काठमाडौं, जेठ ९ गते । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैङ्किङ कसुर र आर्थिक अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैङ्किङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।
परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैङ्किङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिनुभयो । “पछिल्लो समय बैङ्किङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उहाँले भन्नुभयो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैङ्किङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताउनुभयो । पछिल्लो समय काठमाडौंमा बैङ्किङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।
परिसरका अनुसार बैङ्किङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध ५७५, चोरीसम्बन्धी कसुर ४४५, लागूऔषध २६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २५७, आत्महत्यासम्बन्धी कसुर २३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।
परिसरमा गत आवमा बैङ्किङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार ३४३ मुद्दा दर्ता भएका थिए । रासस