• १४ वैशाख २०८१, शुक्रबार

कवि मोक्षको ‘भावविम्ब’ लोकार्पण

blog

कोशी प्रदेश ब्युरो

बुधबारे (झापा), जेठ १५ गते । झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति ‘भावविम्ब’ लोकार्पण भएको छ । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानले बुधबारेमा एक कार्यक्रम आयोजना गरी कवि खतिवडाको कविता सङ्ग्रह सार्वजनिक गरेको हो । वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल, समालोचक विष्णुकुमार भट्टराई, प्राज्ञ शुभद्रा भट्टराईलगायत एक दर्जन साहित्यकारले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो । 

पछिल्लो समय छन्द लेखन हराउँदै गएको परिवेशमा लोकार्पण गरिएको सो कृतिमा कवि खतिवडाका ७१ वटा छन्दोबद्ध कविता समावेश छन् । शान्ति आदर्श माविमा शिक्षण पेसामा आबद्ध रहनुभएकी कवि खतिवडाले गत वर्ष ‘मेरो स्वर्ग’ कविता सङ्ग्रह प्रकाशित गर्नुभएको थियो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार पोखरेलले नेपाली साहित्यको संरक्षण, संवर्धन र प्रवद्र्धन गर्ने कार्य जटिल बनिरहेको अवस्थामा छन्द लेखनको अभियानलाई प्राथमिकता दिने काम प्रशंसनीय भएको बताउनुभयो । 

प्राज्ञ भट्टराईले छन्दको प्रयोग गरेर आफ्नो साहित्यिक भाव पस्किने काम सामान्य अभ्यासबाट सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । साहित्यकार जीवनाथ सुवेदीले कृतिको समीक्षा गदै नेपाली छन्दोबद्ध साहित्यको क्षेत्रमा भावविम्ब कृतिको प्रकाशनले सबै साहित्य अनुरागीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारीले नेपाली साहित्य सिर्जनाको क्षेत्रमा छन्द लेखन अभियानले प्राथकिमता पाउनु आमसाहित्यिक जगत्का लागि गौरवको विषय बनेको चर्चा गर्नुभयो । कृतिका प्रकाशक कृष्णप्रसाद खतिवडाले छन्दोबद्ध कविताको परम्परा घटिरहेको परिप्रेक्ष्यमा कृति प्रकाशन गर्न पाउँदा गौरव महसुस गरेको बताउनुभयो ।

इलामकी साहित्यकार टीका घिमिरेले नेपाली साहित्यको संरक्षणमा महिला साहित्यकारको सक्रियता  बढ्दै गएको धारणा व्यक्त गर्नुभयो । कवि खतिवडाले आफ्नो लेखनलाई निरन्तरता दिने क्रममा  जीवनका विविध भोगाइका साथै सामाजिक राजनीति, आर्थिक, कुसंस्कार र धर्म–संस्कृतिलगायत मनमा उठेका भावलाई सङ्ग्रहमा समेट्ने प्रयास गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार जय भण्डारीलगायतले धारणा राख्नुभएको थियो ।