राजन रावत
हुम्ला, असार ८ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको हो ।
डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको नेपाली सेनाका बोक्चे गौंडादेखि याङ्चुकुना विकास निर्माण दलका प्रमुख अमृत पराजुलीले बताउनुभयो । हाल सेनाले सो बेलिब्रिजको स्टिल पार्टको जडान गरिरहेको बताउँदै उहाँले अब दुई/तीन दिनमा जडान कार्य पुरा हुने उल्लेख गर्नुभयो ।
पुलको जडान कार्यमा सेनाका प्राविधिक आफैँ खटिएका छन् । पुलको दुवैतर्फको एप्रोच वाल लगाउने काम पनि पुरा भइसकेको छ भने पश्चिमतर्फ ग्याविन वाल पनि लगाइएको छ । बेलिब्रिज ५२ मिटर लम्बाइको छ । पुलको औपचारिक उद्घाटन गराउने तयारीमा सेना लागेको छ । गतवर्ष असारमा खार्पुसम्म सडक सञ्जाल जोडिएको थियो । दोजाम कर्णाली नदीमा पुल नभएका कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि माग गरेका थिए । गत पुसमा सरकारले मन्त्रीपरिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रिज निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
पुल निर्माण कार्य सम्पन्न भएपछि हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला औपचारिक रुपमा जोडिने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएलगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म गाडीमा यात्रा गर्न सकिने छ । अब एक मात्र सडक सञ्जाल नजोडिएको हुम्ला भन्ने भनाइको पनि अन्त्य हुनेभएको छ । सेनाले बोक्चे गौडा र भिगौडामा पनि चट्टनी क्षेत्रको विष्फोट गरेर स्तरोन्नति गर्ने काम पनि गरिरहेको छ । यी दुवै निर्माण कार्य असार मसान्तसम्म सेनाले सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिइएको छ ।