• ८ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय विषयमा समाचार लेखनको भविष्य राम्रो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ११ गते । परराष्ट्र मामिलासम्बन्धी समाचार लेखनमा महिला सहभागिता बढाउने उद्देश्यसहित बिहीबार राजधानीमा एकदिने कार्यशाला गरिएको छ । 

मिडिया एड्भोकेसी गु्रप र नेपालस्थित अमेरिकी दूतावासको संयुक्त आयोजनामा भएको कार्यशालामा काठमाडौँमा रहेर परराष्ट्र मामिला बिटमा काम गरिरहेका र इच्छुक महिला महिला पत्रकारलाई परराष्ट्र मामिलाका विविध आयामका बारेमा कार्यशालामा जानकारी गराइयो । 

सो अवसरमा पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले परराष्ट्र मामिलासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुको समाचार लेखनमा महिला पत्रकारको सहभागिताको भविष्य राम्रो रहेको प्रष्ट्याउनुभयो । 

युरोप र एसियाका विभिन्न मुलुकमा राजदूत रहेर काम गर्दाको अनुभव साटासाट गर्दै परराष्ट्र मामिलाका समाचार लेखनको विगत आगतका सकारात्मक र नकारात्मक दुबै पक्षका बारेमा चर्चा गर्नुभयो ।

मिडिया एड्भोकेसी गु्रपका कार्यकारी निर्देशक बबिता बस्नेतले उच्चस्तरीय विदेश भ्रमणका क्रममा पालना गर्नुपर्ने शिष्टाचारका बारेमा जान्नुपर्ने कुराको अनुभव बताउनुभयो । त्यस्तै, परराष्ट्र मामिलासम्बन्धी समाचारका सम्भावित विषय, स्रोत र चुनौतीका बारेमा पत्रकार अनिल गिरी र कोषराज कोइरालाले सहजीकरण गर्नुभयो । 


अमेरिकी दूतावासकी सञ्चार संयोजक प्रेरणा मरासिनीले महिला पत्रकारलाई प्रोत्साहन गर्नेगरी आगामी दिनमा थप सहजीकरणसहितका कार्यक्रम ल्याउने जानकारी दिनुभयो । 

म्यागका अध्यक्ष अनिता बिन्दुले महिला पत्रकारको वृत्ति विकासमा सघाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको औँल्याउनुभयो । कार्यशालामा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी महिला पत्रकारको सहभागिता रहेको थियो ।

दूतावासको सहयोगमा भएको एक अध्ययनले यस विटमा करिब ६.६ प्रतिशत मात्र महिला पत्रकारको सक्रियता रहेको तथ्य सार्वजनिक गरेको थियो ।