स्याउ पाक्या नास्पती पाक्या, बागवानी फारम ।
पहिला मुु सोधनी गर्छुु, जिउ छ क्या आराम ।।
गीतलाई लोकसंस्कृतिको एउटा महìवपूर्ण हाँगाका रूपमा लिइएको छ । देउडा नामक लोकलहरी नेपालका तत्कालीन भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका प्रायः सबै भूभागमा प्रख्यात रहेको छ । यस क्षेत्रको जनजीवन देउडा गीतसँग जोडिएको हुन्छ । यहाँका जनमानसका लागि देउडा गीत लोकप्रिय छ । यो गीत तत्काल बनाएर स्वर मिलाएर गाउन सकिन्छ । यी गीतको मूल रूप न्याउल्या गीत भए पनि देउडामा बढी खेलिने भएकाले आजभोलि यसलाई देउडा गीतका रूपमा चिन्ने र चिनाउने गरिन्छ । देउडा गीतहरू परम्परादेखि चलिआएका र जनसमुदायमा गहिरो छाप पारिसकेका हुन्छन् । देउडा गीत प्रेमका दृष्टिले अति मार्मिक हुन्छन् जस्तै ः
डालो भाग्यो उत्तिसैकोे, पात झ¥यो रैसको ।
रिन पाया ब्याज तिन्र्या थिया, बाजका बैसको ।।
गोब्रेनी भुजेनी भित्र, चुम्लायाको धारो ।
साँच्चै माया लाउन्या भया, मुटु गर सारो ।
देउडा कुममा कुम जोडी हात मिलाएर खुट्टाको विशेष चालमा घुमीघुमी नाच्ने गरिन्छ । यो नाचको आफ्नै प्रकृति र नियम छ । खुट्टाको चालमा अगाडि बढ्ने सुरुमा हात जोडेर पङ्क्तिबद्ध भएका देउडा खेलाडी खेल सुरु हुनेबित्तिकै देब्रे खुट्टा एक पाइला अगाडि हान्छन् दायाँ खुट्टालाई आधा पाइला यसरी सबैले एकै तालमा खुट्टा हानेर अगाडि बढ्दै फन्का लगाई देउडा खेलको मजा लिन्छन् । देब्रे पाइला पहिला चालेर खेलिने खेल भएकाले यसको नाम देउडा रहन गएको पनि भन्ने भनाइ छ । देउडा गीतमा दुई वटा पङ्क्ति रहन्छन् । पहिलो र दोस्रो पङ्क्तिको अन्त्यमा लय मिलाइन्छ । देउडा विशेष प्रकारको पद्यात्मक गीतको श्रेणीमा पर्दछ । देउडा गीतलाई नेपाली लोकगीतको पुरातन रूपको कोटीमा पनि राखिएको छ । यसको उत्पत्ति नेपाली भाषाको जन्मभूमि कर्णाली क्षेत्रबाट भएको हो भन्ने भनाइ छ । युवायुवती, वयस्क, बुढापाका आदिबिच गाइनुका साथै घाँस, दाउरा, वनपाखामा गएका बेला वा खेतबारीमा काम गर्दागर्दै मनमा विरह र लहरी चलेमा एक्लै वा समूहमा भाका मिलाएर गाउने सिलसिलामा देउडा गीतका मूल फुट्दछन् । हेरौँ यसरी मूल फुट्ने देउडा गीत ः
आज भोल को रोप्दो होला, बाबाज्यूको सेरो ।
मु माया बाजकै मान्दो, बाज मान्दैनौ मेरो ।।
दुल्ल देयी देखिन्या रैछ, दैलेखको गढी ।
तुला जोखौ पाथा भरौ, कस्को माया बढी ।।
यति ठुलो भूभागका मानिसले परम्परागत रूपमा गाउँदै आएका देउडाको महìव दुई शब्दमा लेखिने कुरै होइन । यसको महìवका बारेमा मात्रै छुट्टै ग्रन्थ बन्न सक्छ । यस क्षेत्रका मानिसका मुक्तकण्ठमा देउडागीत झुण्डिएका हुन्छन् । अलिकति ठाउँ पाउनेबित्तिकै हरेकका मुखबाट देउडाका थामी नसक्ना भल बग्छन् र देउडाको भलले गर्दा जाने पहिरोले भत्काउने र बिगार्ने नभई सपार्ने, बनाउने र जोड्ने काम गर्दछ । यसरी निस्कने गीतले दुःखी, बैरागीका मनमा सान्त्वना दिने काम गर्दछ । देउडा गीत यस क्षेत्रका सार्वजनिक सम्पत्तिका रूपमा रहेका छन् । प्रत्येक देउडा गीतका भाव र मर्म आफ्नै खालका हुन्छन् । देउडा गीत तिखा वाण जस्तै हुन्छन् जसको गोलीले सबैका मुटुमा चसक्क बिझाउँछ ।
को जाला कट्टिका लेख, दुलाल भाका गाउन्या ।
कैले होलान् बैरागीका, सुदिन फर्किआउन्या ।।
यस क्षेत्रका मानिस कुममा कुम र हातमा हात मिलाएर दुई पाइला अगाडि एक पाइलो पछाडि गर्दै जिउडाललाई मरक्क मर्काउँदै देउडा खेल खेल्दछन् । जब घोचिला तथा पेचिला प्रश्न सुरु हुन्छन् तब खेल अचम्मै चम्किन्छ । जब देउडा खेल पूर्ण रसरङ्गमा उत्रिसक्दछ त्यसबेला आकाशमा ताराको गति टक्क रोकिए जस्तो उडिरहेका चराहरू नजिक आई डालीमा बसे जस्तो तथा न्याउली र कोइली पनि चुप लागेर रमिता हेरिरहे जस्तो भान हुन्छ ।
देउडा गीतका गेडीसँगै देउडा खेल आरम्भ हुँदा सबैका आँखामा अनौठो चुम्बक हुन्छ भने इसारले चुपुक्क चुपुक्क मधुर रस पिए जस्तो देखिन्छ । खेलाडी सबैमा हौसला र उल्लास हुन्छ । त्यहाँ सुनौलो र शान्त दुनियाँ भएको अनुभूति हुन्छ । विरह, वेदना, पीडा, लज्जाशीलता, चिन्ता तथा सुर्ता जस्ता चिज त्यहाँबाट पहिले नै भागिसकेका हुन्छन् । यस खेलमा आपसमा मुटु साटासाट गर्दै मधुरागरूपी गीत गाइन्छन् । खेलाडी विजय अभिलासाले विभोर हुँदै सपनामा बग्न लाग्दछन् ।
देउडालाई नेपाली संस्कृति र सभ्यताको धारक रूपमा लिन सकिन्छ किनभने वर्तमान नेपाली संस्कृतिको प्रवाह यसै काली कर्णाली क्षेत्रबाट भएको छ । यस क्षेत्रमा प्राचीनकालदेखि आजसम्म देउडा विधाले निरन्तर संरक्षण र माया पाएको छ । देउडामार्फत आफ्नो मनमा लागेका विभिन्न कुरा सजिलैसँग व्यक्त गर्न सकिन्छ । देउडागीतमा लुकेका शब्दले एतिहासिक महìव राख्दछन् । इतिहासको बिर्सिएको पाटोको अध्ययन, अनुसन्धान गर्नमा देउडा गीत सहायक हुने गर्दछन् । ऐतिहासिक घटनवालीलाई चिटिक्क सिँगारेर जनसमक्ष राख्ने काममा देउडाले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । समाजमा परिवर्तित रूपरेखा र तिनका आवश्यकता औँल्याउनमा देउडा विधा अति सफल भएको छ । देउडामा वक्तृत्व र अभिनय कौशल हुनाले यदि कसैलाई देउडाबाट गाली गरिन्छ भने उसले हाँसी हाँसी स्वीकार गर्दछ । देउडाले निर्भीकतासाथ समाजको मनोदशा चित्रण गर्ने सफलता पाउनुमा सर्वोत्तम पक्ष समूह स्वर खेल हो । यसबाट समुदायमा घटेका सबै खाले राम्रा नराम्रा कुरा अभिमञ्चनमार्फत प्रकाशमा आउँछन् ।
स्याउ सिमी छन् घर घर, बजारको ठाउँ छैन ।
भित्र मुट्टु जल्याकै छ, देखिन्या घाउ छैन ।।
जडीबुटी पाटन भरी, घुच्ची च्याउ वन भरी ।
जती दुःख पोख्या पनि, बेदना मन भरी ।।
प्रेम, वेदना र रोदनका साथै गाउँठाउँमा भए गरेका विकृति र विसङ्गतिको विरोध तथा प्राकृतिक र मनमोहक कुराको प्रशंसा गर्ने काम देउडागीतमार्फत हुने हुँदा यसको महìव अझ बढेको छ । देउडालाई यस क्षेत्रमा मानिसले आफ्नै सम्पत्ति जस्तो मानी संरक्षण तथा सम्भार गर्न खोज्नुबाटै देउडाको महìव र महिमा प्रस्ट हुन्छ । देउडा लहरीको स्थानीय जनजीवनसँग गहिरो सम्बन्ध रहेको हुन्छ । हामी आफ्नो साइनु लाग्ने मामा–माइजू, सालासाली तथा दिदीभिनाजुलाई जति माया गर्छौं त्यत्तिकै यसक्षेत्रका बासिन्दाले देउडालाई माया गर्दछन् भन्ने कुरा यी गीतले देखाउँछन् ः
नेपाली भई चिनिन्या हामी, दौरा सुरुवाल लाउनाले ।
मन मेरो उज्यालो भयो, देउडा गीत गाउनाले ।।
तत्कालीन समयका कर्णाली, भेरी, सेती र महाकाली अञ्चलसम्मका दराखोला, पाखा, कन्दरामा स्थानीय चार्डपर्व, जात्रामेला, वनपाखा, घाँसदाउरा तथा ग्वाला जाँदा गाइँदै आएका देउडा गीतको इतिहासमा नयाँ पाटो थपेर देउडा गीतको महìव अझ बढाउने काम केही वर्षयता राजधानीलगायतका नेपालका मुख्य सहरमा मनाइने गौरा पर्वले गरेको छ । मध्य र सुदूरपश्चिमबाट विविध कामका लागि घरबाहिर गएकालाई आफ्नो संस्कृतिलाई बिर्सन हुँदैन भन्ने कुरामा गौरा पर्वले राम्रो पाठ सिकाएको छ । गौरा पर्व मनाउने सिलसिलामा काठमाडौँको खुलामञ्चमा सबै पक्षका राजनीतिक व्यक्तित्व, कर्मचारी, विद्यार्थी तथा अन्य सर्वसाधारण गरी १० औँ हजारको सहभागिता देखिनु र आकाशमा उडिराखेका हाँसका बथान जस्तै गरी कुममा कुम जोडेर देउडा खेल्नुले गर्दा देउडाको उचाइ वृद्धि भएको छ । यसरी सबै पक्षका मानिसले देउडालाई आफ्नो सम्पत्तिका रूपमा माया गरिदिनुले देउडा हल्काफुल्का तथा तल्लो जातिले गाउने गीत हो भन्नेहरूका मुखमा बुजो लागेको छ ।
अहिले आएर काली कर्णालीका विभिन्न ठाउँमा नियमित रूपमा देउडा तथा सांस्कृतिक कार्यक्रम हुने गरेका छन् । कैलालीको टीकापुरदेखि लम्कीचुहासम्मको क्षेत्रमा विभिन्न बारमा नियमित रूपमा लाग्ने हाटबजारमा देउडा खेल हुने गर्दछन् । बाँकेको कोहलपुर सुर्खेत राजमार्गस्थित बानियाभारमा प्रत्येक शनिबार देउडा खेल हुँदै आएको छ । सुर्खेतको खुला मञ्चमा महिनाको १ र ३० गते गरी दुई दिन नियमित रूपमा देउडा तथा सांस्कृतिक कार्यक्रम हुने गर्दछ ।
देउडा भन्नासाथ, ‘आहा कति राम्रो है ! पोहोर साल काठमाडौँको खुलामञ्चमा देउडा नचेको देखेको थिएँ, मलाई त साह्रै रमाइलो लाग्यो’ भन्छन् । निश्चित भूभागमा प्राचीन समयदेखि रहेको देउडा ५० को दशकयता राष्ट्रव्यापी भएको छ । नेपालका मुख्य–मुख्य सहरमा निर्विवाद रूपमा देउडागीत र देउडाखेल आयोजना गरिन थालेका छन् ।
कांदैमा बन्दुक हाली, काँ जान्छै दर्नाली ।
आउदा जाँदा पानी पिउँला, नसुकेयी कर्णाली ।।