कोभिड–१९, ओमिक्रोनलगायत अन्य सबै खाले रोग तथा डरलाग्दा चुनौती सामना गरी मानवजीवनको सुरक्षा गरिरहेको विश्वका लागि फेरि रुस युक्रेन युद्ध र विश्वमा थपिँदै गएको शक्तिसन्तुलनको होडबाजीले अर्को चुनौती थपेपछि साझा विचार, कार्यक्रम र सहअस्तित्वको आवश्यकता झन् जरुरी भइसकेको छ । युद्ध मारकाट र हिंसाले अब मुलुक र जनताको हित गर्दैन । शक्तिको उन्माद र अनावश्यक हस्तक्षेपले आतङ्क सिर्जना गर्छ । धनजनको क्षति गर्छ । मानव–मानवबिच वैमनश्य र शत्रुताको वातावरण निर्माण गर्छ । बेमेल, झैझगडा र आपसी द्वन्द्वले प्रगति र उन्नतिका मार्गमा अनावश्यक चुनौती थप्छ । त्यसो हुँदा अब विश्वमै मेलमिलाप, र भातृत्वपूर्ण भावनाको विकास गरी मानवतावादी चिन्तनमा जोड दिनु आवश्यक छ । आफू सुरक्षित रहन अरूलाई पनि सुरक्षित राख्नै पर्ने बाध्यात्मक अवस्थामा अहिले हामी पुगेका छौँ । यसका लागि चाँडै सामूहिक वचनबद्धतालाई अनिवार्य बनाऔँँ । सम्बन्धमा सुधार ल्याऔँ । टुटेका सम्बन्धलाई फेरि जोडौँ । हुर्कंदा बालबालिका र जीवनमा केही गर्छु भन्ने सोच बोकेका युवकयुवतीलाई रचनात्मक ज्ञान दिई उन्नत सिप सिकाऔँ । राष्ट्रलाई अहित हुने, समाज बिथाल्ने र मैत्रीपूर्ण सम्बन्धमा दरार पैदा गर्ने कुनै पनि व्रिmयाकलाप कहीँ कतैबाट हुन नदिऔँ ।
शब्दकोषका अनुसार भाइचारा सम्बन्धको अर्थ कुनै दुईथरि व्यक्ति वा पक्षका बिचमा भाइबन्धुका नाताले गरिने आत्मीयतापूर्ण व्यवहार वा सम्बन्ध भन्ने बुझिन्छ । हरेक व्यक्ति र उसका क्रियाकलापलाई समाज र परिवारमा जोड्न यो सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सामाजिक जीवनमा मानिस आइसकेपछि एक हदसम्म हिजो संयुक्त परिवार हुँँदासम्मको सन्दर्भमा यो सम्बन्धले परिवार तथा समाजमा राम्रो प्रभाव पारेको थियो । एउटै घर परिवारभित्रको सम्बन्ध आत्मीय थियो । सम्बन्धमा हार्दिकता, भरपूर सहयोग र सहानुभूति थियो । प्रत्येक घरभित्रको असल व्यवहार र आत्मीय सम्बन्धले समाज सु–संस्कृत र सुन्दर थियो । केही कुराको अभाव थिएन । सबै आफ्नै हो, सबै आफ्ना हुन् भन्ने एक मात्र चिन्तन भएकोले एक–अर्का माथि परेका हरेक समस्यामा सबैको साथ सहयोग रहन्थ्यो । पारिवारिक मिलन, सामाजिक सद्भाव र सहयोगी भावनाले गर्दा एक किसिमले भन्नु पर्दा समाज आदर्शोन्मुख थियो ।
अहिले हामी घरभित्र मात्रै होइन विश्वमै फेरि भाइचारा सम्बन्धको खोजीमा छौँ । हुन त एकल घर परिवारभित्रका दाजुभाइबिचमा पनि यो सम्बन्धमा अहिले दरार पैदा भइरहेको अवस्था छ । भौतिक सुखसुविधा, भोगविलास र सेवा–सुविधाको विश्वव्यापीकरणजस्ता आधुनिक अवसरले हरेक मानिसलाई सेवा, सहयोग, सद्भाव जगाउने भन्दा पनि व्यक्तिगत सुखतिर आकर्षित गरिरहेको छ । अहिलेको मानिस सम्बन्धभन्दा सुख चाहन्छ । के गर्दा सुख मिल्छ ऊ त्यसमै खुसी हुन्छ । भौतिक सुख सुविधाको प्रतिस्पर्धा चरम रूपले बढेको छ । पारिवारिक तथा सामाजिक कर्तव्य निरन्तर खस्किँदो छ । एकअर्काप्रतिको विश्वास र भरोसा टुट्दै गएको अवस्था छ । भौतिक उन्नतिले मानिसलाई जतिसुकै उचाइमा पु¥याए पनि एकअर्काको सहयोगबिना उसको अस्तित्व समाजमा रहँदैन । ईष्र्या गरे पनि, प्रशंसा गरे पनि उसको उचाइ हेरिदिने र प्रगति सुनिदिने मानिस नै हो, दाजुभाइ नै हो । छिमेकी नै हो । त्यसैले आफ्नै भलाइका लागि पनि मानिस, मानिसबिचमा सम्बन्ध जोेडिनु पर्छ । आफ्नो खुसीमा अरू रुनु हुन्न, आफ्नो प्रगतिमा अरू ढल्नु हुन्न । सम्पन्नताको शिखर चढेर आफू पनि मात्तिनु हुन्न । अरूलाई पनि माथि तान्न सधैँ हात अगाडि बढाइरहनु पर्छ । सम्बन्ध जोडिने कडी यहीँनेर हुन्छ । रगत समान भए जस्तै सबै मानिसको आँसु र हाँसोको भाषा पनि एउटै हुन्छ । स्तर र क्षमता अनुसारको प्रगति र आफू सुहाउँदो उचाइमा सबैले पुग्नै पर्छ । सबैलाई पु¥याउनु पर्छ । एउटै भाइरसले संसारमा फेरो लगाएर सबैलाई डसेजस्तै मानिसले पनि आत्मीय सम्बन्धको एउटै डोरीको फेरोले संसारभरका मानिसलाई कस्न सक्नु पर्छ । जेजस्ता घट्ना, परिघट्ना आइपरे पनि परेको बेला हातेमालो गर्न हामी पनि तयार छौँ भन्ने सामूहिक भावना सबैमा जाग्नु पर्छ ।
यसरी जोड्न सकिन्छ भाइचारा सम्बन्ध
संसारभर हुने, भएका र हुनसक्ने सबै खाले समस्यामा म, मेरो, हामी, हाम्रो हुँदै उसको र सबै मानिसको समस्या एउटै हो भन्ने साझा मान्यता अगाडि सारौँ । कुनै एक देश, वर्ग, अवस्था, स्थान केही नहेरौँ । संसारभरका मानिसलाई हेरौँ । उसको अवस्थालाई बुझौँ, उसको समस्यालाई मात्र चिनौँ । के गर्नुपर्छ, के गर्न सकिन्छ स्वार्थ नराखी दिल खोलेर हात फैलाएर सहयोगका लागि अगाडि बढौँ । गाढा सम्बन्धका हात जुट्न आफैँ अघि बढ्छन् ।
मृत्यु प्राकृतिक नियम हो । यसलाई रोक्न सकिन्न तर मानव जीवनमा आइपर्ने सबै खाले समस्यालाई ढिलो चाँडो निर्मूल गर्न सकिन्छ । यस्तो सामथ्र्य सबै राष्ट्र र सबै मानिसमा नहोला तर खास खास राष्ट्र र खास खास मानिससँग यो सामथ्र्य प्रचुर मात्रामा छ । मानिस मानिसमा भएको यही भौतिक तथा बौद्धिक सम्पत्ति बिनास्वार्थ आदनप्रदान गरौँ । मानवीय धर्म र कर्तव्य नै अन्तिम सत्य हो । यही सत्य बुझौँ आत्मीय सम्बन्ध आफैँ जोडिन्छन् । परिस्थितिजन्य उपजबाट निर्माण भएका कतिपय सम्बन्ध आफँैमा सुमधुर हुँदैनन् । यिनीहरूलाई सुमधुर र आत्मीय सम्बन्ध बनाउन बिना स्वार्थ आत्मीय भाव देखाउन सक्नु पर्छ । वरको होस् वा परको, नाता होस् वा बेनाता, भौतिक स्वरूपमा मानिस हो भने ऊ जहाँको जो भए पनि उसलाई र उसको समस्यालाई आफूभित्र सम्मिलित गराउनु पर्छ । आपत्विपत् र दुःख पर्दा अरूप्रति गरिने याचनाको भित्री आवाज सबै मानिसको एउटै हुन्छ । यही आवाजमा आफ्नो पनि आवाज मिलाएर उसका पिर र व्यथा पहिचान र महसुस गर्न सकियो भने दिगो र भरपर्दो सम्बन्ध जोड्न सकिन्छ ।
मानिस स्वार्थी प्राणी हो । स्वार्थी हुनु पनि पर्छ । मानिसमा स्वार्थ नहुँदो हो त आजको विश्व यति विकसित र झिलीमिली बन्ने थिएन । उच्च महìवाकाङ्क्षा तथा उग्र स्वार्थकै कारण मानिसले अन्तरिक्षदेखि पृथ्वीको गहिराइसम्म विजय हासिल गर्नसक्यो । उसको यो पौरखलाई स्वागत गर्नै पर्छ । यति हुँदाहुँदै पनि उसभित्र अझै हुर्किरहेको चरम अहङ्कार र शक्तिको दम्भमा रुमल्लिरहेको असन्तुलित मनोविज्ञानले मानव र मानवताको बिचमा असाध्यै डरलाग्दो अवस्था आइरहेको छ । निःसन्देह यो आत्माघाती छ, यसले सम्बन्धलाई तोड्न र धरापमा पार्न सक्छ । यस्ता खाले खराब विचार र चिन्तनलाई परिमार्जन गर्नु पर्छ, गरौँ । मानिसले गरेको उन्नति र प्रगतिको हिस्सेदार सबै मानिसलाई बनाउन सकिने खालको सन्तुलित विचारलाई मात्र अघि सारौँ ।
हरेक मानिस, परिवार, समाज, र राष्ट्रका आ–आफ्नै कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व हुन्छन् । यिनै जिम्मेवारीपूर्ण भूमिकाबाट हामीले साझा सामूहिक भावनाको खोजी गरी तिनीहरूको विकास गर्नु पर्छ । यही सामूहिक भावनाले संसारभरका मानिसलाई समेट्न सक्नु पर्छ । सीमित परिधिमा बाँधिएर बस्नु हुन्न । भावानात्मक एकताले हरेक मानिसको पीडा र दुःखमा मलम लगाउने भएकाले यसले मानिस मानिसका मन र मस्तिष्कमा छिट्टै छुन्छ र यही शीतल छुवाइ नै बिस्तारै भाइचारा सम्बन्धमा परिणत हुन्छ । यो जीवनमा दिगो गरी बस्छ । अर्को भाषामा यसैलाई सेवा भनिन्छ । सेवा नै सम्बन्ध विकासको आधारभूत खुड्किलो हो । मानवीय धर्म पनि हो ।
कसैैको उन्नति, प्रगति, विकास र समृद्धिमा ईष्र्या नगरौँ, बाधा नपु¥याऔँ । बरु त्यसबाट पाठ सिकौँ, सिक्न र सिकाउन अनुरोध गरौँ र आफू, आफ्नो राष्ट्र र आफ्ना नागरिकलाई पनि त्यो स्तरमा पु¥याउने कोसिस गरौँ । यसका लागि समृद्धि हासिल गरेको राष्ट्रले अरू राष्ट्रलाई ज्ञान, प्रविधि, सिप र पुँजीका लागि विभिन्न अवसर जुटाइ दिने पहल गरौँ । शक्तिशाली हात अघि बढाऔँ, विपन्न हात अघि बढेकै छन् । यसरी आत्मीय सम्बन्धका हातहरू कसेर जोडौँ । प्रतिस्पर्धाले ईष्र्या जन्माउँछ । ईष्र्याले सम्बन्ध तोड्छ । नागरिक–नागरिक र राष्ट्र–राष्ट्रको बिचमा अनावश्यक ईष्र्यापूर्ण प्रतिस्पर्धा नगरौँ । नयाँ सम्भावना, योजना, चुनौती, खोज र अनुसन्धानमा प्रतिस्पर्धा गरौँ । सामूहिक सर–सल्लाहबाटै कसले कहाँ कस्तो सिर्जना गर्ने हो त्यतातिर ध्यान दियौँ । प्रतिस्पर्धा त्यहाँ गरौँ, गर्न लगाऔँ । प्र्राप्त उपलब्धिलाई सबैको हितमा प्रयोग गरौँ । सह–अस्तित्वको भावनाले सबैलाई समेटौँ । यति भएपछि जोडिएको सम्बन्ध सबैभन्दा गाढा हुन्छ ।
हरेक जोखिमपूर्ण अवस्थामा बाँच्न र बचाउनका लागि परस्पर हित, आत्मीय सम्बन्ध, एकता र सहिष्णुता नै अपरिहार्य हुन्छ । यस्तो सम्बन्ध नै एक–अर्काबिच स्थायी र दिगो सहकार्यको भरपर्दो र विश्वासिलो आधार पनि हो । द्वन्द्वलाई प्रोत्साहित र उत्प्रेरित गर्ने हानिकारक शक्तिको सट्टा विश्वमा शान्ति, सद्भाव र मैत्री भावनाको विकास गर्दै हरेक प्रगति र उन्नतिलाई प्रोत्साहन गर्नसक्ने आवश्यक शक्ति निर्माण गर्नु पर्छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनर्संरचाना गर्ने नाममा आतङ्कवादी सोच र अवसरवादी चिन्तनको पछि लागेर तिर्खा मेटाउने नाममा विष पिउनु बुद्धिमानी हुँदैन । समाजमा स्वच्छ प्रतिस्पर्धा, सन्तुलित विकास र जटिलताविरुद्धको सामूहिक एकतालार्ई मजबुत बनाउनकै लागि पनि भाइचारा सम्बन्धसहित एकताको कसिलो नाता कायम गरौँ । मानवीय सोच राखेर विश्ववन्धुत्वको भावनालाई सबैले आत्मासात् गरौँ ।
लेखक शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ ।