालताका उहाँसँग म भैँसीखर्क धेरै पटक गएको छु । स्याडा, वगिउर, साँगीछणा हुँदै तिल्याली पुगेर प्रशस्त मात्रामा दही, दुध खुवाउनुभएको थियो । अझ लेट्या (खिर जस्तो परिकार) त निकै पटक खुवाउनुभयो दाइले । काठमाडौँमा उच्च शिक्षा अध्ययन गर्न आएपछि पनि बाल्टीनभरि घिउ पठाई माया गरेको कसरी भुल्न सक्छु र ?
धेरै सालको अन्तरालपछि २०६३ साल चैतमा दाजुसँग तिल्यालीका लागि वेदकाली घरबाट हिँडे । बुधाको डाँडो, स्याडा हुँदै टालाको ढल्किने डाँडासम्म पुग्दा असिनपसिन भएँ, शरीर पूरै भिज्यो पसिनाले । भित्री लुगा घाममा एकछिन सुकाएँ । टालाको डाँडोबाट आफूले बाल्यकालमा गोरु चराएको, अल्लीखात, वन्साडी आदि ठाउँका साथै स्याडा, मेलविसानाका रहरलाग्दा डाँडा, रुपातोला, सेरुपैल, किनाडा, सटिवा, धमेना सुनिकोटलगायतका सेतीनदी वरिपरिका सुन्दर बस्ती र सोती नदी बगिरहेको देखेँ । १८ औँ शताब्दीमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ खाल्डो देखे जस्तै गरी । माथि उल्लेखित गाउँबस्तीको सडक निर्माण, अस्पताल स्थापनालगायतका विकाससम्बन्धी जिम्मेवारी यो दराका दाजुभाइले मलाई दिन सक्छन् भन्ने भावना पलायो तर २०६४ सालको चुनावमा समानुपातिकमा मात्र नाम झुन्ड्याए पङ्क्तिकार आबद्ध राजनीतिक दलले । यति कुरा मनमा गम्दै हामी टालाको डाँडोबाट अगाडि बढ्यौँ । बायाँतिर दोस्रो तिल्यााली मानिने लहल्न्याटो हामी देखेर मुस्कुराइरहेको थियो । अलि परको थाप्लाबाट झरेको पानीको खोला तर्दै हामी पुरानो खर्क भएको ठाउँ बगिउर पुग्यौँ, जहाँबाट तिल्याली आँखीझ्याल झैँ देखिन्थ्यो । अलि परको तिल्यालाको पानी पियौँ । जङ्गलको बिचमा काउलाको फेदीबाट निस्कने यो पानीका बारे धेरै कथन जेडिएका छन् गाउँघरमा । जङ्गलैजङ्गलको बाटो भएर हामी दाजुभाइ पारि इर्ज पुग्यौँ । त्यहाँ खर्ताडको रुख एकछिन हे¥यौँ । २०३७ साल असारमा त्यही रुखमा उक्लेर दाइले पाला (हाँगाबिगा) काट्नुभएको, म भने फेदमा रमणीय जङ्गलको दृश्यावलोकन गरिरहेको थिएँ । त्यसबेलाको याद आयो । बुवाआमा जीवित हुनुहुन्थ्यो । माइलो दाइ देवीचन्द्र दुर्गाभवानी निमाविको प्रधानाध्यापक हुनुहुन्थ्यो । नेपाल्या (काठमाडौँ) भाउजू पनि शिक्षिका हुँदा र ठुला दाइले कपडाको व्यापार गरिरहँदा आयआर्जन राम्रो थियो । घर उज्यालो थियो । अब त्यो अवस्था कल्पनामा मात्र सीमित रह्यो ।
त्यहाँबाट अगाडि बढ्यौँ । मेला (भिर) को बाटो छ । ठाउँ धेरै सुन्दर छ । वारिपारि हरिया डाँडा देखिन्छन् । भिड्याइती फूललगायत रङ्गीविरङ्गी फूल फूलेर वसन्त ऋतुको स्वागत गरिरहेछन् । बाटो डरलाग्दो छ, खस्यो भने लास पनि पत्ता नलाग्ने । कस्तो गज्जबको ठाउँ पत्ता लगाएका रहेछन् हाम्रा पितापुर्खाले । एक छिन त्यो ठाउँमा बसेर साँगीछणाको खोलाबाट बग्दै आएको अग्लो छणो हे¥यौँ । लुकेको त्यो छणोको सुन्दरता धेरैलाई थाहा छैन । तल पुगेपछि पडाल्ती गाउँको छेउमा बग्ने भैत्यागाणका नामले परिचित छ सो छणो । भैत्यागाणको बाटो ऐतिहासिक छ; जहाँबाट धलौन, काँडा र धुली पुगिन्छ । बर्खामा तिल्याली जाने बाटो निकै चिप्लो हुन्छ । सालिमु र बाबियोको मुठा समातेर त्यहाँको भिरको बाटो पार गर्नु पर्छ । भैँसी खर्क सार्दा भने माथि डाँडाको लामो बाटो भएर जानु पर्छ ।
साँगीछणा वर्षमा जुका लाग्ने ठाउँ हो, भैँसीखर्क छन् त्यँहा पनि । चैत, वैशाख, जेठमा शीतल हुन्छ तर खोलाको किनारामा भएकाले विच्च्याई (हल्ला गर्ने) लाउँछ खोलाले भन्नुहुन्छ अनुभवी मेरा दाजु । हिँड्न र काम गर्नमा सिपालु साइँलो दाइ अगाडि छिटो छिटो हिँडेर मलाई पर्खनुहुन्छ । तिल्याली पुगेपछि दुवै भाइले जेठा दाजु शुकदेवको दर्शन ग¥यौँ । छप्पर हालेर गाईवस्तुको ग्वालोसमेत लाग्नुभएको थियो दाजु । त्यो ठाउँबाट चारैतिर नियालेँ । औलमा पर्ने सुनिकोट विद्यालयका जस्तापाता टल्किरहेका देखिन्थ्ये । सुनिकोट त्यसबेलाका सुन्याली राजाको दरबार भएको ठाउँ हो । खाडलमा जम्मा गरेर राखेका आलु निकालेर दाजु तिल्यालीबाट गरुङ्गो भारी बोकेर फर्कंदा पछि पछि लागेर म पनि फर्कें । बाल्याकालमा यी रनवन घुमेका दिनको याद गर्दै दाइसँग वेदकाली घर फर्के । भोक र थकाइले लखतरान परेँ ।
अन्त्यमा, तलकोट गाउँपालिका अन्तर्गतका कैयौँ रमणीय भूभाग पर्यटकका रोजाइका स्थल हुन सक्छन् । ठाउँ ठाउँमा लालीगुराँस फुलेका दृश्यले मन लोभिन्छ । विविध चराको बोली आफैँमा अर्थपूर्ण लाग्न सक्छ । यहाँका रमणीय डाँडा र जङ्गलले जोकोहीलाई मोहित तुल्याउन सक्छ । कतै कतै त रतुवा, घोरल जस्ता मृग र कालिज जस्ता पन्छी आफ्नै अगाडि बाटो काटिरहेका देखिन्छन् । गोठालाको जीवनशैली र घसारीको परिश्रम पर्यटकका लागि नयाँ बन्न सक्छ । खोँचमा बगिरहेकी सेती नदी आदिले खोजमूलक विषय बताउन सक्छ । तिल्याली जस्तै थाप्ला, भितर वन, मेला, बिसौनाको डाँडो, राउणीमस्टाको जङ्गल दातोला र बडी गाउँको माथिल्लो लेकाली भाग, मालिकाको चुली, घोडीलेक आदि पृथ्वीको गर्भभित्र रहेका यस क्षेत्रका अनमोल मणि हुन् । तलकोट गाउँपलिकाको गर्भभित्र केही लुकेका बस्ती छन् । दाँतोला गाउँको शिरानीमा रहेको लोभलाग्दो जङ्गल र पानीको अग्लो झरना देखेपछि त्यो ठाउँमा कुन बेला पुगौँ जस्तो लाग्छ ।
तिल्यालीबाट जङ्गलको बाटो भएर भर्जिन बस्ती लोकण्ड पुगिन्छ । यो गाउँका केही बुझ्नलायक विशेषता छन् । यस्तै किदन्त अर्को लुकेको गाउँँ हो, उच्च डाँडाकाँडाको फेदीमा रहेको यो गाउँँ पुग्न वेदकालीबाट दुई घण्टा लाग्छ । आलु र भाङ खेतीका लागि प्रसिद्ध मानिन्छ । यसै गरी रुमौली बिकुल्ली, रसल्ली, गोठीचौर पनि एकान्तमा रहेका बस्ती हुन् । सुनिकोट, सेरागाउँ, कुँवरगाउँ, धमेना गाउँबाट यी बस्ती धेरै टाढा छन् । जसको सम्बन्ध केवल पेट कसरी पाल्ने भन्ने चिन्तामा छ । तलकोटमा केही घनाबस्ती पनि छन्; जसलाई स्थानीय भाषामा गर्खा भनिन्छ । गर्खाली इमानदार हुन्छन्, वचनका पक्का हुन्छन् । बझाङ जिल्लाभरि पर्यटकलाई आकर्षित गर्ने धेरै ठाउँ छन्, जुन प्रचारको अभावमा छन् । यस्ता दुर्गम बस्तीका लहरा पहरा, छाँगा, छहरा र पृथ्वीका गर्भभित्रका विषय उजागर गर्ने व्यक्ति यस ठाउँमा जन्मेकै छैनन् । यस धर्तीमा जन्मेको नाताले यो ठाउँका बारे केही जानकारी गराउनु आफूले कर्तव्य सम्झेको छु ।