• ७ वैशाख २०८१, शुक्रबार

सबैले अनुभूति गर्ने काम गर्दै ललितपुर महानगर

blog

ललितपुर, जेठ ११ गते । विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले निर्वाचित भई शपथग्रहण गरेको आज (जेठ ११ गते) एक वर्ष पूरा भएको छ । यो महानगर पदाधिकारीको दोस्रो कार्यकाल हो । 

दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको प्रमुख निर्वाचित हुन चिरीबाबु महर्जनले धेरै प्रतिबद्धता जनाउनुभएको थियो । तीमध्ये केही पहिलो कार्यकालका कामको निरन्तरता पनि थिए । ललितपुर महानगरवासीले उहाँलाई पत्याए र दोस्रो कार्यकालका लागि निर्वाचित गरे । 

महानगर प्रमुख महर्जन घोषणापत्रमा उल्लिखित धेरै कुरा पाँचवर्षे कार्यकालमा सम्पन्न हुने बताउनुहुन्छ । काममा कुनै बाधा आएन भने पाँचवर्षे कार्यकालमा सबै पूरा गर्ने लक्ष्य महानगरपालिकाको रहेको उहाँको भनाइ छ । नागरिकले सजिलै अनुभूति गर्ने गरी धेरै काम भएको उहाँले बताउनुभयो । तिनमा पार्क, सडक बत्ती, ऐतिहासिक फल्चा, पाटी, मन्दिर, पोखरी, ढुङ्गेधारा, स्मार्ट शौचालयलगायतका सांस्कृतिक सम्पदा पुनर्निर्माण र भौतिक पूर्वाधार निर्माण छन् । सप्तपाताल पोखरी साबिकै अवस्थामा बनाउने गरी बन्दै छ । 

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरपालिकाले सूचना प्रवाहलाई पारदर्शी र जवाफदेही बनाउँदै आएको, नगर प्रवक्ता, सूचना अधिकारीको व्यवस्था गरेर नागरिकलाई सुशासनमैत्री महानरपालिकाको अनुभूति गराएको, कार्यालयमा नागरिक बडापत्र राखी सेवाग्राहीलाई सेवा दिइएको बताउनुभयो ।


वार्षिक रूपमा दुई पटक महानगर सभा र हरेक महिना कार्यपालिकाको बैठक बसी सबै काम कानुन निर्माण गरेर मात्र गर्ने गरिएको र अहिलेसम्म महानगरपालिका आफैँले २४ वटा कानुन बनाएको नगर प्रमुख महर्जनले जानकारी दिनुभयो । 

पुरानै स्वरूपमा आउँदै सप्तपाताल पोखरी 

ललितपुर महानगरपलिकाले सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्दै छ । महानगरपालिका वडा नं. ५, लगनखेलमा रहेको सप्तपाताल पोखरी पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै छ । पोखरी पुरानै स्वरूपमा पुनर्निर्माण गर्न महानगरपालिकाले भवन निर्माण विभाग, वन मन्त्रालय, पुरातत्व विभागलगायतका विज्ञसँग छलफल गर्र्दै आएको छ । २०३४ सालमा पोखरीको जग्गा अदालतमा परेको मुद्दा अहिले स्थानीय नागरिकको जित भएसँगै सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । 

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार अहिले सप्तपाताल पोखरीको नाममा ४५ रोपनी जग्गाा छ । अहिले पोखरी क्षेत्रमा बार लगाई संरक्षण गरिरहेको छ । सप्तपाताल पोखरी ललितपुरका ढुङ्गेधारामा पानी पठाउने मुहान हो । टीकाभैरवबाट ल्याइएको राजकुलोबाट पानी जम्मा हुने सप्तपाताल पोखरी भूमिगत जलभण्डारबाट पनि पुनर्भरण हुन्थ्यो । पोखरीको छेउमा अशोक स्तूप छ । स्थानीयवासीका अनुसार त्यही ठाउँमा सात वटा अरू पोखरी पनि थिए । ती सबै लिच्छविकालीन मानिन्छन् ।

अहिले पोखरी छ पानी छैन । वर्षायाममा छिपछिपे पानी जमे पनि हिउँदमा सुक्खा हुन्छ । स्थानीयवासीका अनुसार ५० वर्षभन्दा बढी भयो सप्तपाताल पोखरी मासिएको । नगर प्रमुख महर्जनले भन्नुभयो, “अब हामी त्यहाँ पोखरीमा कमलको फूल फुलाउन पूर्वाधारको काम गर्दै छौँ । उक्त पोखरीमा गोदावरीको टीकाभैरवबाट राजकुलो ल्याउन अध्ययन भइरहेको छ । अघिल्लो कार्यकालमै यो पोखरी पुनर्निर्माण गरी कमलको फूल फुलाउन खोजेको थिएँ तर मुद्दा लड्दा र डिपिआर तयार पार्दा भ्याइएन । यो कार्यकालको पहिलो ठुलो काम नै सप्तपाताल पुनर्निर्माण हुनेछ ।” 

‘घोषणापत्रका सबै वाचा पूरा गर्छौं’


घोषणापत्रका प्रतिबद्धता कति प्रतिशत पूरा भए ?

घोषणापत्रमा धेरै कुरा छन् । ती पाँचवर्षे कार्यकालभित्र सम्पन्न गर्ने हुन् । कुनै बाधा आएन भने पाँचवर्षे कार्यकालमा ती सबै पूरा हुन्छन् । केही काम भएका छन् : घोषणापत्रमा बालकुमारी मन्दिर बनाउँछौँ भनेकोमा त्यो काम करिब सम्पन्न भएको छ । भीमसेन मन्दिर निर्माण भएको छ । देगु तलेजु निर्माणाधीन छ । एक हजार चार सय सडक बत्ती राखिएका छन्, अधिकांश बलेका छन् र केही बल्ने व्रmममा छन् । सडक बत्ती भएका स्थानमा सिसिटिभी राख्ने काम अगाडि बढेको छ । महानगरभित्र भएका सम्पदा पुनर्निर्माण र नवनिर्माण भइरहेका छन् । जस अन्तर्गत ऐतिहासिक फल्चा, पाटी, मन्दिर निर्माण भइरहेका छन् । सप्तपाताल पोखरीमा राम्रोसँग काम भएको छ । उक्त पोखरीमा तीन वटा प्रोजेक्ट छन् । 

अन्य पालिकाभन्दा ललितपुर महानगरपालिका कसरी फरक छ ? 

महानगरपालिकालाई सफा राख्न आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त पारेका छौँ । महानगरपालिकाले विभिन्न क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गर्दै विभिन्न निकायले महानगरपालिकाको कामलाई कदर गर्दै आएका छन् । महानगरपालिकाले सम्पदा क्षेत्रमा गरेका कार्यलाई मूल्याङ्कन गरी बागमती प्रदेश सरकारले तक्मासहितको पुरस्कार प्रदान गरेको छ ।  नेपाल नगरपालिका सङ्घले २९३ वटा नगरपालिकामध्ये ललितपुर महानगरपालिकाले सामाजिक क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको भनेर सम्मान गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका १७४ जना मेयर रहेको सिटिनेट सञ्जाल छ । त्यसमा एसियाका विभिन्न नगरका नौ जना मेयर निर्वाचित हुँदा म तेस्रो नम्बरमा निर्वाचित भएको छु । काठमाडौँ उपत्यका नगरपालिका मेयर फोरममा म सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्वाचित हुनुले ललितपुर महानगरले सबैलाई स्वीकार्य हुने गरी काम गरेको छ भन्ने प्रस्ट हुन्छ । 

व्यवस्थित सहरीकरण गर्न के के काम भएको छ ? 

महानगरपालिकाले सडका दायाँ बाँयाँ हरियाली प्रवर्धन गरेको छ । नगर सफा गर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ । महानगरभित्र सडक सञ्जालमा आधारित वैज्ञानिक ब्ल्क नम्बर वितरण गरेका छौँ । सेवाग्राही भौतिक उपस्थितिबिना नै नक्सा पास गर्न इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इविपिएस) लागु गरेका छौँ । 

महानगरपालिकाले पर्ती जग्गा संरक्षण गरी सो ठाउँमा पार्क बनाउँदै गएको छ र बाँकी ठाउँका पनि पर्ती जग्गा खोजी गरी संरक्षण गर्दै जाने छौँ । अहिलेसम्म करिब २० वटा पार्क बनेका छन्, जाउलाखेलमा पाँच वटा, शङ्खमूलमा तीन वटा, मङ्गलबजार ग्वार्कोलगायतका क्षेत्रमा पार्क निर्माण भएका छन् । महानगरभित्रका सम्पदा बस्तीमा स्मार्ट शौचालय बनाउने योजना बनाएका छौँ । चार वटा त बनिसकेका छन् । २९ वटै वडामा त्यस्ता शौचालय बनाउने तयारीमा छौँ । पोखरी, इनार र धारालाई संरक्षण गर्दै छौँ । 

महानगरपालिकाले अहिलेसम्म कति वटा कानुन बनाएको छ ? 

महानगरपालिकाले अहिलेसम्म २४ वटा कानुन बनाइसकेको छ । हस्तकला प्रवर्धनसम्बन्धी कार्यविधि, स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी कार्यविधि, बस्ती विकास तथा भवन निर्माण, ललितपुरभित्र रहेका विद्यालय सञ्चालन मापदण्ड, कोरोना सङ्व्रmमण भएका बिरामीलाई उपचार र राहतसम्बन्धी मापदण्ड, सार्वजनिक तथा घरपालुवा जनावरको व्यवस्थापनसम्बन्धी मापदण्ड, बाल संरक्षण समिति गठनसम्बन्धी मापदण्डलगायतका कानुनी व्यवस्था गरेका छौँ । कानुन निर्माणको तीव्र्रतासँगै महानगरपालिकामा सुशासन बढ्दै गएको छ । स्थानीय तहले कानुन निर्माण गर्दा टेक्ने कुनै न कुनै आधार हुनुपर्ने भएकाले कतिपय कानुन निर्माण गर्दा सङ्घ र प्रदेश सरकारले बनाउनुपर्ने कानुन समयमा नबनाउँदा हामीलाई कानुन निर्माण गर्न गाह्रो भएको छ । जस्तो महानगरपालिकाले साढे ३२ किलोमिटर साइकल लेन निर्माण गरेको छ । यस वर्ष साढे सात किलोमिटर बनाएका छौँ तर नेपाल सरकारले नै साइकल लेनसम्बन्धी कानुन बनाएको छैन । 

नागरिकको मानवीय र सिप विकासमा भएका काम के के हुन् ? 

महानगरपालिकाले नागरिकलाई आयआर्जन वृद्धि होस् भनेर हरेक वडा कार्यालयमार्फत सिप विकाससम्बन्धी तालिम प्रदान गरेको छ । तालिमसँगै बिउ पुँजीको पनि व्यवस्था गरिएको छ । अहिले महानगरपालिकाभित्र स्मार्ट सडक बत्ती भएका स्थानमा बेलुका पनि व्यापार, व्यवसाय गर्न मिल्ने वातावरण बनाइदिएका छौँ । महानगरको प्राङ्गणमा शुव्रmबार र शनिबार हस्तकलाकर्मीलाई निःशुल्क ठाउँ उपलब्ध गराएर हस्ताकलाको प्रवर्धन गर्दै आएका छौँ । महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रचार गर्न कोसेली घर खोलेका छौँ । आगामी दिनमा अझै आकर्षक मानवीय विकास र सिप प्रवर्धन गर्ने कार्यव्रmम ल्याउने तयारी छ । 

कुन निकायबाट कस्तो थप सहयोग चाहिन्छ ?

बितेका छ वर्षमा प्रदेश सरकारको भूमिका त्यत्ति प्रभावकारी भएन । प्रदेश सरकारसँग चाहे जति कार्यगत सहकार्य गर्न सकेका छैनौँ । सङ्घीय सरकारसँग समन्वय र सहकार्य भए पनि हालै सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित तेस्रो चौमासिकमा स्थानीय तहलाई प्रदान गर्ने समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गर्नु स्थानीय तहका लागि न्यायोचित भएन । सङ्घ र प्रदेश सरकारका सांसदले विकासका योजना ल्याउँदा स्थानीय तहसँग जति समन्वय गर्नुपर्ने थियो, त्यो हुन सकेन । सङ्घ र प्रदेशले स्थानीय तहसँग समन्वय गरेर योजना बनाउने हो भने कुनै पनि योजनामा दोहोरोपना हुँदैन थियो ।

महानगरपालिकामा मुख्य समस्या के के हुन् ? 

महानगरपालिकाको मुख्य समस्या यातायात अस्तव्यस्तता हो । यो महानगरको मात्र नभएर सबैको समस्या हो । यातायात व्यवस्थापनका लागि सबै सरोकारवाला निकाय एकै ठाउँमा आउनुको विकल्प छैन । उपत्यकामा खानेपानीको मुख्य स्रोत मेलम्चीको भए पनि कुनै पनि बेला मेलम्चीको पानी बन्द भए वैकल्पिक उपायको खोजी गर्न ललितपुर महानगरपालिकाले केयुकेएलको प्रारम्भिक अध्ययन अनुसार मकवानपुरको सिस्नेरी खोलाबाट दैनिक १५ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउन सकिने प्रारम्भिक अध्ययन छ ।