सर्लाही समाचारदाता
सर्लाही, जेठ १५ गते । ईश्वरपुर नगरपालिका–१२, माथिल्लो गुइडुङका ज्ञानबहादुर स्याङ्तानको खोरमा अहिले पाँच वटा माउ बाख्रा र तिनका आठ वटा पाठापाठी छन् ।
तीन वटा खसी ठूला भएर हुर्किसकेका छन् । चुरेको गाउँमा बसेर सामान्य खेती किसानी गर्ने ज्ञानबहादुर परिवार यही पाँच वटा माउ बाख्राको पाठापाठी हुर्काएर बेचेको पैसाले नै चलिरहेको छ ।
खसीबाख्रा बेचेको पैसाले नै घर खर्च, औषधी उपचारका लागि आवश्यक रकम र दुई छोराको पढाइ खर्च जोहो गरिरहेको स्याङ्तानले बताउनुभयो । “पाखो बारीमा मकै, कोदो लगाउने र बाख्रा पाल्ने काम गर्छु, छ महिनामा ६०/७० हजारको खसी बेच्छु,” उहाँले भन्नुभयो, “व्यावसायिक हिसाबले धेरै बाख्रा पाल्न त सकेको छैन । यी पाँच वटा बाख्राले नै व्यवहार धान्न पुगेको छ ।”
चुरे भेगमा जङ्गल नजिकै रहेको र घाँसको समस्या नहुने हुँदा बाख्रा पाल्न सजिलो रहेको उहाँको भनाइ छ । गुइडुङदेखि पश्चिमतर्फको पाखोमा पर्ने लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका दीपमान लोप्चनको खोरमा पनि अहिले सात वटा माउ बाख्रा र तिनका सानाठूला गरी ११ वटा पाठापाठी छन् ।
उहाँ पनि बाख्रापालनबाटै घर धानेको बताउनुहुन्छ । “वर्षमा केही नभए पनि डेढ/दुई लाखको बाख्रा बेच्छु, यही पैसाले घर चलेको छ,” लोप्चनले भन्नुभयो, “हाम्रोतिर घाँसको समस्या नभएकाले बाख्रापालन गर्न सजिलो छ तर रोग लाग्यो भने पशु चिकित्सक भने नपाउने समस्या छ ।”
लोप्चनका अनुसार चुरेको बस्तीका स्थानीयले फेदीमा झरेर स्थानीय पशु स्वास्थ्यकर्मीलाई लक्षण बताएर औषधी लिएर जाने गरेका छन् । चुरे भेगका किसान बाख्रापाठाको गोठालोसमेत जाँदैनन् ।
नजिकै जङ्गलमा लगेर छाडेपछि बाख्रापाठा आफैँ चरेर आउने गरेका भित्रीखोलाका स्थानीय युवा विवेक दोङले बताउनुभयो । एक गैरसरकारी संस्थामा कार्यरत दोङले बाख्रापाठाबाटै स्थानीय किसानको व्यवहार राम्रैसँग धानिरहेको बताउनुभएको छ ।
यहाँका किसानले पालेको खसीबाख्रा खरिद गर्न व्यापारी गाउँमै पुग्छन् । चुरेका विकट बस्तीमा समेत खसीबाख्रा किन्न नियमितजसो व्यापारी आउने गरेका स्थानीय किसानले बताएका छन् ।
लालबन्दी, हरिवन र बयलबास बजारमा समेत ल्याएर किसानले खसीबाख्रा बेच्ने गर्छन् । हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले बाख्रासहित अन्य पशुचौपाया पालेरै चुरेका बासिन्दाको दैनिक चलिरहेको बताउनुभयो । चुरे भेगका किसानले बाख्रापाठा बेचेर समस्या टार्ने र चामल, दाल, नुन, तेलको जोहो गर्ने गरेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो । जङ्गल क्षेत्र धेरै नै रहेको आफ्नो वडाभित्र अधिकांशले बाख्रापालन गरेका घिसिङको भनाइ छ ।